Comments Add Comment

एक्लोपनको शिकार बन्दै अहिलेका बालबालिका

एक सानी बच्चालाई स्कुलको बसले घरको अघिल्तिर छाडिदिन्छ । आमाबुबाको निर्देशन अनुसार ढोका खोलेर उनी घरभित्र पस्छन् । घरमा सहयोगी वा अरु कोही हुन सक्छन् । तर, उनका साथीसंगी हुँदैनन् । भाईबहिनी हुँदैनन् । आमाबुबा पनि हुँदैनन् । दुबै अफिस जान्छन् । विहान आफुसँगै निस्किएका आमाबुबा साँझमा मात्र घर आइपुग्छन् । घर आएर पनि बुबा आफ्नै धुनमा रमाउनुहुन्छ । आमा भान्सको काममा । बच्चाले कोसँग खेल्ने ? कोसँग बोल्ने ? कोसँग रमाउने ?

आधुनिक समाजमा बच्चा एक्ला छन् । नितान्त एक्ला ।

साथी नहुनुको छटपटी

उनीहरुका लागि आमाबुबासँग समय छैन । दुबैले काम गर्नुपर्छ । जागिर खानुपर्छ । दिनभर व्यस्त हुनुपर्छ । आर्थिक सुरक्षा र भविष्यको चिन्ताले एउटा मात्र बच्चा जन्माएका छन् । उनीहरु अर्को बच्चा जन्माउन चाहँदैनन् । यस्तो अवस्थामा एकल बच्चाहरु एक्लोपनको शिकार बनिरहेका छन् ।

अहिले धेरै बच्चाको घर रित्तो छ । उनीहरुको साथी छैनन् । विद्यालयबाट घर र्फकदा रित्तो घरले स्वागत गर्छ । उनीसँग बोल्ने कोही छैनन्, खेल्ने कोही छैनन्, हाँसो ठट्टा गर्ने कोही छैनन्, नोकझोंक गर्ने कोही छैनन्, प्रतिस्पर्धा गर्ने कोही छैनन् ।

त्यही कारण उनीहरुको अनुहारमा उमंगको भाव छैन । निरास छन् । उदास छन् । शान्त छन् ।

पाएसम्म मोवाइलमा गेम खेल्छन् । भिडियो हेर्छन् । खेलौना खेल्छन् । त्यसपछि होमवर्क, विद्यालय, प्रोजेक्ट वर्क । यसरी एकनासले वित्ने दैनिकी उनीहरुलाई कति पट्यारलाग्दो हो ?

एक्लोपनको शिकार

एक अनुमान अनुसार चालिस प्रतिशत बच्चा कुनै न कुनै रुपमा एक्लै रहनुपर्ने अवस्था छ ।

एउटा चर्चित अंग्रेजी फिल्म छ, ‘होम अलोन’ । यस फिल्मले के दर्शाएको भने, जब बच्चा एक्लै घरमा बस्नुपर्ने अवस्था आउँछ, उनीहरुले अनेक परिस्थितीको सामना गर्नुपर्छ । भलै फिल्मले यसलाई मनोरञ्जनात्मक ढंगले पेश गरेको छ । सत्य चाहि के हो भने, जब बच्चा एक्लै घरमा बस्नुपर्ने हुन्छ, उनीहरु समस्याको घेराबन्दीमा पर्छन् ।

अष्ट्रृेलियामा ४ सय २ बच्चामाथि भएको एक अध्ययन अनुसार, जब विद्यालयबाट घर पुगेपछि उनीहरुको गतिविधिको बारेमा सोधीखोजी गरियो, तब के पाइयो भने १४ प्रतिशत बच्चा घरमा पुग्दा उनीहरु एक्लो हुन्छन् । रित्तो घरमा उनीहरु बस्नुपर्ने हुन्छ । एक चौथाई परिवारमा बच्चाको आफ्ना दाजुभाई वा दिदीवहिनी हुन्छन्, आमाबुबा हुँदैनन् ।

आफ्नो ख्याल आफै राख्नुपर्ने वाध्यता

अमेरिकामा ५ देखि १३ बर्ष उमेरका दुई करोड बच्चाले घरमा आफ्नो ख्याल आफैले राख्नुपर्ने वाध्यता छ ।

मनोवैज्ञानिकहरुका अनुसार यसरी बच्चाहरु एक्लै बस्नुपर्दा उनीहरुमा अनेक किसिमको छटपटी, निरासा हुन्छ । उनीहरुले असुरक्षा अनुभव गर्छन् । चिन्ता, तनाव आदिको कारण डिप्रेसनमा पर्न सक्छन् । यस्तो छटपटीबाट उम्कनका लागि उनीहरुले अनेक बाहना खोज्छन् । यस क्रममा कोही यौनजन्य विकारको लतमा फस्छन् भने कोही लागुऔषधको ।

असामाजिक हुने भय

घरमा एक्लै रहने बच्चाहरु प्राय बेखुस हुन्छन् । उनीहरुले तिरस्कृत अनुभव गर्छन् । जति जति हुर्कदै जान्छन्, अभिभावकसँग संवाद पनि हुन छाड्छ । घरमा एक्लै बस्ने बानी भएकाले विद्यालयमा अरु साथीसँग घुलमिल हुन सक्दैनन् । एकान्तमै बस्न अभ्यस्त हुन्छन् । यसले उनीहरुलाई असामाजिक बनाउँदै लान्छ ।

बच्चालाई घरमामा उचित ख्यालबिचार नराख्ने, मार्गदर्शन नदिने कारणले उनीहरु पथभ्रष्ट हुन सक्छन् । पारिवारिक परम्परा एवं संस्कारको विकास हुन पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment