Comments Add Comment

‘म्याच फिक्सिङ’ मा पार्माका स्ट्राइकर इम्मानुयलमाथि प्रतिबन्ध

८ साउन, काठमाडौं । यसै वर्षमात्रै इटालियन ‘सिरि ए’ मा उक्लिएको क्लब पार्माका स्ट्राइकर इम्मानुयल कालाइयोमाथि खेल मिलेमतोको आरोपमा दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।

साथै २०१८/१९ को ‘सिरि ए’ सिजनमा पार्माको पाँच अंक घटाउन र ३६ वर्षका स्ट्राइकरलाई २० हजार यूरो जरिवाना तिराउनसमेत इटालीको अदालतले आदेश दिएको छ ।

गत मे १८ मा पार्माले ‘सिरि बी’ मा स्पेइजासँग खेल्नुअघि कालाइयोले आफ्नो पूर्व टिमका साथीहरुलाई शंकास्पद सन्देशहरु पठाएको पाइएपछि इटालीको नेसनल फेडरल कोर्ट (टिएफएन)ले यस्तो प्रतिबन्ध लगाएको हो ।

उक्त खेल २-० ले जितेसँगै पार्माले बढुवा हुँदै इटालीको उच्च श्रेणीको लिगमा पुनरागमन गरेको थियो ।

कालाइयो सन् २०१६ स्पेजिया छोडेर पार्मा आएका थिए । उनले स्पेजियाका खेलाडीहरु फिलिप्पो डे कोल र क्लाउडियो टेर्जिलाई खेल अघि हृवाट्सएपबाट सम्र्पक गरेका थिए ।

अभियोजनकर्ताहरुले जुनमा छानबीन सुरु गरेपछि पार्माले म्याच फिक्सिङ आरोपको खण्डन गर्दै कालाइयोले पठाएका सन्देशहरुमा कुनै पनि खालको अनियमितता वा दुर्भावना नभएको बताएको थियो ।

तर, जुलाईमा कालाइयोलाई म्याच फिक्सिङको आरोपमा दोषि ठहर्‍याउँदै इटालियन फुटबल एसोसिएसनले उक्त मुद्दा टिएफएनलाई हस्तान्तरण गरेको थियो । उनले सन्देश मार्फत डे कोल र टेर्जीलाई खेलमा कम प्रयास गर्न लगाएर खेल प्रभावित बनाएको बताइएको छ ।

स्पेजियासँगको जीत पछि मात्रै पार्मा दोस्रो हुँदै ‘सिरि बी’ बाट ‘सिरि ए’ मा उक्लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment