बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

अमेरिका पलायन भएको होइन, आउने जाने गरेको हुँ

पुरस्कार संयोगको खेल हो, बिक्री प्रकाशनगृहको झेल

Suzuki
अनलाइनखबर


१९ साउन, काठमाडौं । गोविन्द गिरी प्रेरणा धेरै कृति लेख्ने स्रष्टामध्ये एक मानिन्छन् । गएको महिना ६० औं जन्मोत्सब मनाएका गिरीले २४ मौलिक कृति र ८ सम्पादित पुस्तक प्रकाशन गरेका छन् । अमेरिकामा १० वर्ष ‘विश्व परिक्रमा’ पत्रिका चलाएका गिरीले नयनराज पाण्डेको पहिलो पुस्तक ‘नाङ्गो मान्छेको डायरी’ प्रकाशन गरेर पुस्तक प्रकाशनको क्षेत्रमा पाण्डेलाई पदार्पण गराएका थिए ।

नेपालमा धेरै पुस्तक लेख्ने व्यक्तिमा शंकर कोइरालाको नाम आउँछ । उनले ६७ वर्षको उमेरमा ५१ वटा पुस्तक लेखेका थिए । भीमनिधि तिवारी, ध्रुवचन्द्र गौतम र कृष्ण धरावासी पनि धेरै लेख्नसक्ने व्यक्तिमा गनिन्छन् । तर, गोविन्द गिरी प्रेरणाको लेखन र प्रकाशनको गति हेर्ने हो भने उनी यी सबै स्रष्टालाई उछिन्ने सुरसारमा छन् ।

अत्यधिक लेखन गोविन्दको क्षमता पनि हो र कमजोरी पनि । यही सेरोफेरोमा हामीले उनीसँग साहित्यका विविध विषयमा कुराकानी गरेका छौं ।

तपाईं कवि, आख्यानकार, सम्पादक, निबन्धकार, अनुवादक वा साहित्यिक पत्रकारमध्ये के हो ?

मेरा ५ वटा कविता संग्रह प्रकाशित छन्, त्यसैले कवि हुँ । ६ वटा कथा संग्रह र ५ वटा उपन्यास प्रकाशित छन् । त्यसैले आख्यानकार हुँ । ३ वटा नियात्रा एउटा निबन्ध र एउटा हास्यव्यङ्ग्य संग्रहहरू प्रकाशित छ, त्यसैले निबन्धकार हुँ । अन्तरवार्ता संग्रह, समालोचना संग्रह पनि प्रकाशित छन् । ४ वटा साहित्यिक पत्रिकाको सम्पादन गरेको छु । साहित्यसम्बन्धी खोज अनुसन्धान गरेको पनि २५ वर्ष भइसक्यो । प्रकाशन गृह खोलेर केही कृति प्रकाशन गरेको छु । यसरी हेर्दा म सबैथोक हुँ ।

यसो गर्दा विधागत संकट पर्दैन ? यत्रो वर्ष साहित्यमा बिताइसक्दा पनि तपाईंको खास पहिचान खुल्न सकेको छैन । के भन्नुहुन्छ ?

एकजना अंग्रेजी लेखक छन्, मेल्कोम कावली । कावली साहित्यिक पत्रकार हुँदै साहित्यमा छिरे र सबै बिधामा यसरी कलम चलाए कि उनी कुन विधाको व्यक्ति हो भन्ने छुट्याउन गाह«ो भयो । उनलाई पनि कुनै पत्रकारले यसरी नै प्रश्न सोधेका थिए । त्यो बेला उनले भनेका थिए, ‘म आफूलाई कुनै बिधामा सीमित गर्दिनँ किनभने सबै विधा अक्षर मार्फत नै व्यक्त हुने हो । म आफूलाई म्यान अफ लेटर्स मान्छु ।’

जुन दिन उनको यो उत्तर पढेँ, त्यही दिन मैले पनि आफूलाई स्वतन्त्र छाडिदिएँ । सबै विधामा कलम चलाउने व्यक्तिको राम्रो पक्ष के हो भने उसले जब केही लेख्न बस्छ, उसले त्यो विषयलाई कुन बिधामा ढाल्ने भन्ने सोच्नै पर्दैन, विषय र प्रस्तुति अनुसार स्वतः त्यो बिधामा रूपान्तरण हुन थाल्छ । विधागत विकासका लागि यो निकै ठूलो कुरा हो ।

कुनै पनि विधामा उभिन नसक्नु एक प्रकारको कमजोरी होइन ?

नेपालमा चाहिँ कमजोरी मानिन्छ । जब कि विदेशमा यस्ता व्यक्तिको उच्च मूल्यांकन हुने गरेको छ । उदाहरणका लागि नेपालमा कसैले दुईवटा कविता संग्रह प्रकाशन गरेको छ भने ऊ कविका रूपमा प्रख्यात हुन्छ । तर सबै विधामा कलम चलाउनेको ३ वटा कविता संग्रह, ४ वटा उपन्यास र २ वटा निबन्ध प्रकाशन भएको छ भने उसलाई कवि मानिँदैन । चाहे दुई कविता संग्रह निकाल्ने कविको कविताभन्दा ३ वटा कविता संग्रह निकाल्ने बहुविधागत लेखकका कविता राम्रो किन नहोस् । यो अनौठो बिडम्बना हो । मेरो हकमा पनि त्यही भएको हो । आजभोलि धेरैजसो समय म अमेरिका बस्छु, त्यहाँका लेखक कविको जमातले जुन महत्व मलाई दिने गर्छ, त्यसले पनि मलाई नेपालमा बहुविधामा लेख्ने लेखकप्रति अन्याय भयो कि भन्ने लागिरहन्छ ।

कतिपयले के भन्छन् भने साहित्यकार प्रेरणाको जुन प्रतिभा छ, धेरै लेखेर ती खँदिला भएनन् । यसमा के भन्नुहुन्छ ?

मेरा सबै पुस्तक लोकप्रिय हुन सकेनन् । कसैका पनि हुँदैनन् । लेखक बाँच्ने भनेको एकाध कृतिले हो । कोही धेरै लेखेर कमजोर र थोरै लेखेर उत्कृष्ट हुन्छन् भन्ने मान्दिन, त्यस्तो हुँदैन । लेख्नुलाई म एक किसिमको खेती मान्छु । किसानले जस्तै म पनि खेती गर्छु, कुनै वर्ष राम्रो फसल लाग्छ, कुनै वर्ष लाग्दैन । नराम्रो फसल भयो भनेर जसरी किसानले खेती गर्न छाड्दैन, म पनि छाड्दिनँ ।

तपाईंका २५ औं कृति र झण्डै दर्जन सम्पादित कृतिहरूले कुनै पनि महत्वपूर्ण परस्कार प्राप्त गरेनन् । न त बिक्रीको रेकर्ड नै बनाए । कस्तो लाग्छ ?

पुरस्कार संयोगको खेल हो र पुस्तक बिक्रीको जुन हल्ला छ, त्यो प्रकाशन गृह र लेखकको झेल हो । यो मैले हचुवाको भरमा बोलेको होइन, कारणसहित प्रस्ट पार्न चाहन्छु ।

पहिले पुरस्कारको कुरा गरौं: कुनै एक वर्ष पाँचवटा गम्भीर पुस्तक प्रकाशन भए । तीमध्ये कुनै एकले कुनै महत्वपूर्ण पुरस्कार प्राप्त गर्छ । चारवटाले प्राप्त गर्न सक्तैनन् । यसको अर्थ ती चारवटा कृति कमजोर भन्ने होइन । तर अर्को वर्ष कुनै पनि गतिला पुस्तक निस्केनन् । ती निर्गतिलामध्ये एउटा अलि राम्रो पुस्तकलाई पुरस्कृत गर्नुपर्छ । त्यो बाध्यता हो । यसको अर्थ, अघिल्लो वर्षका चारवटा राम्रा पुस्तकभन्दा यो वर्ष पुरस्कार प्राप्त कृति उत्कृष्ट होइन । यही कारण कुनै कृतिले पुरस्कार पाउनु पुस्तक राम्रो भएका कारण होइन, संयोग मिलेर हो ।

अनि बिक्रीको कुरा नि ?

जुन २० औं हजार पुस्तक बिक्री भएको कुरा गरिन्छ, त्यो लेखक र प्रकाशक मिलेर चलाएको हल्ला हो । त्यो मार्केटिङ स्ट्राटेजी पनि हो । केही वर्ष यता पाठक बढेको कुरा सत्य हो तर राम्रा भनिएका लेखकका कृति पनि ३ हजारदेखि ५ हजारसम्म मात्र बिक्री हुने हुन् । कुनै लेखकको पुस्तक ५ हजार बिक्री हुन्छन् भने त्यसलाई बेस्टसेलर मान्दा हुन्छ । मेरो अनुभवमा आज पनि अधिकांश पुस्तकहरू ५ सयदेखि एक हजार प्रति छापिन्छन् र धेरै पुस्तकले दोस्रो संस्करणको मुख देख्न पाउँदैनन् । यो कुरा साहित्यका विषयमा लेख्ने पत्रकारले बुझ्नुपर्छ । मेरा धेरैजसो पुस्तकहरू वर्षौंपछि मात्र दोस्रो संस्करणमा गएका छन् । केहीले मात्र रोयल्टी पाउने गरेका छन् । धेरै प्रकाशन र लेखकसँग सोधेपछि र आफ्नै अनुभवले पनि यो अनुभव सेयर गरेको हुँ ।

एउटा व्यक्ति कसरी लेखक हुनसक्छ ? भन्नुको अर्थ लेखक हुनका लागि प्रतिभा चाहिन्छ कि इच्छा भए हुने रहेछ । तपाईं आफूलाई हेर्दा के पाउनुहुन्छ ?

कुनै पनि क्षेत्रमा सफल हुन त्यो क्षेत्रमा लगातार लागिपर्नुपर्छ । कुनै क्षेत्रमा सफल हुन त्यस क्षेत्रको भोक, त्यसका लागि त्याग र समर्पण चाहिन्छ । मलाई याद छ, म हेर्टौडाको भुटनदेवी हाइस्कुल पढ्दा प्रत्येक शुक्रवार कविता वा त्यस्तै सिर्जनशील प्रतियोगिता हुन्थ्यो । प्रथम हुनेहरूले वर्षको अन्त्यमा पुरस्कार पाउँथे । वर्षभरिको पुरस्कार एकै पटक पाउने लोभमा उनीहरू मेहेनत पनि गरिरहन्थे । मैले एकपटक मात्र एउटा कविता बाचन गरेको थिएँ तैपनि त्यो पुरस्कृत भएन । आज प्रथम हुने ती स्कुले साथीहरू साहित्यमा छैनन् । किनभने उनीहरूले साहित्यलाई निरन्तरता दिएनन् । मैले भने यसैमा जीवन लगाइदिएँ । मैले साहित्यमा जेजस्तो सफलता पाएको छु, प्रतिभाका कारण भन्दा पनि निरन्तरता र यसको भोक भएका कारण हो भन्ने लाग्छ ।

कुन बेलादेखि यो भोक लाग्यो ?

स्कुल पढ्दा मेरो जेठो दाजु प्रहरी जागीरे हुनुहुन्थ्यो । उहाँ प्रत्येक पल्ट घर आउँदापुस्तक बोकेर आउनु हुन्थ्यो र फर्कदा लैजानुहुन्थ्यो । संयोगबस एकपटक लीलाध्वज थापाको ‘मन’ उपन्यास घरमै छाड्नु भयो । त्यो पुस्तक सुरुमा रहरले पढेँ । त्यसले यति मन छोयो, त्यसलाई फुर्सद हुने वित्तिकै पटक पटक पढ्न थालेँ । उपन्यासका पात्रमध्ये मुख्य दुई दिदी–बहिनीको कथाले मलाई यति धेरै छोयो कि पुस्तक पढ्नुपर्छ भन्ने लाग्यो । त्यसपछि हेटौंडाको एउटा पुस्तक पसलमा भएका प्रकाश कोविद, सुवास घिसिङहरूका सबै उपन्यास पढ्न थालेँ । यो बेला दैनिक एउटाका दरले पुस्तक पढ्थेँ । काठमाडौं आएपछि मीनभवन कलेजमा भर्ना भएँ । त्यहाँका पुस्तकालयमा भएका सबै साहित्यिक पुस्तक पढेँ । त्यो बेला म मात्रै यस्तो विद्यार्थी थिएँ, जसले पुस्तकालयमा भएका सबै पुस्तक पढेको थियो । यही पढाइले नै मलाई लेख्नुपर्छ भन्ने बनायो ।

साहित्यमा आएको मुख्य मोड कुन हो जस्तो लाग्छ ?

कलेज पढ्न थालेपछि मैले लेख्न थालेको हुँ । त्यो बेला नयाँ सन्देश पत्रिकामा कुनै रचना छापिनु महत्वपूर्ण कुरा थियो । मैले दर्जनौं कथा लेखेर त्यहाँ पठाएँ तर कहिल्यै प्रकाशित भएन । निरास भएको अवस्थामा ०३६ सालमा पञ्चायत विरुद्ध आन्दोलन भयो । नेपाली साहित्यभित्र पनि यो आन्दोलनले छायो र पहिलो पटक स्रष्टाहरूले एक महिना लामो ‘सडक कविता क्रान्ति’ को उद्घोष गरे । यसमा डेढ सय कवि लेखकहरू भेला भएर सडकमा राजनीतिक बेथितिका विरुद्ध रचना वाचन गर्थे । नेपाली साहित्यको इतिहासमा यति धेरै स्रष्टाले यति लामो समयसम्म आन्दोलन गरेको पहिलो पटक थियो । यही आन्दोलनले स्रष्टाहरूलाई एकै ठाउँमा ल्याइदियो । यही आन्दोलनमा कविता वाचन गरेर म पनि नेपाली साहित्यमा स्थापित भएको हुँ ।

पहिलेको साहित्यिक वातावरण र आजको साहित्यिक व्यक्तित्वबीच के भिन्नता देख्नुहुन्छ ?

पहिलेका स्रष्टामा पुस्तान्तरको भावना थिएन । न त लेखक साहित्यकारलाई आजको जस्तो राजनीतिले ग्रस्त बनाएको थियो । लेखक–कवि भन्ने बित्तिकै एकै जातका मानिन्थे । केदारमान ब्यथित बेलाबेलामा सबै लेखक–कविलाई बोलाएर घरमा दिनभरि खानपिनसहित साहित्यक कार्यक्रम गर्नुहुन्थ्यो । उहाँको यो भेटघाटलाई धेरै लेखक–कविले आफ्नो गच्छेअनुसार निरन्तरता दिए । एक अर्काको प्रतिभालाई कदर गर्ने, सहयोग गर्ने चलन स्थापित जस्तै थियो । आज त्यो म देख्दिन । प्रतिस्पर्धाको नाममा आफू राम्रो लेख्न छाडेर अरूको नराम्रो देखाउने चलन छ । यो हामीले गुमाएको कुरा हो ।

यही कारण अमेरिका पलायन हुनुभएको हो ?

पलायन भएको होइन, आउने जाने गरेको हुँ । पलायन भएको भए नेपाली साहित्यका लागि निरन्तरता पनि दिन्नथिएँ होला । नेपाल बसाइ यति लामो पनि हुँदैनथ्यो होला । सुरुमा कस्तो अवस्था भयो भने साहित्यमा सबैथोक बिर्सेर यसरी लागिएछ, घर परिवार सबै बिर्सेछु । धेरैपछि मात्रै झल्लाँस भएँ । साहित्यमा लागेर परिवारलाई सुख दिन सकिन भन्ने लागेर अमेरिका गएको थिएँ । नभन्दै ११ महिना साताको ९० घन्टा काम गरेर काठमाडौंमा एउटा घर किन्न सफल भएँ । अहिले भने छोरा उतै भएका कारणले यताउता गरिरहेको हुँ । उता बस्दा पनि म नेपाली अक्षरसँगै हुन्छु । यता हुँदा पनि साहित्यिक गतिविधिमा संलग्न भइरहन्छु ।

नेपालीहरू देशबाहिर हुँदा नेपालका लागि विभिन्न किसिमका काम गरिरहन्छन्, किन यसो भएको होला ?

खासमा विदेश गएपछि नै आफ्नो भाषा, आफ्नो संस्कृतिको महत्व थाहा हुन्छ । तिर्खाएको मानिसलाई पानी नपाउँदा नै पानीको महत्व भएजस्तै । यही कारण कसैले सामाजिक कामका लागि आफूले कमाएको पैसा खर्च गरिरहेका हुन्छन् । हामीजस्ता लेखकहरू विदेशमा बसेर पनि अक्षरसँग नाता जोडिरहेका हुन्छौं । मैले १० वर्ष ‘विश्व परिक्रमा’पत्रिका चलाएर अमेरिकाका ४० राज्यमा बसेका नेपालीलाई अक्षरसँगको नाता जोड्न मद्दत गरेँ । दुःख गरेको पैसाले पत्रिका निकाल्नुको कारण नै नेपाली अक्षरसँगको नाता नटुटोस् भनेर हो ।

अहिले अनलाइनका कारण जहाँ भए पनि नेपाली अक्षरसँग नाता गाँस्न पाइने अवस्था आएको देखेर मात्र पत्रिका बन्द गरेको हुँ । विदेश बस्ने सबैले यसरी नै नेपालसँग जोडिने कुनै न कुनै काम गरिरहेका हुन्छन् । यस्ता व्यक्ति पूजा गर्न लायक छन् भन्ने लाग्छ । किनभने उनीहरूले आफ्नो रगतपसिना बगाएको पैसाले नेपाल र नेपाली समाजका लागि केही गर्ने प्रयास गरिरहेका छन् ।

अब ६० वर्ष लाग्नुभयो । पहिले जस्तो धेरैतिर कुद्न पनि सकिदैन होला । के गर्नुहुन्छ ?

हो, पहिले अक्षर र स्रष्टाका लागि भनेर जे भेटियो, त्यही काम गरियो । अब भने लेखनमै केन्द्रित गर्छु । अब मेरो काम लेख्ने, लेख्ने र लेखिरहने हो ।

यसै पनि धेरै पुस्तक लेख्ने लेखकमध्ये पर्नुहुन्छ । सबैभन्दा बढी पुस्तक लेखकको रेकर्ड बनाउन लाग्नुभएको हो ?

३५ वर्षे साहित्यिक जीवनमा मैले यति धेरै सामग्री संकलन गरेको छु, अब जीवनभर त्यसले लेख्न पुग्छ । उमेरमा मेहनेत गरेका कारण यी कुरा जुटेका हुन् । सबैभन्दा धेरै पुस्तक निकाल्ने योजना त होइन, तर लेखिएका सबै पुस्तक प्रकाशन हुँदा त्यो अवसर जुर्नसक्छ ।

तपाईंको ३२ औं कृति ‘लिभिङ टुगेदर’ को विमोचन हुँदै छ । तपाईंजस्तो गम्भीर साहित्यकारले किन यौन र प्रेमसम्बन्धी पुस्तक लेख्नुभएको ?

पहिलो कुरा, प्रेम र यौन विषय साधारण हुन् भन्ने कुरा म मान्दिन । यसलाई राम्रोसँग प्रस्तुत गर्नु ठूलो चुनौतीको कुरा हो । त्यो चुनौती मोल्न खोजेको हुँ । लेखक भएपछि सबै खालका पाठकका लागि कृति लेख्नुपर्छ । यसअघि नलेखेका कारण यो पटक युवा पुस्ताको विषय रोजेँ । र, लिभिङ टुगेदर आजको यथार्थ पनि हो । यो पुस्तकमार्फत म युवा पुस्तामा छिर्न चाहन्छु । नेपाली साहित्यका खास पाठक पनि युवा नै हुन् भन्ने कुरा महसुस गरेर नै यो कृति लेखेको हुँ ।

२०७५ साउन १९ गते २०:२६ मा प्रकाशित (२०७५ साउन २० गते १३:२६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • bibek kunwar लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १३:५१

    America palayan ko matlab ekpatak america gayepachi jindagibhar utai matra basnu parne ani nepal kahile nafarkane ho ra? Tesobhaye ta nepal ma janmeka koi pani bidesh palayan bhaka chainan.

    5
    7
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this