Comments Add Comment

जाजरकोटका पहिरो पीडितलाई ७ लाख राहत हस्तान्तरण

२३ साउन, सुर्खेत । जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ ।

गत आइतबार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

पहिरोमा परी ज्यान गुमाउनेको क्षतीको पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पीडितसँगै रहेको प्रजिअ बस्नेतले बताए ।

पहिरोमा छोरी गुमाएका तीर्थराज बोहरा, छोरा गुमाएका कुशे ६ भार्माका प्रेम परियार र कृष्ण परियारलाई जनही एक/एक लाख, तीन छोरी र श्रीमती गुमाएका भेरी ६ गंगटियाका लालबहादुर लुहारलाई एकमुष्ट चार लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

पहिरोमा परी बेपत्ता भएका कुशे-५ का गोविन्द परियार अझै हराइरहेकाले बेपत्ताको एकिन भएपछि मात्र केही दिनपछि राहत दिइने प्रजिअ बस्नेतले बताए ।

प्रजिअ बस्नेतका अनुसार घर पुरिएका परिवारको आवास ब्यवस्थापनका लागि तीर्थराज बोहरा र गोपाल सुनारलाई जनही दश हजारका दरले रकम प्रदान गरिएको छ ।

यसअघि मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट २५ हजार र भेरी नगरपालिकाको तर्फबाट ३० हजारका दरले राहत प्रदान गरिएको थियो ।

पहिरोका कारण विस्थापित भएर सदरमुकामस्थित बृद्धाश्रम केन्द्रको भवनमा बस्दै आएका ७ घर परिवारलाई कुशे गाँउपालिका र स्थानीय प्रशासनले खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री प्रदान

रेडक्रस जाजरकोटले पनि पहिरो पीडित परिवारलाई गैरखाद्य सामग्री प्रदान गरेको छ ।

पहिरो पीडित पाँच परिवारलाई त्रिपाल, कम्मल, लत्ताकपडा, भाडावर्तन, बाल्टी लगायतका गैरखाद्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले बताए ।

आइतबार विहान गएको पहिरोले पुरेका एकै घरका चार जनासहित ८ जनाको मृत्यु भएको थियो ।

भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली, उनका छोरीहरु १० वर्षीय रञ्जना, ७ वर्षीय मनिसा र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालिका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार, कुशे-६ का ११ वर्षीय नवीन परियार र बारेकोट गाँउपालिकाका तीर्थ बोहराकाकी छोरी नजमको मृत्यु भएको थियो ।

भेरी नगरपालिका वडा नं. ३ ठाँटी बजारबाट पानी नाउला जाने बाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्धार गरिएको थियो ।

पहिरोमा परि ८ जनाको मृत्यु भएको थियो भने एक बालक अझै बेपत्ता छन् । पहिरोको जोखिम बढेपछि सात घर विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment