Comments Add Comment

विन्ध्यवासिनीको नयाँ आकर्षणः ७० लाखको शिवानन्द कुण्ड

मुख्यमन्त्री भन्छन्– यस्तै आकर्षणले प्रदेश समृद्ध बन्छ


१७ साउन, पोखरा । प्रदेशकै महत्त्वपूर्ण तीर्थस्थल मध्येको एक विन्ध्यवासिनी मन्दिरमा नयाँ आकर्षण थपिएको छ । मन्दिरको पार्कसँगै आकर्षण कुण्ड निर्माण भएको छ ।

व्यवसायी सुशील गोसलीले ७० लाख रुपैयाँमा मन्दिरको बाटिकासँगै बुबाको नाममा शिवानन्द कुण्ड निर्माण गरेका हुन् । पानीको फोहोरा, पञ्चधारा, फलैचासँगै आकर्षक रुपमा निर्माण गरिएको आशुतोष भगवान शिवस्वरुप शिवलिंगसहित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

बुबा शिवानन्दको पुण्यतिथिको अवसर पारी धार्मिक विकास समितिलाई कुण्ड हस्तान्तरण गरिएको व्यवसायी सुशीलले बताए । ‘विन्ध्यवासिनीमा लगानी गर्न पाउनुलाई हामीले सौभाग्य ठानेका छौं । यसले मन्दिरको थप आकर्षण थप्नेछ,’ व्यवसायी गोसलीले भने, ‘यो खासै ठूलो काम गरेको होइन, मान्छे बन्ने प्रयत्न गरेको हुँ । मान्छे बन्न सकेमात्रै सफल उद्यमी, व्यवसायी वा अरु थोक बन्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले थप आकर्षण बढाएको बताए । ‘हामीले विन्ध्यवासिनीलाई कसरी आकर्षक र प्रसार गर्न सकिन्छ भनेर कोसिस गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘परिसरमा आकर्षक पार्क, पानीको फोहोरालगायत भौतिक पूर्वाधारहरु निर्माण भइसकेका छन् ।’

समितिका सचिव तीर्थ श्रेष्ठले गोसलीजस्ता मनकारी दाताहरुकै कारणले मन्दिरको दायरा र महत्व फराकिलो भइरहेको बताए । ‘मन्दिर परिसरको फूल, रुखबिरुवा र पार्क आकर्षक बनेको छ । त्यसमा शिवानन्द कुण्ड थपिएको छ । मन्दिरलाई पनि कलात्मक बनाउँदै लगिराखेका छौं । एम्बुलेन्सदेखि ज्येष्ठ नागरिक मिलन केन्द्र चलाइराखेका छौं,’ सचिव श्रेष्ठले भने ।

धार्मिकस्थल प्रदेशको समृद्धको आधारः मुख्यमन्त्री

प्रदेशका धार्मिकस्थल सरकारको समृद्धिको आधारमध्ये पर्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश सरकार यस्ता धार्मिकस्थलको संरक्षण, प्रबद्र्धन र विकास गर्न प्रतिबद्ध रहेको गुरुङले बताएका हुन् ।

‘विन्ध्यवासिनीजस्ता महत्त्व बोकेका धार्मिकस्थलमा लगानी गर्ने सुशीलकमार गोसलीजस्ता दाताहरुलाई प्रदेश सरकारले नै सम्मान गर्नुपर्छ भनेर म आएको हुँ,’ शिवानन्द कुण्डको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशकै महत्त्वपूर्ण तीर्थस्थल विन्ध्यवासिनीको सौन्दर्यीकरणमा, संरक्षण र प्रबद्र्धनमा कटिबद्ध धार्मिक क्षेत्र विकास समितिलाई पनि धन्यवाद छ ।’

प्रदेशले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउँदै गुरुङले यस्ता धार्मिक क्षेत्रको विकासले नै त्यो लक्ष्य प्राप्त हुने बताए । भौतिक पूर्वाधार र अन्य संरचनाले मात्रै समृद्धि हासिल नहुने उनको भनाइ छ । समृद्धिका लागि मानवीयतासँग जोडिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment