+
+
Shares

नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानीले मधुमेह नियन्त्रण र छाला संरक्षण गर्छ

मेथीपानीले छाला संरक्षण गर्दै उत्कृष्ट एन्टिअक्सिडेन्टको भूमिका खेल्ने पनि अनुसन्धानमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका वैज्ञानिकहरूले मेथीपानीले मधुमेह नियन्त्रण र छालालाई यूभी किरणबाट बचाउन मद्दत गर्ने प्रमाणित गरेका छन्।
  • यो अनुसन्धान नेचर पोर्टफोलियो अन्तर्गतको 'साइन्टिफिक रिपोर्ट्स' जर्नलमा प्रकाशित भएको छ।
  • मेथीपानीले मधुमेह नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने र सनस्क्रिन क्रिमको प्रभावकारिता बढाउने देखिएको छ।

२५ चैत, काठमाडौं । हाम्रो भान्सामा दैनिकजसो प्रयोग हुने मेथीलाई भिजाएर तयार पारिएको मेथीपानीले मधुमेह नियन्त्रण गर्न र छालालाई घामको हानिकारक किरण (यूभी रे) बाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमाणित भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूको एक टोलीले गरेको यस महत्त्वपूर्ण अनुसन्धानलाई विश्वकै प्रतिष्ठित प्रकाशन गृह नेचर पोर्टफोलियो अन्तर्गतको ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलले प्रकाशित गरेको छ।

नास्टको विज्ञान संकायअन्तर्गत रहेको ‘फिजिकल साइन्स ल्याबोरेटोरी’ का वैज्ञानिक डा. दिपेन्द्र दास मुल्मीको नेतृत्वमा अनुसन्धानकर्ताहरू सद्दाम हुसेन, प्रमोद सुवेदी र विष्णु न्यौपाने लगायतको टोलीले यो अनुसन्धान गरेको हो।

विशेष कुरा के छ भने, यो सम्पूर्ण अनुसन्धान नास्टकै प्रयोगशालामा उपलब्ध अत्याधुनिक उपकरणहरू प्रयोग गरेर सम्पन्न गरिएको हो। यसका लागि यूभी भिजिबल स्पेक्ट्रोस्कोपी, एक्स-रे डीफ्र्याक्टोमिटर (एक्सआरडी) र फाउरिअर ट्रान्स्फर्म इन्फ्रारेड स्पेक्ट्रोस्कोपी (एफटीआईआर) जस्ता प्रविधिहरूको प्रयोग गरी मेथीपानीका संरचनात्मक र प्रकाशीय (अप्टिकल) गुणहरूको अध्ययन गरिएको थियो।

अनुसन्धानबाट के देखियो ?

अध्ययनमा पहिलो, दोस्रो र तेस्रो दिनसम्म भिजाइएको मेथीपानीको सुगर सोलुसन (१२५, १५५, र १८५ मि.ग्रा./डेसिलिटर), मधुमेहको औषधि र सनस्क्रिन क्रिमसँगको अन्तरक्रिया परीक्षण गरिएको थियो।

नतिजामा यो मधुमेह नियन्त्रणमा प्रभावकारी हुने भेटिएको अनुसन्धानको नतिजामा उल्लेख छ । सुगर सोलुसनमा चिनीको मात्रा बढ्दै जाँदा अवशोषण घटेको, तर मेथीपानीको मात्रा बढाउँदा अवशोषण बढेको पाइयो। यसमा हुने कोलाइडल अन्तरक्रियाको कारणले गर्दा मेथीपानीलाई मधुमेहको स्तर घटाउन प्रयोग गर्न सकिने पुष्टि भएको नतिजामा उल्लेख छ ।

मेथीपानीले छाला संरक्षण गर्दै उत्कृष्ट एन्टिअक्सिडेन्टको भूमिका खेल्ने पनि अनुसन्धानमा उल्लेख छ । मेथीपानीलाई सनस्क्रिन क्रिमसँग मिसाएर परीक्षण गर्दा यसले क्रिमको प्रभावकारिता (यूभी प्रोटेक्सन) ह्वात्तै बढाएको पाइयो। यो आफैंमा एक प्राकृतिक सनस्क्रिन यौगिक र शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा कार्य गर्न सक्षम रहेको अनुसन्धानमा उल्लेख छ ।

अनुसन्धानले देखाएअनुसार मेथी भिजाएको दोस्रो दिनमा यसको एन्टिअक्सिडेन्ट गतिविधि सबैभन्दा उच्च विन्दुमा पुग्छ। यसले फार्मास्युटिकल र सौन्दर्य उपचारमा यसको प्रयोगको सम्भावनालाई अझ मजबुत बनाएको छ।

यस अध्ययनले मेथीपानीलाई रसायन विज्ञानमा एक प्रभावकारी ‘हरित उत्प्रेरक’ को रूपमा समेत प्रयोग गर्न सकिने सम्भावनालाई उजागर गरेको छ।

अन्तर्राष्ट्रिय मान्यता र नेपालको लागि महत्त्व

यो शोधपत्र प्रकाशित भएको जर्नल साइन्टिफिक रिपोर्ट्स सन् २०२४ को जर्नल साइटेसन रिपोर्टअनुसार विश्वको तेस्रो सबैभन्दा धेरै उद्धृत गरिने जर्नल हो। गत वर्ष मात्रै यस जर्नलले ८ लाख ३४ हजारभन्दा बढी साइटेसन प्राप्त गरेको थियो।

यति प्रतिष्ठित जर्नलमा नेपालको आफ्नै प्रयोगशालामा गरिएको अनुसन्धान प्रकाशित हुनुले नेपाली विज्ञान क्षेत्रको क्षमतालाई विश्वसामु प्रमाणित गरेको छ। अनुसन्धान टोलीका सदस्य प्रमोद सुवेदीले यस्ता सफलताका कथाहरूले नेपालमा विज्ञान र अनुसन्धानको क्षेत्रमा राज्य र सरोकारवाला निकायबाट थप लगानी र समर्थन जुटाउन प्रेरणा प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?