Comments Add Comment

वाणिज्य बैंकको निक्षेप २४ खर्ब नाघ्यो, लगानी २१ खर्ब

९ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएको छ । आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा जानकारी दिए ।

कार्यकारी निर्देशक शर्माका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुले आर्थिक वर्ष ०७४/७५ मा तीन खर्ब ८३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।

निक्षेपमा कुल १८.३५ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलन निरन्तर बढाउँदै गएका छन् । गत आर्थिक वर्षको अन्तिम महिनामा वर्ष भरिकै सबैभन्दा बढी निक्षेप संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो सातासम्म वाणिज्य बैंकहरुमा २३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप थियो । असारको दोस्रो, तेस्रोसहित अन्तिम सातासम्ममा पनि वाणिज्य बैंकहरुले निक्षेप बढाएका छन् ।

बैंकहरुले असारको पहिलो महिनामा संकलित २३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेपलाई दोस्रो सातासम्म आइपुग्दा बढाएर २३ खर्ब ६९ अर्ब रुपैयाँ पुर्‍याएका थिए । पहिलो साताको तुलनामा दोस्रो साता ०.५० प्रतिशतले बैंकहरुले निक्षेप बढाएका हुन् ।

यसैगरी तेस्रो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेपमा ०.३७ प्रतिशतले वृद्धि भइ २३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेप ०.५३ प्रतिशतले बृद्धि भइ बैंकहरुको निक्षेप २३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्षको समाप्तिको अन्तिम साता १.९७ प्रतिशतले वृद्धि भइ वर्ष भरीमा वाणिज्य बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप पुर्‍याएका छन् ।

२१ अर्बमाथि बैंकिङ लगानी

वाणिज्य बैंकहरुले निक्षेप संकलनमात्रै नभएर कर्जा लगानीसमेत बढाएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७४/७५ को अन्त्य सम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा बैंकहरुले आर्थिक वर्ष २०७४/७५ मा ३ खर्ब ७६ अर्ब रुपैयाँ बढी लगानी गरेका हुन् ।

लगानीमा कुल २१.६७ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

वाणिज्य बैंकहरुले गत असार महिनाको पहिलो साता २० खर्ब ६९ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । दोस्रो सातासम्म आइपुग्दा बैंकहरुको लगानी शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएर २० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो ।

यसैगरी असारको तेस्रो साता आइपुग्दा शून्य दशमलव ४० प्रतिशत वृद्धि भई बैंकहरुको लगानी २० खर्ब ८० अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म आइपुग्दा शून्य दशमलव २६ प्रतिशतले बढ्दा २० खर्ब ८६ अर्ब लगानी पुगेको थियो ।

आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा भने वाणिज्य बैंकहरुको लगानी बढेर २१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको एशोसिएसनका कार्यकारी निर्देशक शर्माले बताए ।

वजेट खर्चको प्रभाव बैंकिङ क्षेत्रमा

आर्थिक वर्षको अन्तिममा आएर वजेट खर्च गर्ने परम्परा धेरै पुरानो हो । विभिन्न क्षेत्रमा विनियोजित बजेट सकाउनका लागि आर्थिक वर्षको अन्त्यतिर हतार-हतारमा बजेट खर्च गर्ने प्रचलन छ ।

असारे विकासको प्रभाव बैंकिङ क्षेत्रमासमेत देखिएको छ । असारमा आएर बैंकको निक्षेपमा हृवात्तै बृद्धि हुनु आर्थिक वर्षको अन्त्यमा आएर वजेट खर्च हुनुको प्रभाव भएको बैंकरहरु बताउँछन् ।

वर्षेनी जसो आर्थिक वर्षको अन्तिम महिनामा बैंकमा निक्षेप राम्रो जम्मा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment