Comments Add Comment

कर बढाएको विरोधमा नगरपालिकामा दलहरुको धर्ना

२४, साउन, चितवन । यहाँको रत्ननगर नगरपालिकाले कर वृद्धि गरेको विरोधमा नगरका सात राजनीतिक दलले बिहीबार धर्ना दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीबाहेकका सात राजनीतिक दल कर वृद्धिको विरोधमा आन्दोलित बनेका छन् ।

चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत उनीहरुले विहीवार रत्ननगर नगरपालिकाको कर शाखा अगाडि करिव आधा घण्टा धर्ना दिएका हुन् ।

नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, ,राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्बर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरि लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठासहित नेता कार्यकर्ता धर्नामा सहभागी थिए ।

धर्ना दिँदै उनीहरुले कर घटाउनुपर्ने, जनमतको कदर गर्नुपर्ने लगायतका नारासमेत लगाएका थिए । नगरपालिकाले अवैज्ञानिक ढंगबाट बढाएको करको विरुद्धमा सांकेतिक रुपमा विरोधस्वरुप धर्ना दिइएको नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले बताए ।

आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार उनीहरुले कोण सभा गर्दैछन् । यसअघि बुधबार उनीहरुले वडा वडामा पुगेर सर्वसाधारणलाई कर नतिर्न आग्रह गरेका थिए । शुक्रबारसम्म पनि आफूहरुको माग सम्बोधन नभए आइतबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दलहरुले दिएका छन् ।

करका प्रशासनिक प्रक्रियालाई सरल नबनाई सम्पत्ति कर, व्यवसायिक कर, घरबहाल कर, मालपोत शुल्क आदिमा अस्वाभाविक वृद्धि गरिएको, विकास बजेटबाट बिलासी गाडी किनेको, सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई शशक्त रुपमा कार्यान्वयन गर्न नसकेको भन्दै दलहरुले नगरपालिकाप्रति असहमति जनाउँदै आएका छन् ।

यता, नगरपालिकाले भने कर वृद्धि अस्वभाविक नभएको बताएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन कर वृद्धि अस्वाभाविक नभएको दावी गर्दै जग्गाको मुल्यांकन अनुसार कर बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment