Comments Add Comment

महाकाली तर्न तुइनकै भर : प्रधानमन्त्रीको घोषणा हर्ष न विस्मात

६ साउन, दार्चुला । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरीका तुइनलाई झोलुंगेपुलले विस्थापित गर्ने निर्णय गरेका थिए । अहिले पनि उनले आफू तुइनको सत्रु भएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको योजना सुनेर दार्चुला दुहुँ क्षेत्रका वासिन्दा पनि खुशी भएका थिए । तर प्रधानमन्त्री ओलीको घोषणा आएको २ वर्षभन्दा बढी भए पनि दार्चुलाको तिग्रम र लालीमा गरी दुई वटाबाहेक अन्य ठाउँमा झोलुंगे पुल बन्ने सुरसार छैन ।

तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमाथि ९ वटा पुल बनाउने भनिए पनि काम नहुँदा स्थानीय वासिन्दा तुइन र ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

दार्चुलाको दुहु क्षेत्रमा महाकाली नदीमाथि आधा दर्जन तुइन अझै छ । राप्लाको माल, बर्तीघाट, मलघट्टया, डोकट घाँट, नाँजी, स्याँकुलगायतका ठाउँमा तुइन सञ्चालनमा छ । राप्ला, दुम्लिङ, सुन्सेरा, सिना, धौलाकोट, हुती लगायत दुहु गाउँपालिकाका वासिन्दाले समेत तुइनबाट जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।

प्रधानमन्त्रीको तुइन विस्थापन कार्यक्रम अन्तर्गत धौलाकोटको तिग्रममा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण भएसंगै तिग्रम र बसेडीमा रहेका तुइन विस्थापित भएको व्यास गाउँपालिका ५ धौलाकोटकी निर्मला धामीले बताइन् ।

‘तिग्रमघाटमा झोलुंगे पुल निर्माण भएपछि तिग्रम र बसेडीका २ ओटा तुइन विस्थापित भएको छ, त्यस्तै अन्य ठाउँहरुमा पनि झोलुंगे पुल निर्माण गरिए तुइनहरु विस्थापित हुदै जान्थे’ उनले भनिन् ।

दु्हुँ र ब्यासका वासिन्दा सदरमुकाम खलंगा आउन पनि भारतीय भूमिबाट आउनुपर्छ । नेपाल भारत जोड्ने झोलुंगे पुलसमेत नहुँदा तुइनबाटै आवतजावत गर्नुपर्ने व्यास ४ का रिउले कुवँरले बताए । यसरी नदी तर्दा महाकालीमा खसेर धेरैले ज्यानसमेत गुमाएका छन् ।

हिउँदमा पानीको सतह कम हुँदा तुइनबाट वारपार गर्दा धेरै डर नभए पनि वषर्ायाममा नदी ठूलो भएकाले डर हुने सुन्सेराका वासिन्दा जसबहादुर खातीले बताए ।

सुन्सेराकै मानसिँह कुवँरले तु्इन यात्रा बाध्यता भएको गुनासो गरे । ‘तुइनको यात्रा जोखिमपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि तुइनको यात्रा गर्न बाध्य छौ, पुल भएको भए, नेपालको बाटो भएर सदरमुकामसम्म आइपुग्ने बाटो भएको भए तुइनको यात्रा गर्ने रहर थिएन’ उनले भने ।

तुइनको माध्यमबाटै व्यास र दुहूका स्थानियहरुले खाद्यान्न सामग्रीदेखि दैनिक उपभोग्य सबै समानहरु तुइनबाटै ढुवानी गर्ने गरेका छन् ।

बर्खा लागेपछि ट्युबको यात्रा बन्द

दार्चुलाबासीको तुइनमात्रै नभई नदीमा ट्युवमा चढेर जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि छ । जिल्लाको लेकमतिर ट्युबमा चढेर मानिस र सामानहरु ओसारपसार गर्ने गरिन्छ ।

लेकम क्षेत्रको लाली, उकु, राडम, बाँकु, कुज्र्यानी, गौजेगाडा भन्ने स्थानमा ट्युबको माध्यमबाट महाकाली नदीमा आवतजावत गर्ने गरिएको स्थानीय विसनसिँह भण्डारीले बताए ।

वर्षात् सुरु भएसंगै नदीमा पानी ठूलो भएकाले ट्युबको यात्रा बन्द भएको लालीका स्थानीय शेरबहादुर विष्टले बतए । ट्युब बन्द भएपछि स्थानीयहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ ।

तुइन विस्थापन कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको लाली झोलुंगेपुल हालसम्म निर्माण नहुँदा ट्युबको यात्रा बाध्यात्मक बनेको छ । महाकाली नदीमाथि ९ ओटा पुलहरु निर्माण गर्ने भनिए पनि हालसम्म एउटा पुल मात्रै निर्माण गरिएको छ भने अर्काे पुल निर्माणाधीन अवस्थामा रहेको छ ।

हेर्नुस् महाकालीमा ट्युबमार्फत वारपार गरेको भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment