Comments Add Comment

न्याम्सको उपकुलपति र रजिष्टारमा कसको लबिङ बलियो ?

२० साउन,काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच छलफल नहुँदै उपकुलपतिका दाबेदारहरुले लबिङ थालेका छन् ।

हालका उपकुलपति डा.गणेश गुरुङ चार दिनपछि साउन २४ बाट ४ वर्षे कार्यकाल पूरा गरि घर जाँदैछन् ।

प्रतिष्ठान ऐन अनूसार प्रतिष्ठान सहकुलपति एव स्वास्थ्य मन्त्रीको सिफारिसमा कुलपति एव प्रधानमन्त्रीले न्याम्सको उपकुलपति नियुक्त गर्नेछन् । उपकुलपतिसँगै रजिष्टारको पनि नियुक्ति हुने भएकाले नेकपा र संघीय समाजवादी फोरमले एक/एक पद लिने सम्भावना छ ।

न्याम्सको उपकुलपतिमा डा. भगवान कोइरालाको नामसमेत चर्चामा छ । यद्यपी कोइराला आफैं भने न्याम्पसको उपकुलपतिका लागि लबिङमा छैनन् । उपकुलपतिका लागि डा. गेहनाथ बराल, डा. श्रीकृष्ण गिरी, डा. सीताराम चौधरी, डीएन शाह, श्रवणकुमार चौधरी, अनिल मिश्र, जागेश्वर गौतम लगायतको लबिङ छ ।

चार दिनपछि अवकाश हुन लागेका गुरुङ पनि दोस्रो कार्यकालका लागि प्रयास गरिरहेका छन् । तर, उनीमाथि ट्रमा सेन्टरको भ्रष्टाचार र कर्मचारी भर्तिदेखि सिटीस्क्यान मेसिन खरिदसम्मका प्रकरणमा सतर्कता केन्द्रले छानविन गरिरहेकाले उनको लबिङ बलियो बन्न सकेको छैन ।

डा. श्री कृष्ण गिरी हाडजोर्नीका बरिष्ठ डाक्टर हुन् । उनी न्याम्सका पूर्व रजिस्टार हुदै स्वास्थ्य मन्त्रालय को चिकित्सा महाशाखा प्रमुख भइसकेका छन् । उनी नेकपा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

उपेन्द्र यादवसँग लबिङ गर्नेमा डा.सीतारामा चौधरी, पूर्व स्वास्थ्य सचिव डा.प्रविण मिश्र, स्वास्थ्य सचिव पुष्पा चौधरीका पति डा.श्रवणकुमार चौधरी लगायत छन् ।

डा.डीएन शाह अर्का बलिया दाबेदार हुन् । डा.गणेश गुरुङको विरुद्धमा नेकपा समर्थक कर्मचारी र डाक्टरलेनै पार्टीमा उजुरी गरेको र अख्तियार तथा सतर्कता केन्द्रले छानविन थालेकाले उनको पक्षमा कोही उभिन सकेका छैनन् ।

उपकुलपतिमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसअनुसार नियुक्त भएमा रजिष्टार नेकपाबाट हुनेछन् । न्याम्सको रजिष्टारमा डा. दिलिप शर्मा एकल दाबेदार देखिएका छन् । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीका निजी चिकित्सक समेत रहेका शर्मा मेडिकल काउन्सिलको पनि रजिष्टार भइसकेका योग्य चिकित्सक हुन् ।

उनलाई वीरका विभागीय प्रमुख,युनिट चीफ र अधिकांश कर्माचारी संगठनको साथ रहेकाले रजिष्टारमा उनी नियुक्त हुने स्रोतले जनाएको छ । उपकुलपतिका सन्दर्भमा भने ओली र यादवबीच सहमति हुन बाँकी छ । सम्भवतःसीताराम चौधरी र डिएन शाहमध्ये एक उपकुलपति बन्न सक्नेछन् ।

वीरको निर्देशकमा भने डा.भुपेन्द्र बस्नेत असोजसम्म अवधि बाँकी छ भने उनलाईनै निरन्तरता दिने आशय यादवले व्यक्त गरेका छन् । उनको पालामा वीरमा उल्लेख्य सुधार भएकाले नचलाउने सम्भावना छ ।

यो पनि पढ्नुस्

ट्रमा सेन्टरलाई नर्सिङ होम भन्दा महँगो बनाइएको गुनासो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment