Comments Add Comment

राजीनामा दिँदा चार पटक रोए कानुनमन्त्री

'महिला अधिकारको पक्षमा काम गर्दागर्दै राजीनामा दिने अवस्था आयो'

८ साउन, काठमाडौं । ‘कहिलेकाहीँ जुन विषय बोकेर काम गरिरहेको हुन्छ, त्यही विषयले लेखेट्ने दिन पनि आउँदो रहेछ’ पदबाट राजीनामा दिँदै गर्दा कानुनमन्त्री शेरबहादुर तामाङ भावुक भए ।

आफू र पत्नी उषाकला राई लामो समयदेखि महिला अधिकारका लागि लड्दै आएको उनले सुनाए ।

तर, बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे गरेको टिप्पणीकै कारण उनको मन्त्री पद खोसिएको छ । सर्टिफिकेट लिन नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने बाध्यता रहेको बताएपछि उनको चर्को आलोचना भयो र उनले मन्त्री पदबाट राजीनामा दिए ।

मंगलबार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरे ।

महिला अधिकारको पक्षमा काम गर्दागर्दै पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको उनले बताए । भावुक हुँदै उनले भने, ‘कानून बनाएर लैङ्गिक समानताको विषयलाई संस्थागत गर्नेतर्फ केन्द्रित थिएँ । तर, महिलाको विषयमा बोलिएको शब्दकै कारणले यस्तो अवस्था आयो ।’

पत्नी एवं प्रदेश १ कि सांसद् उषाकला राईसहित उपस्थित भएका मन्त्री तामाङले आफूले सधैं महिलाको सम्मान गर्ने गरेको बताए । आफूले जनतालाई शीरमा राखेर काम गरेको तर, आफ्ना केही कमजोरीलाई मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनको गुनासो थियो । आफ्नो अभिव्यक्ति आलोचित भएपछि उनले साउन ६ गते वक्तव्य जारी गरेर माफीसमेत मागी सकेका थिए ।

चार पटक रोए मन्त्री तामाङ

पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दागर्दै उनी अचानक भक्कानिए र केहीबेर बोल्न सकेनन् । सम्हालिएर बोल्न खोजे तर सकेनन् । केहीबेरपछि उनले भने, ‘असुविधाका लागि क्षमा चाहन्छु ।’

‘डा. उपेन्द्र देवकोटा क्यान्सरको उपचार गर्थे तर आफैँ क्यान्सर भएर जानुपर्‍यो । भ्रष्टाचार अन्त्यका लागि कानूनी उपचार गर्नुपर्छ भनेर लागिरहेँ । तिनैले आज मलाई लखेटे’ यसो भन्दा पनि उनी भावुक बने ।

आफू कानुन मन्त्री भएपछि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको र नगर्ने ३२ जनालाई ५ हजार जरिवाना गराएको उनले सुनाए । अब संसदमा रहेर पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गराउने र कानून पारित गराउन दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता छ । यस्तो प्रतिवद्धता जनाइरहँदा पनि फेरि भावुक भए ।

राजीनामा दिँदै गर्दा धेरै भावुक हुनुभयो नि भन्ने प्रश्नमा उनले भने, ‘म अलिअलि भावुक मान्छे पनि हुँ । यो भावनात्मक कुरालाई साथीहरुले त्यही ढंगले बुझिदिनुहोला भन्ने अनुरोध पनि गर्छु ।’

कानून निर्माणमा के के काम भयो ?

राजीनामा दिएको घोषणा गर्नुअघि तामाङले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे जानकारी गराएका थिए । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनको मस्यौदा मन्त्रिपरिषदमा पठाइसकेको मन्त्री तामाङले जानकारी दिए । उनका अनुसार आगामी असोज ३ गतेभित्र संविधानमा रहेका मौलिक हक कार्यान्वयनका लागि आवश्यक सबै कानुन तयार हुनेछ ।

कानून मन्त्रालयका अनुसार अहिलेसम्म १८ भन्दा बढी विषयका कानून बनाउनका लागि स्वीकृति प्रदान गरिएको छ भने, २० भन्दा बढी विषयमा विधेयक तयार गर्नका लागि स्वीकृति प्रदान गरिसकिएको छ । उनले १३ विषयमा मस्यौदा तयार गर्नका लागि समेत स्वीकृति प्रदान गरिसकेको जानकारी दिए ।

‘म मन्त्रालयमा आउँदा प्रदेशहरुले कानून अभावमा काम गर्न पाएका थिएनन् । हामीले अहिलेसम्म १७ वटा नमुना कानून प्रदेश तहमा पठाइसकेका छौं ।’ आफ्नो मन्त्रालयको प्रगति विवरण सुनाउँदै उनले भने ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment