Comments Add Comment

कांग्रेसले मनायो ३६ औं विपी जयन्ती


६ साउन, काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आफ्ना संस्थापक नेता विपीको स्मृति दिवसका दिन नेपाली कांग्रेसले आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विपिको सालिकमा माल्यार्पण सहितको विशेष कार्यक्रम गर्‍यो । कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । विपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

महामन्त्री डा. शशांक कोइरालाले विपीले लिएको बाटोलाई अनुसरण गर्दै उनकै मार्गचित्रमा हिँड्नुपर्ने आवश्यकता औल्याए । उनले भने ‘पार्टी एक हुनै पर्छ यसैमा हामी सबैको भलो हुन्छ । पार्टी एक हुनका लागि के गर्नुपर्छ त्यो हामी सबै गर्छौ ।’

नेता रामशरण महतले कांग्रेसले विपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको बताए । उनले विपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले नरहेको भए पनि पार्टी सिद्धान्तबाट विचलित नभएको स्पष्ट पारे । भौतिकवादी व्यक्तिवादी चरित्र बढेको कुरा सत्य भएपनि नीतिगत विषयमा कांग्रेस पछि नपरेको भन्दै उनले कम्युनिष्टका पछि लागेर कांग्रेसले प्रजातान्त्रिक समाजवाद र्विस्यो भन्दै नहिड्न कार्यकर्तालाई सचेत गराए ।

उनले सामूहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले पार्टीलाई आक्रान्त पारेको भने स्वीकार गरे । तत्कालिन नेपाली कांग्रेसको सरकारले मेडिकल शिक्षाका लागि दिएको अनुमति सही भएको दाबी पनि उनले गरे । नियमन र अनुगमन गर्न नसकेर निर्णय नै गलत भयो भन्न नमिल्ने तर्क उनले गरे ।

संघीय संसदका प्रमुख सचेत बालकृष्ण खाँडले विपीका विचारधारालाई नया पुस्तामा पुर्याउने दाहित्व नेपाली कांग्रेसको रहेकाले जनताको माझ लैजान जनसमक्ष लैजान संकल्प गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले संसददेखि सडकसम्म अधिनायवादी शैली देखाएको, संविधानमा निहित प्रावधान उलंघन गरी दलिय अस्तित्वलाई स्वीकार गर्न छोडेको तथा प्रधानमन्त्रीका हरेक कदम संविधान, सरकार र समग्र मुलुकका लागि प्रत्युत्पादक भएकाले त्यसको सामानाका लागि कांग्रेसले कार्यकर्तामा आधारित जुझारु जत्था तयार गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका आफ्ना संस्थापक नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले नेपाली कांग्रेसले वर्षेनि साउन ६ गतेको दिनलाई विपी स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment