Comments Add Comment

गैंडाको प्राकृतिक मृत्यु पनि अस्वाभाविक

२० साउन, चितवन । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । तर, यो तथ्यांक निकुञ्जले अपेक्षा गरेको भन्दा ज्यादै धेरै हो ।

यतिका संख्यामा गैंडा मर्नु कारण प्राकृतिक देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाएका छन् । ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई पनि अनौठो लागेको छ,’ प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘यसको अनुसन्धान राष्ट्रिय निकुञ्ज विभागले गरिरहेको छ प्रतिवेदन सार्वजनिक भएको छैन । ‘

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैंडा, बच्चा पाउन नसकेरदेखि जुँधेरसम्म मर्ने गरेका छन् । गएको वर्ष साउन २८ र २९ गते आएको बाढीले बगाएर समेत गैंडा मरे । बुढो भएर मर्ने संख्या त छँदैछ । गैंडाको औसत आयु ४० वर्षको हुन्छ ।

२०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करले गैंडा मार्न भने सकेका छैनन् । तस्करले गैंडा मार्ने क्रम रोकिएपनि प्राकृतिक कारणले भने गैंडा मर्ने क्रम बढेको देखिन्छ । यसले संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । गैंडाको संख्या थपिँदै जाँदा वासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्नसक्ने हुँदा समयमै सजगता अपनाउन अध्ययन थालिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको बताए । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैंडा मर्ने गरेका छन् ।

गैंडाको वार्षिक वृद्धिदर पाँच प्रतिशत छ । केही वर्षयता चितवनसहितका निकुञ्जमा चोरी शिकार झन्डै झण्डैं नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ । सिमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा बर्सेनी गैंडाको अप्राकृतिक मृत्युदर पनि बढिरहेको छ ।  पानीका घोल नहुँदा, ओहोरदोहोर गर्ने बाटो सहज नहुँदा पनि समस्या हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

कहिले कति मरे गैंडा ?

प्राकृतिक कारणबाट गैंडाको मृत्यु भएको संख्या २६ अहिलेसम्मकै ठूलो हो । गत वर्ष मृत्यु भएका गैंडामध्ये सबैभन्दा बढी बुढो भएर कालगतिले मरेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउन नसकेर १ र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भयो । त्यसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अनलाइनखबरलाई जानकारी दिए ।

चितवन राष्ट्रिय आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेका थिए । त्यो मध्ये एउटा गैंडा तस्करले मारेका थिए ।

निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन् । सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए ।

चोरी शिकारीले गैंडा नमारेको वर्ष प्राकृतिक मृत्यु बढी !

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चोरी शिकारीबाट गैंडा नमारिएको वर्ष प्राकृतिक कारणबाट गैंडाको मृत्यु बढी हुने गरेको देखिएको छ । ‘जुन वर्ष चोरी शिकारीका कारण बढी गैंडा मरेको देखिन्छ त्यो वर्ष प्राकृतिक मृत्युमा कमी देखिएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘पछिल्ला वर्षमा प्राकृतिक मृत्यु बढी देखिनुको कारण यो पनि हुन सक्छ ।’

तस्करहरुले उमेर पुगेका र बुढा भएका गैंडाहरुलाई नै बढी मार्ने गर्दछन् । बुढा भएका गैंडा भाग्न पनि नसक्ने र खाग पनि राम्रो हुने भएकाले तस्करहरुले यिनै गैंडालाई निशाना बनाउने गरेका छन् । निकुञ्जका प्रमुख ढकालका अनुसार तस्करहरुले गैंडा मार्न नपाएपछि मृत्यु प्राकृतिक कारण बनेको छ ।

विभागले थाल्यो अनुसन्धान

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैंडा छन् । गैंँडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले अनुसन्धान थालेको छ । प्राकृतिक कारणबाट गैंँडा मर्ने क्रम बढेसँगै त्यसको तथ्य पत्ता लगाउन अध्ययन शुरु गरिएको हो ।

विभागले अध्ययनका लागि पर्यावरणविद् लक्ष्मण पौडेलको संयोजकत्वमा ६ जनाको समिति गठन गरेको छ ।  समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, जुलोजिकल सोसाइटी अफ लण्डनका डा. भगवान दाहाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा र निकुञ्जका डा. कमल गैरे सदस्य छन् ।

टोलीले निकुञ्जमा मरेका गैँंडाको तथ्यांक, यसपछि गरिएका परीक्षण प्रतिवेदन, घाँसे मैदान, बासस्थान, पानीका स्रोतलगायतबारे जानकारी लिएको छ । यसको प्रतिवेदन भने सार्वजनिक भैसकेको छैन । मरेका गैंडाको पोष्टमार्टम रिपोर्ट, उमेर, लोकेसन लगायतका बिषयलाई अनुसन्धानमा समेटिएको छ ।

मृत्यु भएका गैँडाका नमूनाको सामान्य परीक्षण नेपालमै हुने तर थप परीक्षण गर्नुपरे बाहिर पठाइने गरेको छ । पानीका स्रोत घट्दै जानु, माइकेनिया लगायतका अतिक्रमित झारका कारण घाँसे मैदान साँघुरिँदै जानु, रोगव्याधीका कारण गैंडा मरेको पाइन्छ । गत वर्ष मरेका गैँडामध्ये चार वटामा रोग देखिएको तर रोगको बारेमा विस्तृत जानकारी आएको छैन । गत वर्ष बाढीका कारण गैंडा एकै ठाउँमा केन्दि्रत हुँदा भाले गैंडा जुँधेरसमेत मरेका छन् ।

गैंडा जोगाउन पाँच वर्षे कार्ययोजना

बासस्थान सुधार गर्दै गैंडाको संरक्षणका लागि सरकारले गत वर्ष पाँच वर्षे कार्ययोजना ल्याएको छ । झन्डै ५६ करोड रकम खर्चिने गरी सरकारले ल्याएको कार्यक्रम सन् २०२१ सम्म चल्नेछ । कार्ययोजनामा गैंडा संरक्षणमा देखिएका मुख्य चुनौती सामना गर्ने लक्ष्य समेटिएका छन् ।

कार्ययोजनामा निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा गैंडाका लागि बासस्थान क्षेत्र बढाउने, घाँसे मैदान तयार गर्ने, पानीका घोल तयार गर्ने, मिचाहा प्रजातिका बिरुवा रोक्ने र अतिक्रमण हटाएर बासस्थान बढाउनेलगायतका कार्यक्रम छन् । ‘प्रायः कार्यक्रममा हामीले पहिल्यैबाट गर्दै आएका विषयहरु नै समेटिएका छन् तिनलाई एकीकृत गर्ने कुरा नै कार्ययोजनामा छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने ।

मिचाहा प्रजातिको बिरुवाका कारण चितवन निकुञ्जको घाँसे मैदान, आहार र घोल क्षेत्र घट्दै गएको छ । पानी घोलहरु हिउँदमा सुक्दै गएका छन् । सोही कारण गैंडाहरु सीमित क्षेत्रमा खुम्चिन बाध्य भएका छन् ।

निकुञ्जको तल्लो तटीय क्षेत्रमा भारतीय सीमा क्षेत्रमा गैंडाहरु सर्न थालेका छन् । कार्ययोजनामा मानव-गैंडा द्वन्द्व घटाउने कार्यक्रमलाई पनि समेटिएको छ । जनताको बाली जोगाउन विद्युतीय बार लगाउने, स्थानीयलाई रोजगारीका वैकल्पिक स्रोत पहिचान गरी सहयोग गर्ने, सरकारबाट दिइने क्षतिपूर्ति र राहतलाई प्रभावकारी बनाउने लगायतका कार्यक्रम छन् ।

गैंडाको वैज्ञानिक अध्ययन-अनुसन्धान र अनुगमनलाई प्राथमिकतामा राखिएको छ । कार्ययोजनामा गैंडाको संख्या वृद्धि गर्न तथा वैज्ञानिक व्यवस्थापन गर्न कम संख्या भएका क्षेत्रमा स्थानान्तरण गर्दै लैजाने र बढी संख्या भएकाबाट अन्यत्र स्थानान्तरण गर्ने कार्यक्रमसमेत छ । भाले-पोथीको अनुपात मिलाउन सक्दा त्यसले संख्यामा गुणात्मक प्रभाव पार्ने र जुधेर मर्ने समस्यामा समेत कमि आउने अपेक्षा कार्य योजनामा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment