Comments Add Comment

सिरियल छाडेर फिल्म निर्माणको दौडमा सबै हास्यकलाकार

पछिल्लो समय नेपालमा कमेडी फिल्महरुको बाढि आइरहेको छ । यसँसगै चर्चित हास्यकलाकारहरु टिभी सिरियल छोडेर फिल्म निर्माण र अभिनयमा सक्रिय बनेका छन् ।

अहिले चलेका सबैजसो हास्यकलाकारहरु विभिन्न टिभि सिरियलबाटै चिनिएका हुन् । तर, उनीहरुमध्ये एकाधलाई छोडेर सबै सिरियलबाट टाढा भएका छन् । सानोपर्दाबाट उनीहरुको सक्रियता ठूलो पर्दामा सरेको छ ।

‘तितो सत्य’ बन्द भएपछि दिपकराज गिरी र दिपाश्री निरौला फिल्म निर्माणमा होमिए । थुप्रै हास्य कलाकारको सहकार्यमा निर्माण भएको फिल्म ‘६ एकान ६’ ले दर्शकलाई हलमा तान्न सफल भयो । त्यसयता उनीहरुले ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ का दुई सिक्वेल बनाइसकेका छन् । छक्का पञ्जाले व्यापारिक सफलताको किर्तिमान नै राखेको छ ।

यो समुहमा दिपक र दिपासहित केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ ‘हैट’, लगायत छन् । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे भने ‘छक्का पञ्जा’ पछि यो टिमबाट अलग्गिएका छन् ।

बरिष्ठ हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य टिभी सिरियलमा नदेखिएको धेरै भयो । उनीहरुको पछिल्लो हास्यटेलिश्रृंखला ‘हरिबहादुर मदनबहादुर’ ले दर्शकलाई निराश बनाएको थियो । अहिले यो जोडी फिल्म निर्माणमा लगेको छ ।

मह सञ्चार र किरण केसीद्वारा निर्मित फिल्म ‘सत्रु गते’ ले अपार सफलता पाएपछि अर्को फिल्म ‘दाल भात तरकारी’को घोषणा भइसकेको छ । अहिले यसको स्क्रिप्टमा काम भइरहेको छ । सत्रु गतेमा मह जोडीका साथमा किरण केसी, शिवहरी पौडेल, दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, बसुन्धरा भुषाललगायत थुप्रै हास्यकलाकारको झुण्ड रहेको थियो । ‘दाल भार तरकारी’ मा पनि उनीहरुमध्ये धेरै दोहोरिने सम्भावना छ । यद्यपि, दिपक र दिपाको समुहले अन्य व्यानरका फिल्म नगर्ने निर्णय लिएको समाचार केही समयअघि सार्वजनिक भएको थियो । फिल्मका लागि कलाकारको छनोट बाँकी रहेको निर्माता केसी बताउँछन् ।

‘मेरी बास्सै’बाट चिनिएका हास्य जोडी हुन् सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’ । पछि यसमा विल्सन विक्रम राई ‘तक्मे बुढा’ पनि जोडिएका थिए । माग्ने र तक्मेले ‘मेरी बास्सै’ छोडेको धेरै भइसक्यो । उनीहरु मिलेर ‘खासखुस’ नामक सिरियल सुरु गरे । तर अहिले दुवै फिल्ममा नै बढि सक्रिय छन् । माग्नेबुढा ‘छक्का पञ्जा’ टिमको महत्वपूर्ण सदस्य हुन् भने ‘तक्मे बुढा’को पनि नेपाली फिल्ममा राम्रै डिमान्ड छ । माग्ने बुढा, तक्मे बुढा र जितु नेपाललाई चाँडै सुदर्शन थापाको फिल्म ‘राम कहानी’ मा पनि देख्न सकिने छ । यो फिल्ममा माग्नेबुढाले १० लाख पारिश्रमिक लिएको विषय चर्चामा आएको थियो ।

मेेरी बास्सैबाट चर्चित अर्का कलाकार दम्पत्ति ‘धुर्मुस’ सुन्तली पनि केही समयदेखि यो सिरियलमा देखिएका छैनन् । भुकम्पयता यो जोडी कलाकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय छ । यद्यपि अहिले उनीहरु पनि फिल्म निर्माणमा होमिने घोषणा गरेका छन् । उनीहरुले अहिले स्क्रिप्ट लेखनमा व्यस्त छन् । उनीहरुसँग हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि जोडिएका छन् ।

यता, मनोजले भने ‘सय कडा १०’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दैछन् । यो फिल्म अहिले निर्माणाधिन छ ।

पछिल्लो समय चर्चित बनेको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को समुहले पनि फिल्म निर्माणको घोषणा गरिसकेको छ । निश्चल बस्नेतको निर्देशनमा ‘फनफनी’ बनाउने घोषणा गत वर्ष नै गरिएको थियो । फिल्ममा बिपिन कार्कीलाई महंगो पारिश्रमिक दिएर साइन गराइएको छ । यद्यपि फिल्म फ्लोरमा गएको छैन । अहिले स्क्रिप्ट करिब करिब फाइनल भएको र चाँडै सुटिङ सुरु हुने अर्जुन घिमिरे ‘पाँडे’ बताउँछन् । भद्रगोल अहिले बन्द रहेकाले पनि उनीहरु फुर्सदमा छन् । यो फिल्मका अन्य कलाकारहरु छनोट गर्न बाँकी छ । कथाको मागका आधारमा कलाकार चयन गरिने पाँडेले बताए ।

यसरी चर्चित हास्यकलाकारहरु फिल्ममा केन्दि्रत भएपछि उनीहरुलाई टिभीमा हेर्न बानी परेका दर्शकले भने खल्लो मानिरहेका छन् । यद्यपि, टिभीमा राम्रो प्रस्ताव आएमा अझै पनि काम गर्न सक्ने हास्यकलाकारहरु बताउँछन् । यतिबेला भने नेपाल टेलिभिजनबाट प्रशारण  हुने सबै हास्य टेलिश्रृंखला बन्द अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment