Comments Add Comment

प्रेमीसँग मिलेर श्रीमानको हत्या

८ साउन, कैलाली । कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् ।

निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

मृतक राजी साउन ४ गते रातिदेखि हराएका थिए । उनको शव घरबाट करिब १ किलोमिरको दुरिमा रहेको प्रतिक्षा सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।

राजीको शव पोष्टमार्टमा लागि टीकापुर अस्पतालमा पुर्‍याइएको छ ।

यसरी भयो घटना…
प्रहरीका अनुसार नन्दु सुर्खेतबाट केही दिन अघि मात्रै घरमा आएका थिए ।

श्रीमतीको सम्बन्ध अन्य केटासँग रहेको थाहा पाएपछि साउन ४ गते राति उनले श्रीमतीलाई कुटपिट गरे । अर्काे कोठामा सुत्न गए ।

नन्दु अर्को कोठामा गएपछि श्रीमतीले प्रेमी दिलिपलाई बोलाएर ठेगान लगाउने योजना बनाइन् ।

सोही योजना अनुसार घाटी थिचेर हत्या गरेको र हातखुट्टा बाँधी बोरामा हालेर घर नजिकैको वनमा गाडेको दुबैजनाले स्वीकार गरेका छन् ।

नन्दु घरमा नभएको बेला दिलिपलाई निर्मलाको घरमा देखेपछि स्थानीयले यही साउन ६ गते नजिकैको प्रहरी चौकीमा पुगी सम्झाइदिन अनुरोधसमेत गरेका थिए ।

प्रहरीले दिलिपलाई बोलाएर श्रीमान नभएको बेला निर्मलाको घरमा किन गएको भनेर सोध्दा निर्मलाले बोलाएर गएको जवाफ दिएका थिए ।

आइन्दा नजाने बताएपछि प्रहरीले दिलिपलाई छोडेको थियो । तर, घरमा आएको नन्दु तीन/चार दिनदेखि हराएपछि स्थानीयले प्रहरी चौकीमा खबर गरेका थिए ।

प्रहरीले निर्मलालाईसमेत बोलाएर सोधपुछ गर्दा हाउभाउ र प्रतिकि्रया चित्त नबुझेको भन्दै दिलिपलाईसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटनाको रहस्य खुलेको प्रहरी निरीक्षक चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment