Comments Add Comment

निकुञ्जको तल्लो भेगमा सर्न थाले गैंडा

सुरक्षा खतरा बढेको भन्दै सरोकारवाला चिन्तित

सांकेतिक तस्वीर

१० साउन, चितवन । विश्वकै दुर्लभ एकसिंगे गैंडा पछिल्ला वर्षहरुमा निकुञ्जको तल्लो तटीय क्षेत्रतर्फ सर्न थालेका छन् । जसका कारण चितवन राष्ट्रिय निकुञ्जलाई संरक्षणका लागि चुनौती पनि थपिएको छ ।

गत वर्षको बाढीले बगाएर कतिपय गैंडा तल्लो क्षेत्रमा पुर्‍याएको छ भने केही आहार र सिमसारको खोजी गर्दै निकुञ्जको तल्लो क्षेत्र एवं भारतीय सीमातर्फ सर्दै जान थालेका छन् ।

निकुञ्जको उत्तरी क्षेत्र सुख्खा हुने राम्रो घाँस नपाइने, पानी एवं तालतलैयाहरु नहुँदा गैंडाहरु तल्लो क्षेत्रमा सर्दै गएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

‘कति गैंडा बाढीले बगाएर तल्लो क्षेत्रमा गए, कति उचित आहाराको खोजीमा गए’, प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘अब ती गैंडालाई निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखियो ।’

भारतीय सीमा क्षेत्रमा जाँदा गैंडाको सुरक्षा जोखिम बढ्ने उनले बताए । निकुञ्जको पूर्वी क्षेत्र सुरक्षित भने मानिँदैन । यो चोरी सिकारी अधिक हुने क्षेत्रका पर्छ । मकवानपुरको सुनाचुरी र कठार क्षेत्रमा गैंडामाथि बढी सुरक्षा खतरा छ ।

अघिल्लो वर्ष राप्ती नदीमा आएको बाढीका कारण बगेर भारत पुगेका ९ गैंडालाई निकुञ्जले फिर्ता ल्याएको थियो । नदीहरुमा बाँध बाँध्दा त्यसले सिमसार क्षेत्र माँसिदै गएको छ ।

नदीहरुलाई एक ठाँउबाट बगाउनुभन्दा भंगाला भंगाला बनाएर बग्न दिनु नै वन्यजन्तुका लागि उपयुक्त मानिन्छ । गैंडा निकुञ्जको तल्लो भागमा केन्द्रित हुँदा सुरक्षा खतरा रहेको निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालले बताए ।

नवलपुरको दुम्कीवास बगवनदेखी त्रिवेणीसम्मको १२ किलोमिटरमा निकुञ्जको कुनै पनि सुरक्षापोष्ट छैन । निकुञ्जले सो क्षेत्रमा नेपालीको सेनाको सुरक्षा पोष्ट स्थापना गर्ने सोच बनाएको छ । निकुञ्जको तल्लो क्षेत्रमा गैंडा केन्द्रित हुँदा चोरी शिकारी गर्ने व्यक्तिहरु पनि त्यसतर्फ नै लागेको सूचना निकुञ्जले प्राप्त गरेको सूचना अधिकृत अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment