१० साउन, काठमाडौं । सुन व्यवसायी समिति, दाङको एक किलो सुन हात पार्न एक व्यक्तिले आफू लुटिएको नाटक गरेको खुलेको छ । प्रहरीले अाफू लुटिएको भनेर खबर गर्ने खड्गबहादुर सुनुवारसहित सहयोगी ५ जनालार्इ पक्राउ गरेसँगै उनीहरूको नाटकको पर्दाफास भएको हो ।
बुधबार साँझ साढे ६ बजे प्रहरी कन्ट्रोल १०० मा एउटा सूचना प्रवाह भयो, ‘गोंगबुको राप्ती पाहुना घरबाट १ किलो सुन, नगद २ लाख १७ हजार र १ लाख रुपैयाँ बराबरको चेक लुटियो ।’
लगत्तै, महागनरीय प्रहरीका विभिन्न युनिट घटनास्थलमा खटिए । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि तत्कालै घटनास्थलमा पुगे ।
त्यसरी प्रहरीलाई सूचना दिने व्यक्ति थिए, खड्ग सुनुवार । जसले सुन व्यवसायी समिति, दाङको १ किलो सुन काठमाडौंबाट लैजाने जिम्मेवारी पाएका थिए ।
‘घटनास्थलमा पुग्ने वित्तिकै सोधपुछ र प्रारम्भिक अनुसन्धान थालियो । तर, उनीहरु लुटिएको जस्तो वस्तुस्थिति देखिएन’, पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसपछि घटना शंकास्पद लागेको थियो ।’
लुटपाट भएको भनिएको होटलको कोठा नं. २०२ मा सुनुवार बाहेक अन्य कोही प्रवेश गरेको देखिएन । लुटपाट हुँदा होल्ला वा गुहार पनि मागिएको थिएन । कोठा छेउमा बस्नेले समेत त्यत्रो लुटपाट भएको सुइँको समेत पाएका थिएनन् ।
त्यसपछि घटना ‘फेक लुटपाटको त होइन ?’ भन्ने शंका गर्न प्रहरीलाई कत्ति पनि समय लागेन ।
सुनुवारसहित उनका ज्वाइँ बचन सुनुवार, भाइ चन्द्रप्रकाश, होटलका सञ्चालक लगायतसँग गरिएको प्रारम्भिक सोधपुछमै उनीहरुको कुरा बाझिएपछि एसएसपी पोखरेलले सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महारागञ्जलाई निर्देशन दिए ।
लगत्तै, अनुसन्धानका क्रममा राति नै उनीहरुले एक किलो सुन पचाउनलाई सुन लुटिएको नाटक गरेको खुल्यो । साथै, बसपार्कस्थित बिजी मलमा लुकाइएको अवस्थामा सुन समेत बरामद भयो ।
पक्राउ परेकाहरु मध्ये ठगी वा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको बताइएको छ ।
प्रतिक्रिया 4