Comments Add Comment

‘रामकहानी भर्सेस रोजी’: निरकको ‘इगो’ कि प्रदिपको ‘मास्टर माइन्ड’ ?


नेपाली चलचित्र क्षेत्र गुनले चल्दैन । कसले कसलाई कतिबेला कहाँ केका लागि गुन लगाएको थियो भन्ने मुल्यांकन कसैले पनि गर्दैन । यसैले, आज फलानो निर्देशक, निर्माता, नायक, नायिका मेरो पक्षमा छन् भनेर कोही पनि मख्ख नपरे हुन्छ । पासा चलचित्र क्षेत्रमा यसरी पल्टिन्छ कि, आजको साथी भोलीको दुश्मन हुन कुनै समय लाग्दैन ।

यी कुरा गरिरहँदा भदौ २२ गते रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’सँग भिड्नलाई तयार भएको चलचित्र ‘रोजी’को कुरा गर्न आवश्यक छ । हुनत, एउटै मितिमा २ चलचित्र आउनु हुँदैन भन्ने तर्क अब गर्नु आवश्यक छैन । तर, ‘रामकहानी र रोजी’को भिडन्तको कथा केहि फरक छ ।

सुदर्शनको फिल्मबाट स्टार बनेका प्रदिप
चलचित्र ‘स्केप’ आफैले निर्माण र अभिनय गर्दा प्रदिप खड्काको नाम खासै चलेको थिएन । निर्देशक दिनेश डीसीले उनलाई चलचित्रमा लिएर काम गर्ने बताएपनि प्रदिप अलमलमा थिए । यसैले अष्ट्रेलिया जान तयार भएका प्रदिपले रेडियोमा ‘प्रेमगीत’का लागि नायक खोजेको थाहा पाए । निर्देशक सुदर्शन थापासँगको भेट नै उनको करिअरको कोशेढुंगा बन्न पुग्यो । यो चलचित्रबाट प्रदिप स्टार बने ।

आज उनी नेपालकै महंगो नायकमा गनिन्छन् । यसैले, सुदर्शन प्रदिपको करिअर परिवर्तन गरिदिने निर्देशक हुन् । उनै, सुदर्शनको चलचित्रसँग प्रदिपको ‘रोजी’ भिड्दैछ । हुनत, ‘रोजी’ प्रदिपको होम प्रोडक्शन चलचित्र होइन । तर, चलचित्रको छायांकन सुरु भएको २-३ महिनामै सुदर्शनको चलचित्रसँग जुधाउने तयारी आफैमा अर्थपूर्ण छ ।

पूजा भर्सेस प्रदिप
यो भिडन्तको पछाडि नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको स्टारडमको लडाई पनि एउटा कारण हो । किनकी, पूजा र प्रदिप एउटै चलचित्रबाट स्टार बनेका थिए । यसपछि, ‘प्रेमगीत’को क्रेडिट पूजा र प्रदिप दुबैले लिन खोजेको देखिन्छ । पूजाविना प्रदिप पनि चलेका छन् र प्रदिपविना पूजा पनि चलेकी छिन् । यो भिडन्तले पूजा र प्रदिपमा को भन्दा को कम भन्ने देखाउनेछ ।

सुदर्शनसँग निरकको ‘इगो’
सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ र निरक पौडेलले निर्देशन गरेको चलचित्र ‘कुसुमे रुमाल २’ एकैदिनमा रिलिज भएका थिए । भाद्र २६ गतेको त्यो दिन निरकले अझै पनि विर्सिएका छैनन् होला । सुदर्शन र निरक दुबैको डेब्यू चलचित्र बक्स अफिसमा भिडेका थिए । जहाँ, सुदर्शनले बाजी मारे र निरक पछारिए ।

चलचित्र सम्बन्धी नै अध्ययन गरेर नेपाल आएका निरक त्यो भिडन्तमा आफू असफल हुनुको कारण सुदर्शनलाई मान्छन् । किनकी, सुदर्शनले आफ्नो चलचित्र ‘कुसुमे रुमाल २’सँग नजुधाएको भए आफ्नो करिअर अर्को मोडमा पुग्थ्यो भन्ने सोच निरकको हुनसक्छ । सायद, त्यो दिनको ‘इगो’लाई निरक आज बदला लिने अवस्थामा छन् । किनकी, उनको चलचित्रको मुख्य हतियार सुदर्शनले नै तिखारेका यूवास्टार प्रदिप खड्का हुन् ।

प्रदिपको ‘मास्टरमाइन्ड’
चलचित्रको भिडन्त हुनुमा नायक प्रदिप खड्काको पनि हात छ भन्ने चर्चा चलेको छ । हुनत, प्रदिपले चलचित्रको नायिका छनोटदेखि प्रदर्शन मितिमा आफूले कुनै हस्तक्षेप नगर्ने बताउँदै आएका छन् । तर, २-३ महिना अगाडि छायांकन सुरु गरिएको चलचित्रलाई यति चाडै रिलिज गर्ने हतारो किन गरियो भन्ने प्रश्न उठेको छ । कतै, सुदर्शन र पूजासँग जुध्ने ‘मास्टर माइन्ड’ प्रदिपको त होइन ?

‘प्रेमगीत’ रिलिज भएपछि सुदर्शन र पूजासँग प्रदिपको सम्बन्ध विगि्रएको हो । हुनत, केही समय अगाडि दुबै जनासँग प्रदिपको हातेमालो त भयो । तर, के त्यो सम्बन्ध देखावटी मात्र थियो त ? घटनाले यस्तै बताउँदैछ ।

नतिजाले ठूलो अर्थ राख्छ
आफ्नो हरेक चलचित्रमा पूजालाई नै नायिका बनाएका सुदर्शन थापालाई लभ स्टोरी चलचित्रको निर्देशनमा सबैभन्दा माथिल्लो विन्दुमा राखिन्छ । सायद, पूजा र सुदर्शनको आ आफ्नो स्टारडमलाई उछिनेर म पनि कम छैन भन्ने देखाउन प्रदिप चाहन्छन् । यो बक्स अफिस भिडन्तको नजिताले चलचित्र वृत्तमा ठूलो अर्थ राख्नेछ । यसले, प्रदिप, सुदर्शन र पूजाको करिअरमा लामो समयसम्म प्रभाव पार्नेछ ।

प्रदिप र पूजा एउटै चलचित्रमा देखिएलान् भन्ने दर्शकको आशामा यो भिडन्तले तुषारापात त गरेको छ । तर, बाजी मार्नेले छात्ती चौडा बनाएर २-४ बर्ष चलचित्र क्षेत्रमा प्रभुत्व जमाउने मौका भने राम्रैसँग पाउनेछन् । चाहे त्यो, ‘रोजी’का निरक र प्रदिप हुन् या ‘रामकहानी’का सुदर्शन र पूजा नै किन नहुन् । तर, एउटा कुरा पक्का के हो भने ‘तलाई देखाए, खुच्चिम’ भन्ने सोचले चलचित्र क्षेत्र उभो भने लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment