Comments Add Comment

वीरगञ्ज भन्सारले भेट्न सकेन राजस्व संकलनको लक्ष्य

एक वर्षमा १ खर्ब ३१ अर्ब राजस्व संकलन


८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । जसमा १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार रुपैयाँमात्र संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा भन्दा बढी राजस्व संकलन गरे पनि लक्ष्य भेट्न भने नसकेको हो । आर्थिक वर्ष ०७३/७४ मा भन्दा आर्थिक वर्ष ०७४/७५ मा २२ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

तर भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ३ अर्ब रुपैयाँ कम राजस्वमात्र संकलन भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ । कार्यालयले भन्सार कर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क, पूर्वाधार कर लगायतका कर संकलन गर्दै आएको छ ।

कार्यालयले असार महिनामा मात्र १३ अर्ब ८४ करोड ११ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

पहिले वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै राजश्व संकलन गर्दै आएकोमा ०७४ चैत २४ गतेबाट एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि दुवैतिरबाट राजश्व संकलन गरिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी सन्तोष यादवले आर्थिक वर्ष २०७४/७५ मा बाढी, चुनाव र सरकारको नीतिले गर्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको बताए ।

‘पहिलो कुरा त सरकारले राजश्व दरमा परिवर्तन गरेको थिएन, त्यसपछि साउनमा बाढीका कारण मालसामान आउनमा समस्या भयो, त्यसपछि चुनावको समयमा ७२/७२ घण्टा सीमा नाका बन्द गर्नुपर्ने अवस्था आयो’ उनले भने ‘ त्यसबाहेक एक्जिम कोड लगाउँदा पनि आयातमा केही प्रभाव पर्‍यो । यस्तै विविध कारणले लक्ष्य पूरा हुन सकेन ।’ लक्ष्य पूरा नभए पनि अघिल्लो आर्थिक वर्षमा भन्दा २१ प्रतिशत बढी राजस्व संकलन भएको यादवले बताए ।

वीरगञ्ज भन्सार कार्यालयबाट मुख्य रुपमा सवारी साधन र त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थरकोइला, फलामे छड, पाइप, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चापदार्थ, आयात हुने गरेको छ ।

त्यस्तै फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस जाम, खुदो, आल्मोनियम छड डण्डी, जमोठ कपडा, सीआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान लगायतका मालवस्तु निकासी हुन गरेको छ ।

सुख्खा बन्दरगाह भन्सारले पनि लक्ष्य भेटेन

त्यसैगरी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब ३३ करोड ५१ ल्ाख ९३ हजार राजश्व संकलन गरेको छ ।

यस कार्यालयले पनि भन्सार विभागले दिएको लक्ष्य भन्दा साढे ३ प्रतिशत कम राजश्व संकलन गरेको छ । विभागले २८ अर्ब, २९ करोड ४२ लाख ५९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा ९५ करोड ९० लाख ६६ हजार रुपैयाँ कम राजश्व संकलन गरेको हो ।

यद्यपी कार्यालयले अघिल्लो वर्षको भन्दा २६ दशमलव ६ प्रतिशत बढी राजश्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५ अर्ब ७४ करोड ६५ लाख ९८ हजारले बढी हो । अघिल्लो आर्थिक वर्षमा कार्यालयले २१ अर्ब ५८ करोड ८५ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

कार्यालयले भन्सार महशुल, अन्तःशुल्क र मुल्य अभिवृद्धि कर संकलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment