Comments Add Comment

नेपालीको मोबाइल मोहः वर्षमा २५ अर्बको आयात

एप्पल, सामसुङ, हुवावेदेखि ओप्पोसम्म नेपालमा चल्तीका ब्राण्ड

२४ साउन, काठमाडौं । नेपालमा मोबाइलको प्रयोग सर्वब्यापी बन्दै जाँदा आयात पनि तीव्ररुपमा बढिरहेको छ । यो वर्ष मात्रै करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७३/७४मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएकोमा यो वर्ष बढेर २४ अर्ब ८७ करोडमा पुगेको भन्सार विभागले जनाएको छ । अर्थात् गतवर्ष २ अर्ब २१ करोड बढी मूल्यको मोबाइल आयात भएको हो ।

विभागको तथ्यांकअनुसार गत वर्ष २ लाख ६८ हजार बढी फोन आएको छ । आर्थिक वर्ष २०७३/७४मा ५९ लाख ५५ हजार वटा मोबाइल सेट आयात भएकोमा गत वर्ष यो संख्या ६२ लाख २३ हजारमा पुगेको छ । गत वर्ष मोबाइल सेटको आयात झण्डै ५ प्रतिशतले बढेको हो । सो भन्दा अघिल्लो वर्ष यस्तो वृद्धिदर १९ प्रतिशत थियो ।

गाउँ-गाउँमा पनि स्मार्ट फोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्यै छ ।  झन् महंगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो लागिरहेको छ ।

नेपालमा पछिल्लो समयमा मिड रेन्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ । मध्यम वर्गीय मात्रै नभएर गरिब परिवारका सदस्य पनि मिड रेञ्जका स्मार्टफोन बोक्न लालायित छन् । १० हजारभन्दा महंगा र २५/३० हजारसम्म मूल्य भएका मोबाइलको बजार फैलँदो छ ।

नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँ-नयाँ ब्राण्ड भित्रिरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन ।

सामसुङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, कुलप्याड, सिजी लगायतका स्मार्टफोन कम्पनी नेपालमा मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।

विशेष गरी इन्टरनेटको पहुँच सरल बन्दै जाँदा स्मार्टफोनमा युवा पुस्ता मात्रै नभएर प्रौढ पुस्ता पनि आकर्षित छन् । त्यसैकारण पनि आयात र बिक्री वर्षैसाल उँभाे लाग्दैछ ।

आयात हुने देशको सूचीमा चीन पहिलो, भारत तेस्रो

गत वर्ष सबैभन्दा बढी फोन चीनबाट आयो । ५४ लाख १३ हजार वटा सेट चीनबाट भित्रिएको विभागको तथ्यांकले देखाउँछ । जुन, १९ अर्ब ७२ करोड मूल्य बराबरको हो । चीनबाट मोबाइल भित्र्याउँदा मात्रै ब्यापारीले २ अर्ब ६८ करोड भन्सार तिरेका छन् ।

चीनपछि नेपालमा भियतनामबाट धेरै मोबाइल आउँछ । गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै  ५ लाख १० हजार मोबइल सेट नेपाल आएको देखिन्छ । भियतनामबाट ४ अर्ब ७२ करोड मूल्य बराबरको सेट आउँदा सरकारले ६४ करोड ४९ लाख राजश्व उठाएको छ ।

मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । एक वर्षभित्र भारतबाट २ लाख ९५ हजार वटा मोबाइल सेट नेपाल आएका छन् । जसका लागि नेपाली ब्यवसायीले भारतमा ३८ करोड ८६ लाख खर्चिएका छन् ।

सरकारले भारतबाट भित्रिएका मोबाइलबाट मात्रै ५ करेड १४ लाख रुपैयाँ भन्सार असुल गरेको विभागको तथ्यांकमा देखिन्छ । त्यसबाहेक नेपालले अमेरिका, कोरिया लगायतका मुलुकबाट पनि सानै संख्यामा भएपनि मोबाइल सेट भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment