Comments Add Comment

सामसुङले ल्यायो ग्यालेक्सी नोट नाइन, यस्ता छन् फिचर्स


दक्षिण कोरियाली कम्पनी सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी नोट नाइन फ्याब्लेट सार्वजनिक गरेको छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित भव्य समारोहका बीच सामसुङले नोट नाइन सार्वजनिक गरेको हो ।

नोट नाइन सातौँ पुस्ताको नोट डिभाइस हो, जसमा नित्तान्त भिन्न एस पेन फिचर रहेको छ ।

नोट नाइन विभिन्न ४ रङमा उपलब्ध हुनेछ: ब्लाक, पर्पल, कपर तथा ओसन ब्लू कलर ।

ग्यालेक्सी नोट नाइन दुई प्रकारका मेमोरी मोडेलमा उपलब्ध हुनेछ । जसमा ६ जिबी र्यामयुक्त १२८ जिबीको स्टोरेजवाला एउटा हुनेछ । यसको मूल्य ९९९.९९ डलर तोकिएको छ । त्यस्तै महंगो मोडेलमा ८ जिबीको र्याम र ५१२ जिबीको स्टोरेज हुनेछ । यसको मूल्य १२४९.९९ डलर तोकिएको छ । दुवै मोडेलले थप ५१२ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्दछन् ।

नोट नाइनको लुक्स धेरै हदसम्म विद्यमान ग्यालेक्सी नोट एटसँग मिल्दोजुल्दो रहेको छ । यद्यपि, यसको डिजाइनमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ । नोट नाइन सामसुङको २.७ गिगाहर्जको ६४ बिट अक्टाकोर एक्जिनोस ९८१० प्रोसेसरबाट चल्दछ । ग्यालेक्सी एस नाइन र नाइन प्लसमा पनि यहीँ प्रोसेसरमा रहेको छ ।

सामसुङका अनुसार नोट ८ भन्दा नोट नाइन ३३ प्रतिशत फास्ट रहेको छ । फोनलाई बढी तात्नबाट बचाउनका लागि पानी भरिएको कार्वन फाइबर हिट पाइप आन्तरिक रुपमा जडान गरिएको छ । नोट नाइन एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टमबाट चल्नेछ ।

नोट नाइनमा ६.४ इन्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले रहेको छ । क्वाड एचडी प्लस डिस्प्लेको रिजोलुसन २९६० गुणा १४४० पिक्सेल रहेको छ ।

नोट नाइनको वजन २०१ ग्राम रहेको छ । साथै यसमा ४००० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो सामसुङका फोनमा अहिलेसम्म भएको सबैभन्दा ठूलो ब्याट्री हो । यसले फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ । फोन र यसको एस पेन धुलो तथा पानी प्रतिरोधी रहेको बताइएको छ ।

नोट नाइनमा मुख्य क्यामरा डुअल सेटअप रहेको छ । जसमध्ये एउटा १२ मेगापिक्सेल वाइड एंगल सेन्सरयुक्त र अर्को १२ मेगापिक्सेल टेलीफोटो सेन्सरयुक्त रहेको छ । दुवै क्यामरामा अप्टिकल इमेज स्टाबिलाइजेसन फिचर रहेको छ । सेल्फी क्यामरा ८ मेगापिक्सेलको रहेको छ ।

नोट नाइनको एस पेनमा महत्वूर्ण परिवर्तन गरिएको छ । एस पेनको ब्याट्रीको चार्ज सकिएको सूचना फोनले दिनेछ । एस पेन मात्र ४० सेकेण्डमा फूल चार्ज हुनेछ । फोनमा घुसारेर निकाल्ने बेलासम्म एस पेन पूर्णरुपमा चार्ज भइसक्नेछ । साथै एसपेनमा ब्लुटुथ फिचर रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment