Comments Add Comment

सरकारले निरन्तर दुःख दियोः विप्लव


१५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्ना पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई दुख दिएको भन्दै विरोध जनाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनले अहिलेको सरकारले नेता कार्यकर्तालाई निरन्तर धरपकड गर्ने, वेपत्ता पार्ने, झुट्टा मुद्दा लगाउने, घरघरमा पुर्जी टाँस्ने गरेको भन्दै विरोध जनाएको हो ।

आफ्नो पार्टीका पोलिट्ब्युरो सदस्यहरु पदम राई र ओम पुनसहित दर्जनौं नेता कार्यकर्तालाई झुटा मुद्दामा जेलमा राखिएको पनि विप्लवले उल्लेख गरेका छन् ।

साउन १० गते विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई नागढुङ्गाबाट पक्राउ गरी तीन दिन वेपत्ता पारेको पनि विप्लवले उल्लेख गरेका छन् ।

विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा सेललाई आफैले परिचालन गर्ने गरी तयार पारेको केन्द्रीय जाँच व्युरोमार्फत राजनीतिक प्रतिशोध साध्ने र सरकारको विरोध गर्नेलाई ठीक पार्ने कोशिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सरकारले संविधान विपरीत र विगतको सशस्त्र द्वन्द्वमा जस्तै आफ्ना नेता कार्यकर्तालाई दुख दिन थालेको पनि जनाएका छन् ।

पक्राउ परेका आफ्ना पार्टीका नेता/कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्दै विप्लवले अन्यथा पार्टी सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment