Comments Add Comment

कामु प्रधानन्यायाधीश जोशीलाई राजीनामा दिन सत्तापक्षको सन्देश

किन सर्‍यो संसदीय सुनुवाई समितिको बैठक ?

१३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि शुक्रबार भएको संसदीय सुनुवाइको निर्णय आउन बाँकी नै रहेका बेला सत्तापक्षले राजीनामा गरेर सम्मानजनक निकास दिन सन्देश पठाएको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्रमा विवादमा परेपछि संसदीय सुनुवाईकै क्रममा रहेका जोशीलाई संसदबाट अस्वीकृत हुनुभन्दा राजीनामा गर्न सुझाव दिइएको सरकारी उच्चस्तरीय स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपा र संघीय समाजवादी फोरमको संसदीय सुनुवाई विशेष समितिमा दुई तिहाइ बहुमत छ । दुई तिहाइले अस्वीकृत गरेमा जोशी प्रधानन्यायाधीश बन्न पाउँदैनन् ।

संसदीय सुनुवाइ विशेष समितिका सदस्यसमेत रहेका नेकपाका नेता सुमनराज प्याकुरेलले समितिमा सत्तापक्ष एक मत हुने बताए । उनले जोशीको सन्दर्भमा निर्णय लँदा विशेष समितिमा सर्वसम्मत हुने अवस्था रहेको बताए ।

प्याकुरेलले जोशीको स्पष्टीकरण र उनले पेश गरेको शैक्षिक योग्यताका कागजातहरुमा समिति सन्तुष्ट हुन नसकेको बताए । तर, सोमवार एउटा निर्णयमा समिति पुग्ने उनले बताए । सांसद प्याकुरेल प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र निकटस्थ मानिन्छन् ।

स्रोतका अनुसार जोशीका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको देख्दादेख्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्दा संसदीय सुनुवाईको औचित्य समाप्त हुने भन्दै सांसदहरुले पार्टी नेतृत्वलाई उचित निकास दिन आग्रह गरेका छन् ।

सत्तारुढ नेकपाले यसबारे फोरम अध्यक्ष उपेन्द्र्र यादवसँग पनि सल्लाह गरेको छ । विपक्षी नेपाली कांग्रेस जोशीको बचाउमा उभिन खोजे पनि समिति सदस्य पुष्पा भुसाल लगायतले असन्तुष्टि जनाएका छन् ।

संसदीय समितिको आइतबारको बैठक पनि भुसाल काठमाडौं बाहिर जानु परेको भन्दै स्थगित गरिएको स्रोतले जनाएको छ ।

यसबीचमा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले जोशीको सन्देशमा प्रष्ट निर्देशन दिइसकेका छैनन् । तर, प्रमाणपत्र नै नक्कली भएको सन्दर्भमा छानविन गर्ने र विवेकसम्मत निर्णयमा पुग्न सल्लाह भने दिएको समितिका एक सदस्यले बताए ।

यस सन्दर्भमा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी नेतृत्व र समितिका सदस्यहरुबीच समन्वय गरिरहेका छन् ।

सुनुवाई समितिका सदस्य तथा नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्रीको रुपमा भन्दा पनि दलको नेताको हैसियतमा ओलीसँग राय माग्दा विवेकसम्मत निर्णय गर्न सुझाव दिएको बताए । भट्टराईले सुनुवाई समिति बैठक एक/दुई दिन ढीलो हुँदैमा अन्यथा अर्थ लगाउन आवश्यक नरहेको बताए ।

स्रोतका अनुसार जोशीनिकट केही वकिल र सुभेच्छुकमार्फत उनलाई विवादमा पारेर अस्वीकृत हुनुभन्दा राजीनामा गर्न सन्देश पठाइएको छ ।

यद्दपि जोशीले भने आफ्नो अनुमोदनका लागि विभिन्न व्यक्ति र शक्ति परिचालन गरेका छन् । उनले शैक्षिक योग्यताको प्रमाणपत्रलाई अनावश्यक रुपमा विवादमा तानिएको गुनासोसमेत गरेका छन् ।

जोशीले पेश गरेको एसएलसीको प्रमाणपत्र र त्रिविले उपलब्ध गराएको शैक्षिक योग्यताको ‘प्रोग्रेस रिर्पोट’ मा त्रुटी देखिएका छन् । जोशीको शैक्षिक योग्यताको विवादास्पद प्रमाणपत्रको फोटोकपीसहित अनलाइनखबरले खुलासा गरेपछि समितिका सदस्यहरुले थप अध्ययन गर्नुपर्ने भन्दै शुक्रबारको बैठक आइतबारलाई सारिएको थियो । आइतबारसम्म जोशीले सक्कल प्रमाणपत्र पेश गर्न नसकेको समितिका एक सदस्यले बताए ।

जानाजान शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्न नहुने भन्दै सांसदहरुले नेतृत्वलाई उपसमिति बनाएर थप पुष्टि गर्ने बाटो खोल्न आग्रहसमेत गरेका छन् ।

समितिका एक सदस्यले भने- ‘नक्कली प्रमाणपत्र र उमेर ढाँटेका कारण यसअघिका प्रधानन्यायधीशलाई न्यापरिषद सचिवको पत्रबाट अवकाश दिइयो । अहिले संसदीय सुनुवाईकै क्रममा प्रमाणपत्र र नागरिकताको विवाद आएको देखीदेखि अनुमोदन गर्ने हो भने संसदीय सुनुवाईको नौटंकी बन्द गरिदिए हुन्छ ।’

यो पनि पढ्नुहोस् 

प्रधानन्यायाधीशको प्रमाण पत्रमा किन उठ्दैछ प्रश्न ?  

प्रधानन्यायाधीशबारे संसदीय समितिमा अलमल, पार्टीको मुख ताक्दै नेकपाका सांसद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment