Comments Add Comment

युवा क्रिकेटरलाई अवसर : यू-१९ टिमका लागि खुला छनोट

२४ साउन, काठमाडौं । भारतमा हुने यू-१९ एकदिवसीय क्रिकेटमा सहभागी हुन नेपाली टोलीका लागि खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट गरिने भएको छ ।

भारतको कोलकातामा हुने प्रतियोगितामा भारत र अफगानिस्तानका साथै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को यू-१९ टोली छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाललाई पनि निम्तो दिएको छ ।

नेपालको यू-१९ टिमका प्रशिक्षक विनोद दासले भारतमा हुने प्रतियोगिताका साथै एसिया कपका लागि खुला प्रतिस्पर्धामार्फत पनि खेलाडी छनोट गर्न लागिएको जानकारी दिए ।

साउन २८, २९ र ३० गते काठमाडौं रातो पुलमा रहेको भेलो सिटी एरेनामा खेलाडी छनोट हुने प्रशिक्षक दासले बताए । जसका लागि १९ वर्षमुनिका इच्छुक क्रिकेटरले आफ्नो उमेर खुल्ने सरकारी कागजसहित उपस्थित हुनुपर्ने छ । यसरी खुला रुपमा छनोटमा आएका युवा क्रिकेटरहरुबाट ९ जना छनोट हुने दासले जानकारी दिएका छन् ।

त्यसपछि उनीहरुसहित प्रत्येक क्षेत्रबाट तीन/तीन जना गरी छनोट भएका २१ जना, यु-१६ राष्ट्रिय टिमका १४ खेलाडीसहितको क्याक्पबाट १२ जना छनोट हुने छन् ।

प्रशिक्षक दासका अनुसार क्याम्पमा यू-१९ राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई समावेश गरिने छैन । सुरुवाति क्याम्पबाट छनोट भएका १२ खेलाडी र यू-१९ टिमबाट खेलेका तर राष्ट्रिय टिममा नपरेका ७ खेलाडीसहित १९ जनाको दोस्रो क्लोज क्याम्प गरिने छ ।

राष्ट्रिय टिममा खेलिसकेका यू-१९ का खेलाडीलाई टिममा नराख्ने प्रशिक्षक दासले बताएका छन् ।

यसका लागि आफूले आईसीसी र एसीसीसँग प्रस्ताव गरेको र छिटै स्वीकृत हुने विश्वास रहेको प्रशिक्षक दासले बताए । नेपालमा क्रिकेट बोर्ड निलम्बनमा रहेका कारण सबै कामका लागि अलि लामो प्रक्रिया चाल्नु परेको उनको भनाइ छ ।

‘बोर्ड नहुँदा हुने अप्ठ्याराहरु त छँदैछन् । त्यही पनि युवा खेलाडीको खेल हेर्न र उनीहरुसँग क्रिकेटमा भिज्न निकै खुसी लाग्छ । आफैं मैदानमा गएर खेलेभन्दा पनि बढी खुसी युवा क्रिकेटहरुलाई सिकाउँदा मिल्छ । यसैले कसैले पनि अवसरबाट बञ्चित हुनु नपरोस् भनेर खुला छनोटका लागि आहृवान गरेका हौं’ दासले भने ।

आईसीसी र एसीसीसँग पनि कुरा गरेर खुला छनोटमा प्रशिक्षकहरु राखिने उनले बताए । त्यसका लागि व्यक्तिगत रुपमा आफूले सबै प्रशिक्षकसँग पनि कुरा गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment