Comments Add Comment

देश बचाउन सके पहिचानसहितको संघीयता आएरै छाड्छ: देव गुरुङ

२४ साउन, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश बचाउन सके पहिचानसहितको संघीयता एकदिन आएरै छाड्ने दाबी गरेका छन् ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीले विहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले विदेशीहरुले नेपालमाथि षडयन्त्र गरेर आन्तरिक लडाईं मच्चाएर अफ्गानिस्तान बनाउन खोजिरहेकाले त्यसबाट बचाउन सकियो भने एक न एक दिन आदिवासी जनजातिको अधिकार प्राप्त भएरै छाड्ने बताएका हुन् ।

देश बचाउनका लागि संघर्षको स्वरुप बदल्नुपरेको बताउँदै उनले भने, ‘देश बचाउन सकियो भने पहिचानको सम्बोधन हुन्छ, आदिवासी जनजातिको सबै अधिकार प्राप्त हुन्छ, तर, अहिले देश बचाउने बेला आयो । विदेशीहरु आपसमा भिडाएर आन्तरिक कलह मच्चाएर अफ्गानिस्तान बनाउने प्रयासमा छन्, त्यसबाट नेपाललाई जोगाउनु अहिले हामी सबैको दायित्व हो ।’

नेपालमा अर्ध उपनिवेश रहेसम्म आदिवासी जनजातिको पूर्ण अधिकार प्राप्त नहुने भन्दै उनले अब यसको समाप्ती गर्नुपर्नेमा जोड दिए । यदि यो समाप्त गर्न नसके प्राप्त उपलब्धीसमेत गुम्ने उनले चेतावनी दिए ।

नेता गुरुङले नेकपाले आदिवासी जनजातिको अधिकार नछाडेको भन्दै अहिले आन्दोलनको स्वरुप मात्र बद्लिएको बताए ।

अहिलेको समय शक्ति सञ्चयको समय भएको बताउँदै उनले उपलब्धी रक्षा गर्दै अघि बढ्न अहिलेको आवश्यक्ता भएको जिकिर गरे ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष धर्मबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले आफूले प्रदेश नम्बर ४ लाई तमुवान मगरात प्रदेश बनाउनका लागि मत मागेपनि अन्तिममा बाध्यताले गण्डकी प्रदेशको पक्षमा मत हालेको बताए ।

दुई तिहाईले मात्र प्रदेशको नाम राख्न सकिने भएकाले गण्डकी प्रदेशको पक्षमा मत हाल्नुको विकल्प नहुँदा आफू त्यसको पक्षमा उभिएको बताए ।

यद्यपि, उनले प्रदेशको नाम गण्डकी राख्दैमा डराई हाल्नुपर्ने वा आत्ति हाल्नुपर्ने अवस्था नभएको बताए । उनले गण्डकी प्रदेशको नाम एक दिन न एक दिन तमुवान मगरात भएरै छाड्ने उद्घोष गरे ।

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पहिचानको नाममा प्रदेशको नाम राख्न आफूहरुको बलबुताले भ्याएसम्म प्रयास गरेपनि नसकेको बताए ।

उनले अब राखिसकेकै नाममा पहिचान खोजेर आदिवासी जनजातिको भाषा, संस्कृति र अधिकार संरक्षण गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले आदिवासी जनजातिको माग जायज भएको भन्दै ढिलो चाँडो पूरा हुने विश्वास व्यक्त गरे ।

तमुवान मगरात संघर्ष समितिकी संयोजक तथा तमु धिँ नेपालकी अध्यक्ष कर्मा तमुले अहिले जबरजस्ती लादिएको गण्डकी प्रदेशको नाम तमुवान मगरात नामाकरण गरेरै छाड्ने दृढता व्यक्त गरिन् ।

उनले आफूहरुले जातीय राज्य नमागेको बरु पहिचान मागेको स्पष्ट पारिन् । साथै उनले तत्कालिन माओवादीले पार्टी एकताको नाममा पहिचान छाडेको भन्दै असन्तुष्टी जनाइन् ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानाले आदिवासी जनजातिको विदा कटौती गरेर सरकारले आदिवासीलाई थप पीडा दिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment