News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाधाम नगरपालिकाका सहलेखापाल सुरेशकुमार मण्डलले मेयर बालेश्वर मण्डलले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन्।
- सहलेखापाल मण्डलले मेयरले मोबाइल खोसेर दुर्व्यवहार गरेको र कार्यालयबाट भाग्नुपरेको उजुरी दिएका छन्।
- लेखा समूह धनुषाले मेयरमाथि कारबाही र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ।
२५ चैत, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका सहलेखापाल सुरेशकुमार मण्डलले मेयर बालेश्वर मण्डलले आफूमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
आफूमाथि कुटपिट गरेको भन्दै उनले मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरीसमेत दिएका छन् ।
उजुरीमा आफूलाई कार्यकक्षमा बोलाएर मेयर मण्डल मोबाइल खोसेर कुटपिट गरेको उल्लेख गरेका छन् । उनले घटनापछि ज्यान जोगाउन कार्यालयबाट भाग्नुपरेको दाबी गरेका छन् ।
उनका अनुसार लेखा अधिकृतको सरुवा भएपछि आफूले मंसिर २८ गते लेखासम्बन्धी कागजात बुझबुझारथ गरेको र त्यसपछि तालिममा सहभागी हुन काठमाडौं गएका थिए ।
सोही अवधिमा लेखा परीक्षण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट अनुसन्धान भइरहेको क्रममा लेखा शाखाको साँचो कम्प्युटर अपरेटर पुरुषोत्तम कुमार मण्डलकहाँ रहेको र उनी सम्पर्कविहीन छन् ।
मंगलबार कार्यालयमा उपस्थित हुँदा नगर प्रमुखले साँचो दिन अस्वीकार गर्दै आफूलाई बोलाएर दुर्व्यवहार गरेको उनको आरोप छ ।
नगर प्रमुखले प्रयोगमा रहेको मोबाइल समेत खोसेको र घटनास्थलमा रहेका अन्य कर्मचारीको सहयोगमा आफू बाहिर निस्कन सफल भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
साँचो नगर प्रमुखकै नियन्त्रणमा लेखा शाखाको साँचो रहेको र अख्तियारमा परेको उजुरीसँग सम्बन्धित कागजात नष्ट गर्ने प्रयास हुन सक्ने आशंका पीडित मण्डलको छ ।
उनले आफूलाई ज्यानको खतरा रहेको भन्दै कार्यालय जान असमर्थ रहेको उल्लेख गरेका छन् ।
यता लेखा समूह धनुषाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हातपात गर्ने मेयर मण्डलमाथि कारबाहीको माग गरेको छ ।
कानुन कार्यान्वयन गराउने जिम्मेवारीमा रहेको मेयरबाटै कानुन विपरीतको कार्य हुनु दुर्भाग्यपूर्ण भएको ज्ञापपत्रमा उल्लेख छ ।
घटनामा संलग्न मेयर मण्डललाई कारबाही गर्न र सह–लेखापाल मण्डलसहित सम्पूर्ण कर्मचारीहरूको कार्यस्थलमा शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ ।
प्रतिक्रिया 4