+
+
Shares

अन्य देशको तुलनामा नर्वेका युवा कसरी धनी हुँदै छन् ?

 म्याडी स्यावेज म्याडी स्यावेज
२०७५ साउन १२ गते १०:१०


अमेरिका बेलायत र अन्य पश्चिमी देशमा सन् १९८० र २००० बीच जन्मिएका मानिसहरू खर्चको बोझले दबिएका छन् भन्ने कुरा अब नयाँ रहेन ।
पश्चिमी देशका युवायुवतीहरू आफ्नो आमाबुबाभन्दा गरिब हुने बाटोमा छन् । तर, पश्चिमकै एक देशमा भने उल्टो गंगा बगिरहेको छ । यस्तो कसरी भइरहेको छ ?

पढाइ र घरखर्च सबैभन्दा धेरै बढेको छ त्यसले उनीहरूको चिन्ता बढाइरहेको छ । विभिन्न अध्यययनहरूबाट अहिलेको युवा पुस्ता अघिल्लो पुस्ताभन्दा धेरै गरिब हुने कुरा अगाडि आएको छ ।

तर, यो कुरा सबै देशमा लागू हुँदैन । उदाहरण छ उत्तरी युरोपको सानो देश नर्वे ।

समुद्री लुटेरा, विभिन्न खालका हिँउमा हुने खेलहरूको कारण प्रसिद्ध नर्वे यूरोपको एक मात्र त्यस्तो अर्थव्यवस्था हो जहाँका युवाहरूको आर्थिक स्थिति अघिल्लो पुस्ताको तुलनामा धेरै राम्रो भएको छ ।

नर्वेमा ३० देखि ३५ वर्षका मानिसहरूको वाषिर्क आम्दानी करिब ४ लाख ६० हजार क्रोनर अर्थात् करिब ५६ हजार दुई सय अमेरिकी डलर छ ।
सन् १९६६ र १९८० को बीचमा जन्मिएका पिँढी जब यो उमेरका थिए त्यतिखेर उनीहरूको आम्दानीको तुलनामा नयाँ युवाहरूको आम्दानी १३ प्रतिशतले बढेको छ ।

आश्चर्यजनक यो तथ्यांक बेलायतको थिंक ट्याङ्क ‘दि रिजोलुसन फाउन्डेसन’ले जारी गरेको हो । लक्जम्वर्ग इन्कम डाटाबेस नाममा जारी भएको यो रिपोर्ट विश्वभरका देशमा आम्दानीको तुलनात्मक तथ्यांक हो ।

बलियो अर्थ व्यवस्था भएका अन्य देशका युवाहरूसँग यसको तुलना गर्ने हो भने अमेरिकामा यस उमेर समूहका युवाहरूको आम्दानी ५ प्रतिशतले घटेको छ भने जर्मनीमा ९ प्रतिशतले घटेको छ ।

सन् २००८ को वित्तीय संकटले सबैभन्दा धेरै प्रभावित दक्षिणी युरोपको देशहरूमा युवाहरूको आम्दानी ३० प्रतिशतसम्मले घटेको छ ।
नर्वेमा १५-२० वर्षका युवाहरूमा बेरोजगारी पनि सबैभन्दा कम ९ दशमलव ४ प्रतिशत छ जब कि ओईसीडी देशमा यो औसत १३ दशमलव ९ प्रतिशत छ ।

नर्वेका भाग्यमानी 

राजधानी ओस्लोमा आफ्नो देशको सम्पत्ति बढाइरहेका युवाहरूलाई खोज्न मुस्किल छैन ।

स्नातक सकेका २५ वषर्ीय एलेक्जेन्डर आर्निज भन्छन्, ‘म कहिल्यै पनि आफ्नो पैसा कसरी खर्च गरूँ भनेर सोच्दिन । म महिनामा एकपटक थिएटर, एकपटक सिनेमा जान्छु, बेलामौकामा साथीहरूसँग बाहिर खान जान्छु र छुट्टीमा बाहिर घुम्न जान्छु ।’

आर्नीज एक म्युजिकल थिएटरको लागि स्क्रिप्ट लेख्छन् तर त्यसबाट उनलाई कुनै आम्दानी हुँदैन । यसैले आफ्नो खर्चको लागि कोर्सवोलको सुपरमार्केटमा काम गर्छन् । आर्निज शहरको बाहिरी इलाकामा आफ्नो एक साथीसँग अपार्टमेन्टमा बस्छन् । उनी भन्छन्, ‘मलाई थाहा छ म कति भाग्यमानी छु । म जुन करियर बनाउन चाहन्छु त्यसको लागि धेरै त्याग गर्नुपरेको छैन ।’

आर्निज हरेक घन्टा कम्तिमा १६४ क्रोनर अर्थात २० अमेरिकी डलर कमाउँछन् । विकेन्ड र बेलुकाको सिफ्टमा धेरै पैसा मिल्छ । स्केन्डिभिएन देशहरमा ट्याक्सको दर बढी छ तर, पनि उनले महिनामा करिब १४ हजार क्रोनर अर्थात १७०० अमेरिकी डलर बचाउँछन् ।

यसको आधा पैसा उनी घर भाडा तिर्न, घुमफिर, खानपिनमा खर्च गर्छन् बाँकी पैसा उनी जे चाहृयो त्यही गर्न सक्छन् ।
कोर्सवोलकै ३१ बषिर्य बिजनेस एनालिस्ट ओस्टाइनको आफ्नै बीएमडब्ल्यु कार छ ।

उनी आफ्नो पूरा नाम बताउन चाहँदैनन् । तर भन्छन्, ‘धनी भए पनि यहाँका मानिसहरू आफ्नो निजी सम्पत्तिको बारेमा कुराकानी गर्न मन पराउँदैनन् ।’

ओस्टाइनले २७ वर्षकै उमेरमा दुई बेडरुमको अपार्टमेन्ट खरिद गरेका थिए । उनी छुट्टी मनाउन अमेरिका र एसिया गइरहन्छन् ।
नर्वे अरूभन्दा किन फरक छ ?

नर्वेको युवाहरूको खुसीयालीपूर्ण जीवन देशको आर्थिक विकाससँग जोडिएको छ ।

सन् १९८० देखि २०१३ सम्म अन्य विकसित देशको तुलनामा नर्वेको औसत आम्दानी धेरै बढ्यो । सम्पत्ति र खुसीयालीको आधारमा सार्वजनिक हुने धेरै रिपोर्टहरूमा नर्वे विश्वको नम्बर एक स्थानमा छ ।

विश्वव्यापी आर्थिक मन्दीमा पनि ऊ सजिलैसँग अगाडि आयो । सन् २०१७ मा ११० देशको लेगाटम प्रोस्पेरिटी इन्डेक्समा पनि नर्वे एक नम्बरमा छ ।
नर्वेको तेल र ग्याँस क्षेत्र नै पछिल्लो तीन दशकदेखि आर्थिक विकासको मुख्य कारक हो । उत्तरी सागरमा तेल र ग्याँस भण्डार भेटिएपछि नर्वेले पछाडि फर्केर हेर्न परेको छैन । तर, हालैको वर्षमा तेलको मूल्यमा आएको गिरावटले केही असर भने पक्कै पनि परेको छ ।

ओस्लोको बीआई नर्वेजियन स्कूलमा अर्थशास्त्रका प्रोफेसर हाइल्ड बर्जानल्याण्ड भन्छन्, ‘नर्वेले कति धन कमाइरहेको छ भन्ने कुरा महत्वपूर्ण होइन बरु उसले धनलाई के गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो ।’

उनी भन्छन्, ‘नर्वेले आफ्नो तेल र सम्पत्तिलाई राम्रोसँग व्यवस्थापन गरिरहेको छ । उसले बचत गरिरहेको छ र त्यसको केही हिस्सा समाजलाई फिर्ता पनि दिइरहेको छ । यसबाट सीमित मानिसहरूले धेरै पाउनुको सट्टा धेरै मानिसहरूले त्यो सम्पत्तिको भाग पाएका छन् ।’

नर्वेले आफ्नो पैसालाई विश्वकै सबैभन्दा ठूलो सोर्वेर्जन वेल्थ फन्डमा लगाएको छ । यो एक विशाल खुत्रुकेजस्तै हो जसको पैसा ९ हजारभन्दा धेरै कम्पनीमा लगानी गरिन्छ ।

अहिले यो कोष १ हजार अरब डलरभन्दा धेरैको छ । यो बचतका बाबजुद नर्वेमा ट्याक्सको दर धेरै छ र न्युनतम ज्याला दर युनियनसँग कुराकानीको आधारमा तय हुन्छ ।

बर्जानल्याण्ड भन्छन्, ‘युवा र कम तलब पाउने मानिसहरूको आम्दानी हरेक वर्ष बढ्छ र यहाँ कम कमाउने मानिस र धेरै कमाउने मानिस बीचमा खासै धेरै अन्तर छ्रैन ।’

‘दि रिजोल्युसन फाउन्डेसन’को रिपोर्ट अनुसार मजबुत अर्थव्यवस्था भएका अन्य देशहरू जस्तै अमेरिका, बि्रटेन र जर्मनीमा यो अन्तर धेरै छ । त्यहाँ धेरै कमाउने र थोरै कमाउने बीचमा अन्तर धेरै ठूलो छ । त्यहाँका युवाहरूको आम्दानीमा यसले नराम्रो असर पर्छ । त्यसको उल्टो नर्वेमा भने समानताको भाव रहेको छ ।

यसैकारण नर्वैका मानिसहरूमा सन्तुष्टि छ र यहाँ सामाजिक विद्रोह वा आक्रोश देख्न पाइँदैन । समाज कल्याण योजनाहरू र स्वास्थ्य सेवाहरूमा पाइने सुविधाले पनि युवाहरूलाई खुसी बनाउँछ ।

यहाँ बेरोजगारीमा पाइने भत्ता धेरै छ । मानिसहरू नयाँ काम खोज्दै गर्दा दुई वर्षसम्म पछिल्लो तलबको ६० प्रतिशतको बराबर बेरोजगारी भत्ता लिन सक्छन् ।

सबै नोर्डिक देशहरू जस्तै नर्वेमा पनि बच्चाको पालनपोषणमा लाग्ने खर्च कम छ र धेरै सुत्केरी बिदाको कारणले महिलाहरूलाई पनि काम गर्न खासै समस्या हुँदैन ।

धेरैजसो स्कूल र विश्वविद्यालयमा पढाइ निःशुल्क छ । पढ्नको लागि लिइएको कर्जामा कुनै ब्याज तिर्नुपर्दैन । छात्राहरूको लागि रोजगारीको दर धेरै भएकाले अझै सजिलो छ ।

बर्जानल्याण्डका अनुसार युवायुवतीहरूले पढाइको समयमा कुनै काम पाउँछन् । पार्ट टाइम कामले नर्वेको युवायुवतीहरू अन्य युरोपियन देशहरूको तुलनामा धेरै कमाउँछन् ।

बिजनेस स्कूलमा पढ्ने धेरैजसो छात्रहरू बर्जानल्याण्डको विचारमा सहमत छन् ।

चिलीबाट आएकी २७ वषिर्या ग्याबि्रएला सान्जना हृयुमन राइट्समा मास्टर्स गर्दै छिन् । उनी पार्ट टाइममा वेट्रेसको काम पनि गर्छिन् ।
‘यहाँ काम खोज्न मुस्किल छैन र पैसा पनि धेरै कमाइन्छ यसैले समय पनि सजिलै बित्छ,’ सान्जना भन्छिन्, ‘मैले धेरै ट्याक्स तिर्नुपर्छ तर मलाई यसको कुनै चिन्ता छैन किनभने सरकारले हामीलाई धेरैथोक दिन्छ ।’

बाहिरबाट आएका विद्यार्थीहरूलाई पनि यहाँ धनी हुन गाह्रो छैन ।

भविष्य सुरक्षित छ ?

अन्य देशहरूमा विभिन्न समस्या देखिँदा नर्वेमा भने सबै कुरा ठीक छ भन्ने हुँदैन । सफलताको बीचमा केही चिन्ताको कुरा पनि छन् । युवाहरूको लागि रोजगारीको दरमा कमी आएको छ ।

ओइसिडीको नयाँ रिपोर्टको अनुसार सन् २००७ र २०१६ को बीच नर्वेमा १५ देखि २९ वर्षका युवायुवतीहरूको जनसङ्ख्या १८ प्रतिशतले बढेको छ र रोजगारको अवसर कम भइरहेको छ ।

बाहिरी देशबाट आएका युवाहरूमा भने बेरोजगारीको दर १० प्रतिशत छ ।

ओस्लो मेट्रोपोलिटन यूनिभर्सिटीको सेन्टर अफ लेबर एण्ड वेयलफेयर रिसर्चको सिनियर रिसर्चर क्रिस्टियन हेग्गबा भन्छन्, ‘बाहिरी देशबाट यूरोप आउने पढेलेखेका छात्रहरू र आप्रवासीलाई राम्रो काम मिल्छ तर जातीय अल्पसङ्ख्यकलाई भने भेदभाव हुन्छ ।’

उनी भन्छन्, ‘केही हदसम्म शिक्षाको अभावले यस्तो हुन्छ तर यो कुरामा केही शंका छैन कि जतिलाई कामको आवश्यकता छ त्यति काम छैन ।’
केही स्थानमा भने विदेशी मूलका मानिसलाई काममा राख्न हिच्किचाउने समस्या पनि देखिन्छ ।

हेग्गबा भन्छन्, ‘नर्डिक देशमा जन्मिएका र यहीँ पढेर हुर्केका दोस्रो पुस्ताका आप्रवासीहरूलाई पनि कहिलेकाहीँ काम खोज्न संघर्ष गर्नुपर्छ ।’

सफलताको मूल्य

बर्जानल्याण्डका अनुसार नर्वेका सम्पन्न मानिसहरूलाई पनि सचेत हुन आवश्यक छ ।

उनका अनुसार राम्रो दिन बिताएका, लामो छुट्टी लिएका, लामो समयसम्म सुखको दिन बिताएका युवाहरूले त्यसैलाई आफ्नो भाग्य मानेका छन् तर, जे चीज पहिले थियो भविष्यमा पनि त्यही हुन्छ भन्ने हुँदैन ।’

बर्जानल्याण्ड भन्छन्, ‘नर्वेलाई धेरै काम गर्नुपर्छ । तेल र ग्याँस बाहेक अन्य उद्योगमा पनि ध्यान दिनुपर्छ । काम दिने मानिसहरूले तेल र ग्याँस क्षेत्रभन्दा बाहिर अन्तर्राष्ट्रिय प्रतिभाहरूलाई धेरै मौका दिनुपर्छ ।

अहिलेको जस्तो जिन्दगी जिउन नर्वेका युवाहरूलाई पनि आफ्नो मर्जीले जहाँ पनि काम गर्नुको सट्टा उनीहरूको कौशलको धेरै आवश्यकता भएको स्थानको खोजी गर्नुपर्नेछ ।

सधैँ यस्तै खुसी हुने उपाय के छ ?

नर्वेको अगाडि पनि धेरै चुनौतीहरू छन् भन्नेमा कुनै शंका छैन तर, विशेषज्ञहरूलाई यो पनि लाग्छ कि अन्य देशहरूले नर्वेबाट धेरै सिक्न सक्छन् ।
करियरको सुरुवातमा युवाहरूको मद्दतका लागि सेवास्टियन कानिग्स शिक्षाले रोजगार र सामाजिक सेवाहरूको आपसी सम्बन्धतर्फ ईशारा गर्छ ।
नर्वेमा स्कूल छोड्ने हरेक छात्रलाई उसलाई अझै काम नगरी पढ्न मन छ भने उसले के विकल्प सोचेको छ भनी फोन गरेर सोधिन्छ । नर्वेको जनसङ्ख्या जम्मा ५१ लाख छ तर पनि ठूला देशहरूले चाहेमा यी नीतिलाई आफ्नोमा लागू गरेर धेरै सुधार गर्न सक्छन् ।

तेलको आम्दानीलाई अलग गरेर नर्वेले आफ्नो अर्थव्यवस्थालाई अर्कै आकार दिन पर्‍यो भने पनि समतावादी सिद्धान्त र युवाहरूलाई मद्धत गर्ने नीतिका कारणले मात्रै पनि नर्वेले प्रगति गर्नसक्ने विश्वास क्रिस्टियन हेग्गब्ााको छ ।

(बिबिसीबाट अनूदित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?