Comments Add Comment

मधेस आन्दोलनका घाइतेको गुनासो : हाम्रो फोटो देखाएर चुनाव जिते, वास्ता गरेनन्


६ साउन, वीरगञ्ज । मधेस आन्दोलनको अगुवा नेता प्रदीप यादव, हाल प्रतिनिधिसभामा सांसद छन् ।

मधेस आन्दोलनकै बलमा सांसद हुन सफल भएका नेता यादवको आफ्नो पर्टी संघीय समाजवादी फोरम नेपालमा राम्रो पकड छ । तर मधेस आन्दोलनका क्रममा घाइते भएका सांसद यादवको भतिज पर्ने वीरगञ्ज मनियारीका उपेन्द्र यादव मैले परिवार कसरी पाल्ने भन्दै रुँदैछन् ।

आइतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा ३५ बर्षका उनले आफ्नो दुखेसो सुनाउँदै गर्दा आँसु थाम्न सकेनन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा भक्कानिदै उनले भने ‘मधेस आन्दोलनको क्रममा मेरो देब्रे खुट्टामा गोली लाग्यो, म आजीवनका लागि अपांग भएँ, अहिले मलाई हिँडडुल गर्नसमेत समस्या छ । प्रदेश वा केन्द्र सरकार कतैबाट सहयोग पाउन सकिन, मेरो परिवारको विचल्ली भइरहेको छ । कर्जा लिएर परिवार पालिरहेको छु ।’

मधेस आन्दोलनका घाइते र शहीदलाई गोली लागेको फोटो देखाएर चुनाव जित्नेहरुले पनि कुनै सहयोग नगरेको उनको दुखेसो छ । मधेस आन्दोलनका क्रममा २०७२ साल भदौ १५ गते यादवलाई गोली लागेको थियो ।

गाउँमै कुखुरा पालन व्यवसाय गर्दै आएका उपेन्द्रको जीवनमा मधेस आन्दोलनले आँधी ल्याइदिए जस्तै भएको छ ।

फी तिर्न नसक्दा छोराको स्कुल छुट्यो

घाइते यादव ६ जनाको परिवार पाल्न निकै सास्ती भइरहेको गुनासो गर्छन । दुई छोरा र दुई छोरीका बाबु उनले शुल्क तिर्न नसकेर माइलो छोराको स्कुल छुटेको सुनाए । ुतीन जना त निशुल्क पढिरहेका छन्, तर माइलो छोरोको फि तिर्न सकिन, ग्रेस सेकेन्डरी स्कुलमा पढ्दै आएका उसको पढाई नै छुटिरहेको छु उनले भने ।

उपचार खर्च जुटाउन र घरको छत ढलानका लागि ४ कठ्ठा जमिन समेत बेचिसकेको उनले दुखेसो गरे । ‘उपचारका लागि १५ लाख रुपैयाँ खर्च भएको छ, प्रदेश वा केन्द्र सरकार कतैबाट एक रुपैयाँ पनि पाएको छैन’ उनले भने ‘सरकारबाट राहत र क्षतिपूर्ति दिलाउँछु भनेर सक्कल बिल भर्पाई लिएर गएकाले समेत फिर्ता दिएका छैनन् ।’

उनले खुट्टामा लगाएको स्टिल झिक्नका लागि २ लाख रुपैयाँ लाग्ने तर खर्च नभएर स्टिल झिक्न नपाएको दुखेसो गरे ।

निधारमा गोली बोकेरै संघर्ष

पहिलो मधेस आन्दोलनका घाइते नगिना पासवानले समेत कतैबाट सहयोग नपाउँदा परिवार पाल्न कठिन भएको बताए । वीरगञ्ज महानगरपालिका २३ प्रसौनीविर्ता घर भएका ४५ वर्षका पासवानलाई मधेस आन्दोलनको क्रममा ०६३ माघ २० गते निधारमा गोली लागेको थियो ।

शुरुमा सरकारी खर्चमा उपचार भएको भए पनि त्यसपछि आफूले कतैबाट सहयोग नपाएको गुनासो उनको छ । ‘घरभित्रको काम गर्छु, त्यो पनि सधैं पाइदैन, कतैबाट एक रुपैयाँ सहयोग पनि पाएको छैन, रोजगारी पनि छैन । छोराछोरी पढाउन निकै समस्या छु’ आँसु खसाउँदै उनले भने ‘निधारमा गोली झिक्न पाएको छैन, घाममा निस्कदा र ५ फिट भन्दा अग्लो ठाउँमा जाँदा चक्कर आउँछ । मैले परिवार कसरी पाल्ने ?’

सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा सुन व्यपारी भुलन सर्राफले तीन जना छोराछोरीको पढाई खर्च बेहोरिदिए पनि आफूले कमाउन नसकेपछि एक सन्तान र परिवार पाल्न खर्च जुटाउन समेत मुश्किल भइरहेको उनको दुखेसो छ ।
उनीहरुले प्रदेश २ सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई दिने सहयोगमा समेत काखा पाखा गरेको गुनासो गरे ।

मुख्य मन्त्री लालबाबु राउत गद्दीले केही दिन अघि पछिल्लो मधेस आन्दोलनका घाइते सखुवा प्रसौनी गाउँपालिका महुवनका पानालाल यादव र वीरगञ्ज महानगरपालिका बगहीका मन्सी पटेललाई जनही ३/३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment