+
+

अष्ट्रेलिया र जापानमा नेपाली विद्यार्थीको लर्को, बेलायत जाने घटे

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १०:१५

१० साउन, काठमाडौं । पछिल्लो तीन वर्षका बीचमा वैदेशिक शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ ।

हाल औसतमा दैनिक साढे ३ सय बढी नेपाली विद्यार्थी विदशीने गरेको तथ्यांकले देखाएको छ । विगत ७ वर्षदेखि निरन्तर रुपमा विदेश जाने विद्यार्थीको संख्या बढेको बढ्यै छ ।

पढाईमा अब्बल विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने तर नफर्किने सिलसिला बढ्दै गएकामा शिक्षाविद्हरुले भने चिन्ता व्यक्त गरेका छन् ।

गत आर्थिक वर्ष २०७४/७५मा मात्रै ५८ हजार ७ सय ५८ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको मन्त्रालयका छात्रवृत्ति शाखा प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार आर्थिक वर्ष २०७३/७४मा यो संख्या ५० हजार ६५९ थियो । आर्थिक वर्ष २०७२/७३मा ३२ हजार ४८९ विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए भने २०७१/७२मा योयस्तो संख्या ३० हजार ६९६ मात्रै थियो ।

यस्तै आर्थिक वर्ष २०७०/७१मा २८ हजार १२६, २०६९/७० १६ हजार ५०४, २०६८/६९मा १० हजार ३२४, ०६७/६८मा ११ हजार ९८२ जना विद्यार्थीले अध्ययनका लागि विदेश जान अनुमति लिएका थिए ।

अष्ट्रेलिया र जापानमा लहर

नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तब्य अष्ट्रेलिया देखिएको छ । गत आर्थिक वर्षको तथ्यांकलाई केलाउने हो भने नेपाली विद्यार्थीको रोजाइमा जापान दोस्रोमा छ । गत आर्थिक वर्षमा ३२ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका छन् भने जापानका लागि १० हजार ३ सय ६६ जना विद्यार्थीले ।

दुबै देशले नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेका छन् । तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढ्दै निश्चित सयम काम गर्न पनि छुट भएका कारण नेपाली विद्यार्थीहरु अष्ट्रेलियार र जापान जान चाहन्छन् ।

अष्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा नीतिमा सहजीकरण पनि गरिरहेको छ । आम्दानी पनि राम्रो गर्न सकिने र भिसा पनि सहजै लाग्ने भएका कारण अष्ट्रेलिया जान नसकेका धेरै विद्यार्थी जापान पुगिरहेको वैदेशिक शिक्षाका परामर्शदातृ व्यवसायी बताउँछन् ।

१ हजार ९४४ जना विद्यार्थीले भारतमा अध्ययनका लागि अनुमति पाएका छन् । तर, भारतमा जाने सबै विद्यार्थीले यस्तो अनुमति लिने गरेका छैनन् । परामेडिकल पढ्न जाने विद्यार्थीले छात्रवृत्तिका लागि मात्र अनुमति लिने गरेका छन् । त्यसैले यो संख्या योभन्दा निकै बढी हुनसक्ने अनुमान शिक्षा मन्त्रालयका अधिकारीहरुको छ ।

चीनमा जाने पनि बढ्दै

नेपाली विद्यार्थीको चौंथो गन्तव्यमा रुपमा संयुक्त राज्य अमेरिका छ । एक वर्षमा १ हजार ७९० विद्यार्थीले अमेरिका जानका लागि अनुमति लिएका छन् ।

चीनतर्फ जान अनुमति लिनेको संख्या पनि बढ्दो छ । एक वर्षमा १ हजार ६३७ विद्यार्थीले चीनमा अध्ययनका लागि अनुमति लिएका छन् । केही वर्ष अघिसम्म चीनमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या निकै सानो थियो ।

पोल्याण्डमा अध्ययनका लागि जान १ हजार ३४९ जनाले अनुमति लिएका छन् । दक्षिण कोरियामा अध्ययन गर्न १ हजार २९ विद्यार्थीले अनुमति पाएका छन् । यस्तो संख्या क्यनडाका लागि १ हजार २२, न्युजिल्याण्डका लागि ८८८, साइप्रसमा ७४५, बंगलादेशमा ६५७, जर्मनीमा ५३८ र फ्रान्सका लागि ५२१ जना छन् ।

नयाँ गन्तब्यमा नेपालीको नजर

यसबाहेक विभिन्न नयाँ गन्तब्यहरुमा पनि नेपाली विद्यार्थीको नजर परिरहेको छ । बेलायतमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने घट्दो देखिन्छ ।

यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनमा पनि सयभन्दा बढी विद्यार्थी गत वर्ष अध्ययनका लागि पुगेका छन् ।

स्वीडेन, इस्टोनिया, लाट्भिया, जर्जिया, नेदरल्याण्ड, लक्जम्र्ब, इटाली, ओमान, आयरल्याण्ड,, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिका लगायतका ७१ मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि पुगेका छन् ।

किर्गिस्तान, बेल्जियम, स्वीटजरल्याण्ड, सिंगापुर, टर्की, साउदी अरेबिया, लिथेयोनिया, इजिप्ट, उत्तरकोरिया, हङकङ, अष्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रलंका, बेलारुस, ग्रीस, इजरायल, क्रोयसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, र माल्भ्सि लगायतका मुलुकमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि जान थालेका छन् । युक्रेन, रोमानिया, ब्रुनाइँ, भियतनाम, स्कटल्याण्ड लगायतका मुलुकमा पनि नेपाली विद्यार्थी पुगिहरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?