Comments Add Comment

प्राविधिक शिक्षालय सञ्चालन गर्ने प्रदेश १ को तयारी

११ साउन, विराटनगर । प्रदेश १ सरकारले मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयको रुपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।
सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र आवश्य कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउने योजनासहित आवश्यक गृहकार्य थालेको हो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बहुप्राविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राविधिक विश्व विद्यालयको रुपमा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेको बताए ।

प्रदेशकै अब्बल प्राविधिक शिक्षालय बनाउने सरकारको योजना अनुरुप मन्त्रालयले काम अगाडि बढाएको मन्त्री घिमिरेले बताए ।

उनले बहुप्राविधिक शिक्षालाय सञ्चालनमा आएसँगै प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हाल सो पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङअन्तर्गतका सिभल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ । प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षलायमा कृषि, भेटनेरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ ।


सामाजिक विकास मन्त्रालयका उपसचिव फणीन्द्र खत्रीले प्रदेश सरकारले लिएको नीति अनुसार एक विश्वविद्यालय र बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने योजनालाई मूर्तरुप दिन मनमोहनलाई बहुप्राविधिक शिक्षालयका रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

उनले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मनमोहनलाई प्रदेश सरकारको बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालन गर्ने भने अनुरुप आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको जानकारी दिए ।

मन्त्रालयले बहुप्राविधिक शिक्षालय र विश्वविद्यालय सञ्चालनका लागि एउटै कानुनले समेट्न सक्ने या नसक्ने भन्ने विषयमा शिक्षाविद्हरुसँग छलफल चलाइरहेका छ ।

मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजित गरिएको छ ।

मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल सुभाष श्री निरौलाले प्रदेश सरकारको योजना अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार प्रर्याप्त रहेको बताए ।
मनमोहन पोलिटेक्निकले अहिले आधारभूत र मध्यमस्तरको तालिम र प्राविधिक शिक्षा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment