Comments Add Comment

कानूनमन्त्रीको स्पष्टीकरणः बंगलादेशका छात्रामाथि हिंसाजन्य घटनाका उजुरी छन्

नेपाली छात्राका समस्या उजागर गरेको हुँ, चोटप्रति माफी चाहन्छु


६ साउन, काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङ शुक्रबार एउटा सामान्य निजी स्कुलको कार्यक्रममा सहभागी भए ।

ओली सरकारका मन्त्रीहरु आफ्नो कार्यक्षेत्र बाहिरका कार्यक्रममा कसरी अल्मलिइरहेका छन् भन्ने त यो शानदार दृष्टान्त थियो नै, तर त्यहाँ मन्त्रीले सामान्य सभ्यतालाई समेत नसुहाउने गरी नेपाली चेलीमाथि अनैतिक टिप्पणी गरे ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको मन्त्रीले कार्यक्रममा बताएपछि उनको आलोचना हुनु अस्वाभाविक थिएन । र, भयो पनि ।

कानून मन्त्रालयसँग कुनै साइनो सम्बन्धै नराख्ने निजी विद्यालयको कार्यक्रममा भाषण ठोक्न पुगेका मन्त्री तामाङले ‘आज म कथा खोल्छु’ ‘मार्मिक छ कथा’ भन्दै एसईई परीक्षा दिएका वालवालिकालाई यस्तो सुनाए- ‘हामी हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेश पठाउँछौं । तर, उसले त्यहाँ आफूलाई नसुम्पिइकन सर्टिफिकेट पाउने अवस्था छैन ।’

मन्त्री तामाङले कार्यक्रममा भने- ‘बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ ।’

‘नेपाली छात्राका समस्या उजागर गरेको हुँ’

नेपाली छात्रामाथि मात्रै होइन, समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी बोलेका मन्त्री तामाङले घटनाको दुई दिनपछि आइतबार प्रेस वक्तव्य जारी गरेर शुक्रबारको आफ्नो भाषणबारे थप स्पष्टीकरण दिएका छन् ।

आफ्नो भाषण सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री तामाङले प्रेस वक्तव्यमा भनेका छन्- ‘विद्यार्थी भाइबहिनीहरुलाई सम्वोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चार माध्यममा सम्प्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

उक्त भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको मन्त्रीले वक्तव्यमा दाबी गरेका छन् । उनले भनेका छन्-‘बंगलादेशमा हाल २००० भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो ।’

बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीहरुले सर्टिफिकेटका लागि आफूलाई बेचेको भाषणमा बताएका मन्त्री तामाङले आइतबारको विज्ञप्तिमा पनि त्यस्तै संकेत गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्- ‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेका छन् ।’

कानूनमन्त्री तामाङले विज्ञप्तिको अन्त्यमा बंगलादेशमा पढेका नेपाली छात्राहरुसँग माफी माग्दै भनेका छन्- ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।’

प्रतिवेदन छ भन्ने थाहा पाएको छुः मन्त्री तामाङ

यसैवीच हामीले कानूनमन्त्री तामाङलाई बंगलादेशमा पढ्ने नेपाली चेलीहरुका बारेमा किन त्यस्तो बोल्नुभएको भनेर टेलिफोनबाट सोध्यौं । उनले बंगलादेशमा पढेका नेपाली छात्राका बारेमा अध्ययन प्रतिवेदन नै रहेको दाबी गरे ।

मन्त्री तामाङसँग गरिएको छोटो कुराकानी :

मन्त्रीज्यू तपाईको शुक्रबारको अभिव्यक्ति त साह्रै चर्चित भएछ नि ?

त्यही त । त्यसमा शब्द परिहाल्यो । शब्द परेपछि चर्चा त हुने नै भयो । त्यो शब्द फिर्ता लिँदै अब मैले परेको चोटपछि क्षमा याचना गरेको छु । विज्ञप्ति पनि जारी गरेको छु ।

विज्ञप्ति त हेर्‍यौं । तर, तपाईले सरकारको कुनै अध्ययनको निष्कर्षका आधारमा भन्नुभएको हो कि कसैले सुनाएर भन्नुभएको हो कि बेहोसीमै भनेकाले फिर्ता लिएको ?

नेपाली विद्यार्थीहरु बाहिर जाँदा समस्यामा परेका छन् । उनीहरुबारे अध्ययन प्रतिवेदन छ भन्ने थाहा पाएको छु । त्यो मैले छिट्टै प्राप्त गर्छु । यदि त्यस्तो भएको छ भने खुल्दै जाला । अहिलेको हकमा मेरो भनाइ फिर्ता लिएको हुँ । बोलेको शब्दमा मेरो क्षमायाचना छ ।

अध्ययन प्रतिवेदन हेर्दै नहेरी दुर्गा प्रसाईंले भनेकै आधारमा मन्त्रीहरुले यसरी भाषणबाजी गर्न मिल्छ ?

ठीक छ । त्यो तपाईको कुरा रहृयो ।

मन्त्रीले चाहिँ त्यसरी विनाआधार बोल्न मिल्छ ?

मेरो भनाइ के हो भने नेपालका जोसुकै पढ्न गएका हुन् कि घरेलु काम गर्न गएका हुन्, घरेलु हिंसामा पर्नुहुँदैन ।

त्यो त ठीक हो । तर, एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका नेपाली चेलीहरुमाथि मन्त्रीजस्तो मान्छेले विनाप्रमाण त्यस्तो आरोप लगाउन मिल्छ ? मेडिकल कलेजको सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाई र कानून मन्त्रीमा त केही भिन्नता होला नि ?

उसले कहिले के भनेको थियो मलाई थाहा भएन ।

अब विज्ञप्ति जारी गरेपछि सबै सकियो त ?

विज्ञप्ति जारी भयो । अब मेरो भनाइले कसैलाई चोट परेको छ भने क्षमायाचना गर्छु ।

तपाईमाथि पनि यस्तै नानाभाती आरोप लगाउने र पछि कसैलाई चोट परेको छ भने क्षमा चाहन्छु भनेर विज्ञप्ति जारी गरे हुन्छ ?

हुन्छ त्यो त अब ।

म कानूनमन्त्रीको राजीनामा माग्छुः नारायणकाजी

यसैवीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो अभिव्यक्तिवापत कानूनमन्त्री तामाङले राजीनामा दिनुपर्ने बताए । श्रेष्ठले अनलाइनखबरसँग भने- ‘म कानूनमन्त्रीको राजीनामा माग्छु । अब पार्टीमा यसबारे कुरा उठ्छ ।’

प्रवक्ता श्रेष्ठले आइतबारै ट्विट गरेर मन्त्रीको अभिव्यक्तिप्रति सार्वजनिकरुपमै सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

यो पनि पढ्नुहोस्

कानुनमन्त्रीको टिप्पणीप्रति सरकारको ध्यान जाओस् : नारायणकाजी

कानुनमन्त्रीले महिलाको अस्मितामाथि ठेस पुर्‍याए : राप्रपा

कानुनमन्त्रीले के भनेका थिए हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment