Comments Add Comment

प्रदेश १ मा बलात्कारका घटनामा बृद्धि

बलात्कृत हुने अधिकांश किशोरी

१५ साउन, विराटनगर । प्रदेश १ मा बलात्कारका घटना बढेको तथ्यांकहरुले देखाएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका अनुसार पछिल्ला तीन वर्षको १ हजार २९ जना बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् ।

३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष (आ.व.) ०७४/०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

यो संख्याले प्रदेश १ अन्तर्गतका १४ जिल्लामा दैनिक १ भन्दा बढी बलात्कारको घटना हुने गरेको देखिन्छ ।

मोरङ जिल्लामा मात्र यो वर्ष १ सय ३ वटा बलात्कारको घटना भएका छन् ।

साविकको पुर्वाञ्चलअन्तर्गत १६ वटा जिल्ला कायम भएको आ.व. ०७३–०७४ मा ३ सय ५१ बलात्कारको घटना भएका छन भने ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आ.व. ०७४–०७५ मा कुल ३ सय ८४ बलात्कारको घटना भएकोमा सबैभन्दा बढी जेठमा ६१ घटना भएका छन् । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डआईजी) केदार रिजाल बलात्कार घटनामा उजुरी दिने क्रम बढेको बताउँछन् ।

उनले गाउँ घरमा हुने यस्ता जघन्य अपराधका घटना समाजमा मिलाउने कार्य अहिले शून्यमा आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment