Comments Add Comment

साइकलले बनाएको मित्रता श्रीलंकामा टुट्यो

अजय र नारायणगोपालः एकले जित्दा अर्कोले हार्दैन थिए

२३ साउन, काठमाडौं । साइकल चढेरै शिवपुरी, गोदावरीको हरियालीमा रमाए । ककनी, नगरकोटतिर पनि उक्लिए । कहिले दक्षिणकाली दामनसम्म फैलिए, त कहिले अन्नपूर्ण सर्किटका उकालाहरु सुस्ताउँदै चढे ।

साइकलमै घिलिङ, लोमान्थाङ, सुस्याङका अप्ठ्यारा पहाडहरु छिचोलेका उनीहरुसँग गफिँदा नपुग्नेहरुका पनि रौँ ठाडा हुन्थे । पैदल जान पनि धौ हुने नाकै जोतिएला जस्ता उकालाहरुमा पाइडल पेल्दै चढ्नुको चुनौतीसँगै रोमाञ्चकता उनीहरुले सँगसँगै अनुभव गरेका हुन् ।

सँगसँगै अनुभव गरेका हुन्, साइकलिस्ट हुनुको दुःख, खेलाडी हुनुको गर्व । दिनभरको थकान, बेलुकीको नाचगान ।

३० वर्षका साइकलिस्ट अजय पण्डित क्षेत्री र ३३ वर्षका नारायणगोपाल महर्जन एक अर्थमा साइकलमै हुर्किएका हुन् । साइकलले नै उनीहरुलाई देश देखायो । विदेश घुमायो । मान्छे चिनायो । अघि बढिरहने भरोसा दिलायो ।

साइकलमा तय भएका भन्दा कठीन लाग्ने जीवनका उकालोमा भेटिने समस्याहरुमा पनि सँगै जुधेका हुन् । सँगै बढेका हुन् । सँगै देखेका हुन् सपना । कति पूरा भए त कति अधुरै रहे ।

श्रीलंकामा गएको जुनमा भएको पाँचदिने माउन्टेन बाइक रेसमा पनि अजय र नारायणगोपाल सँगसँगै थिए । जसरी सँगसँगै उनीहरु नेपालभित्र र विदेशमै भएका अन्य रेसहरुमा बढिरहेका हुन्थे ।

तेस्रो दिनको रेस विश्राम हुँदा अजय पहिलो नम्बरमा थिए भने नारायणगोपाल दोस्रो नम्बरमा थिए । जापानी साइकलिस्ट युकि इकेदा तेस्रोमा थिए भने नेपालकै रोन तामाङ चौथो नम्बरमा थिए ।

तर, रेसको चौथो दिन नारायणगोपालसँगको साथ यसरी छुट्यो कि त्यो सम्झँदा अहिले पनि अजयका आँखा भरिन्छन् । अब कहिल्यै उनीहरु उसैगरी सँगसँगै बढ्न सक्ने छैनन् । प्रतिस्पर्धामा रमाउन सक्ने छैनन् । जितको खुसी बाँड्न सक्ने छैनन् ।

‘म नारायणगोपाल भन्दा अलि अघि थिएँ । हाम्रो बीचमा जापानी साइकलिस्ट थिए । एक्कासी जापानी कराएको सुनेपछि मैले पछाडि फर्केर हेर्दा त्यहाँ नारायणगोपाल थिएनन् । खोलाको भेलमा उनी कता पुगे, त्यतिखेर केही पत्तो भएन,’ अजयले साइकल दुर्घटनामा नारायणगोपालले ज्यान गुमाएको दिन सम्झिए ।

ठमेल ज्याठामा साइकलिस्टका लागि केही महिनाअघि मात्रै खोलिएको इन्डोर टे्रनिङ सेन्टरमा मंगलबार भेटिएका अजय साथी नारायणगोपालसँगका दिनहरु सम्झेर केहीबेर भावुक बने ।

त्यहाँ उनका आँखा नारायणगोपाललाई खोजिरहेका झैँ लाग्थे । आउँदैनन् भन्ने थाहा पाएर पनि कता-कता ऊ फर्किहाल्ला कि भन्ने आशा अजयको मनले सम्हालेको छ ।

साइकलले बनाएको मित्रता

अजय काठमाडौं आरुबारीमा जन्मिएर हुर्किएका हुन् । उनी बालक छँदा नै एउटा सानो साइकल घरमै थियो । त्यसैलाई गुडाउँदै कहिले झाडीमा र कहिले नालीमा परेर उनले साइकल सिके ।

अजयलाई लाग्छ, साइकल नै जीवनसँग जोडिएकाले होला उनले अरु कुरा सोच्न सकेनन् । हरेक बेला साइकलमा नै ध्यान हुन्थ्यो । यसैले पढाइलाई राम्ररी अघि बढाउन सकेनन् । उनी १५ वर्ष हुँदा नै साइकल लिएर यताउति हिँड्न थालिसकेका थिए । एक दिन साइकलमा नौबिसे ओरालो झरिरहँदा धादिङका उनै नारायणगोपाल र चित्लाङका राजकुमार श्रेष्ठ पनि साइकलमा जाँदै थिए ।

एउटै माध्यमले भेटिएका उनीहरुबीच कुरा हुन र घुलमिल बढ्न समय लागेन । महिनामा एकपटक भेट्ने उनीहरु हप्तामा भेट्न थाले । हुँदै जाँदा दिनमा एकपटक भेट्न थाले । हरेक भेटमा उनीहरुको कुरा साइकलकै विषयमा हुन्थ्यो ।

कहिले कता कहिले कता साइकलमा गइरहेका हुन्थे । उनीहरुको सम्बन्ध कसरी छिटै गाढा भयो उनीहरुलाई नै एकीन थिएन ।

‘सायद हाम्रो सपना मिलेर होला छिटै साथी बनेको । पछि हुँदै जाँदा हामी साथी मात्र होइन परिवार भएका थियौँ । दाजुभाइ जस्ता थियौँ,’ अजय सम्झन्छन् ।

बिर्सन नसकिने एक नाम

अजय र नारायणगोपालसहित साथीहरु बारम्बार भेटिने एक ‘जक्सन’ थियो जितेन दाइको वर्कसप । जहाँ नाम चलेका साइकलिस्टहरु पनि साइकल बनाउन आउँथे र लामो समय गफिन्थे ।

अजयले साइकलिङ करिअर सुरु गर्नुभन्दा अघि त्यो समय जमल भित्र रहेको उनै जितेन दाइको वर्कसपमा साइकल बनाउन सिकेका हुन् । कहिले कता, कहिले कता जाँदा साइकल बिगि्ररहेको हुन्थ्यो । त्यसरी साइकल बिगि्रएर दुःख पाउँदा अजयलाई साइकल बनाउन पनि जान्नु पर्ने रहेछ भन्ने लाग्यो । यसैले उनी साइकल बनाउन सिकाइदिने ठाउँ खोज्दै जितेन दाइको वर्कसपमा पुगेका थिए ।

अजयको साइकल कथामा छुट्न नसक्ने नाम हो, नारायणगोपाल । अजय र नारायणगोपालले साइकलिङमा लाग्न गरेको दुःख उस्तै नै हो । साइकल लिएर कति आए, कति गए । तर, अजय र नारायणगोपाल साइकलिस्ट बन्ने बाटोमा निरन्तर लागिरहे ।

‘जितेन दाइलाई त जसरी सम्झिए पनि कम हुन्छ । म साइकलिङमा लाग्नुको प्रमुख जस जितेन दाइलाई जान्छ । उहाँसँगै साइकल मेकानिक सिकेँ । साइकलिङका बारेमा धेरै कुरा जान्न पाएँ,’ अजयले भने ।

जितेन दाइको वर्कसप छाडेर साइकल पसलमा काम गर्न थालेपछि पनि अजय दैनिकजसो त्यहाँ पुग्थे । ठमेलमै टिसर्ट प्रिन्टको काम गर्ने नारायणगोपाल पनि काम सकेर जितेन दाइकोमा नै पुग्थे । जहाँ नारायणगोपालको मिलनसार व्यवहार र शान्त स्वभावले सबै प्रभावित भएका थिए । अजय मात्रै होइन राजकुमार, जितेन दाइ र साइकलिङमा लाग्ने अरु जोसुकैलाई पनि नारायणगोपाल एक बिर्सनै नसकिने नाम लाग्छ ।

अजयको साइकल कथा

अजयको साइकल कथामा छुट्न नसक्ने नाम हो, नारायणगोपाल । अजय र नारायणगोपालले साइकलिङमा लाग्न गरेको दुःख उस्तै नै हो । साइकल लिएर कति आए, कति गए । तर, अजय र नारायणगोपाल साइकलिस्ट बन्ने बाटोमा निरन्तर लागिरहे ।

ठूला दाइहरुसँग मिलेर जितेन दाइको पुरानो साइकलमा नगरकोट जाँदा नै अजयले आफ्नो प्रभाव देखाएका थिए । कसैले नपत्याउँदो गरी उनी नगरकोटमा धेरै पहिलेदेखि साइकल चलाइरहेकाहरुलाई पछि पार्दै पहिले पुगे ।

त्यसपछि १६ वर्षकै उमेरमा पहिलो पटक साइकलिङ प्रतियोगितामा भाग लिँदा नै अजय विजेता बनेका थिए । त्यसपछि साइकलिङ पनि खेल हो र यसमा लाग्न मिल्छ भन्ने भान अजयमा पर्‍यो । उस्तै बाटोमा थिए नारायणगोपाल पनि । सबैजसो प्रतियोगितामाहरुमा उनी पनि शीर्ष स्थानभित्रै रहेका हुन्थे ।

मेहनतले नै हो, २००९ मा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेका अजय २०१५ सम्म च्याम्पियन बनिरहे । लगातार पाँच पटक राष्ट्रिय च्याम्पियन बन्न अजयले गरेको मेहनत सानो थिएन ।

बीचमा दुई वर्ष प्रतियोगिता नै भएन । पछिल्लो पटक भएको प्रतियोगितामा अजय उनै नारायणगोपालसँग पराजित भए । २०१७ मा भएको राष्ट्रिय प्रतियोगिता नारायणगोपालले जित्दा उति नै खुसी भएका थिए अजय पनि ।

अजयलाई हार हुँदा पनि नलागेको दुःख अहिले लागेको छ, अब उनलाई हराउन नारायणगोपाल रहेनन् ।

कतिपटक सुन्दरीजल पुग्दा बाग्मतीको पानीमा अजयहरुसँगै नारायणगोपालले पनि पौडिने प्रयास नगरेका होइनन् । तर, पानीको खेलामै जीवनको लिला समाप्त हुने लेखा भएरै होला नारायणगोपालले पौडी सिक्न सकेनन्

नारायणगोपालले नसिकेका दुई कुरा

सानो चक्का भएको बीएमएक्स साइकल चलाउँदादेखि साथी बनेका नारायणगोपालसँगको साथ यति छिटै सकिन्छ भन्ने जानेको भए अजयले कर गरेरै भए पनि उनलाई पौडी सिकाएर छाड्ने थिए ।

भारतीय साइकलमा तीन गेयर जोडेर गेयरवाला साइकल बनाएरै पनि उनीहरु नौबिसे, नगरकोट, सुन्दरीजल कहाँ मात्र पुगेनन् । कति पटक सुन्दरीजल पुग्दा बाग्मतीको पानीमा अजयहरुसँगै नारायणगोपालले पनि पौडिने प्रयास नगरेका होइनन् । तर, पानीको खेलामै जीवनको लिला समाप्त हुने लेखा भएरै होला नारायणगोपालले पौडी सिक्न सकेनन् ।

नेपालमै हुने याक अट्याक जस्तो कठीन साइकल रेसमा पनि धेरै पटक सफलता पाएको आफूहरुको साथ श्रीलंकामा पुगेर सकिएला भन्ने कल्पनासम्म पनि अजयमा थिएन ।

अजय २००७ देखि याक अट्याकमा सहभागी भएका हुन् । २०१० मा अजयले याक अट्याक जितेपछि विदेश यात्रा पनि सुरु भयो । २०१२ बाट नारायणगोपाल पनि उनीसँगै जोडिए ।

युरोप, अमेरिका, अफ्रिका र एसियाका गरी २३ देशहरुमा जाँदा प्राय अजयकै साथमा हुन्थे नारायणगोपाल ।

धेरैजसो रेसमा अजय विजयी भएपनि उनीहरुको जित साझा हुन्थ्यो । एकले जित्दा अर्कोलाई हारको महसुस हुँदैन थियो ।

पौडीसँगै नारायणगोपालले नसिकेको अर्को कुरा थियो, साइकल मेकानिक । कहाँ-कहाँ पुगिरहँदा साइकल बिगि्रएर हुने हैरानी नारायणगोपाललाई नपरेको होइन ।

तर, उनीसँग अजयसँगै राजकुमार थिए । जसले उनको साइकल बिगि्रहालेमा तुरुन्त बनाइदिन्थे । यसैले नारायणगोपाललाई कहिल्यै साइकल बनाउन सिक्नै परेन ।

अजयलाई अहिले लाग्छ नारायणगोपालले साइकल बनाउन नसिकेको भए पनि पौडी भने सिक्नै पर्थ्यो ।

‘हामी साइकलमै सुन्दरीजल पुग्दा सबैजना पौडी खेल्थ्यौँ । साइकल छेउमा राखेर लुगा फुकालेर कतिपटक त नारायणगोपालले पनि पौडी सिक्न खोजेको हो, तर उसले सकेन,’ अजय पुराना दिनमा पुगे, ‘कतिपटक हामी क्लोज क्याम्पका लागि बाहिर जाँदा पनि स्वीमिङ पुल हुन्थ्यो । त्यहाँ पनि हामी पौडी खेल्थ्यौं तर नारायणगोपालले सिक्न सकेन ।’

साइकल खेल निकै कठीन खेल नै हो । सानोतिनो लडेका कुरा त गनेर साध्य नै हुँदैन । डरलाग्दो दुर्घटनामा मिल्ने साथी गुमाएका अजयले त्यसपछि रेसमा भाग लिएका छैनन्

अजयलाई जीवनभर खट्किरहने एउटै कुरा रहृयो, नारायणगोपाललाई पौडी सिकाउन पाएको भए !

‘उसले पौडी सिक्न नसक्दा नै यस्तो भयो । उसलाई थोरै मात्रै पौडिन आएको भए पनि श्रीलंकाको त्यो खोलामा त्यसरी डुब्ने थिएन,’ अजयले भने ।

अजय भन्छन्- श्रीलंकामा भएको रेस नेपालको याक अट्याक भन्दा सजिलो रेस नै हो । पाँच दिनको त्यो रेसमा नेपालका भन्दा सजिलो बाटो नै थियो । तर पनि दुर्घटना भन्ने कुराले अरु केही कुरा देख्दो रहेनछ ।

‘नारायणगोपाललाई पौडिन आउँदैन भन्ने मलाई राम्ररी याद थियो । हाम्रो बीचमा रहेको जापानी साइकलिस्ट कराएपछि म आत्तिएर जाँदा उसलाई कतै पनि देखिनँ । अलिकति देख्न मात्रै पाएको भए बचाउने थिएँ,’ श्रीलंकाको रेस र नारायणगोपाललाई लग्ने खोला सम्झँदै अजयले सुनाए ।

साइकल खेल निकै कठीन खेल नै हो । सानोतिनो लडेका कुरा त गनेर साध्य नै हुँदैन । डरलाग्दो दुर्घटनामा मिल्ने साथी गुमाएका अजयले त्यसपछि रेसमा भाग लिएका छैनन् ।

नारायणगोपालसँगै कठीन समयमा पनि अघि बढेका उनी अब नारायणगोपालकै सम्झनामा थप मेहनत गर्दै अघि बढ्ने योजनामा छन् । त्यसैअनुसार तयारी पनि गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment