Comments Add Comment

साना उद्योगीले भने-साढे १३ हजार तलव दिन गाह्रो भयो

श्रम विभागका हाकिम भन्छन्, उद्योग प्रवर्द्धनका लागि सहयोग हुन्छ


२५ साउन, काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुले सरकारले तोकेको न्युनतम् पारिश्रमिक तिर्न गाह्रो परेको भन्दै गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै साना उद्योगी तथा व्यवसायीहरुले सरकारले तोकेको १३ हजार ४५० रुपैयाँ न्युनतम् पारिश्रमिक भुक्तान गर्न गाह्रो परेको गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांशले ठूला उद्योगी एवं व्यवसायीका लागि न्युनतम पारिश्रमिक उपयुक्त भए पनि साना उद्योगी, व्यवसायीहरुका लागि भने उपर्युक्त नभएको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले उद्योगलाई वर्गीकरण गरेर सोही अनुसार न्युनतम पारिश्रमिक तोक्नुपर्ने धारणा समेत राखेका थिए ।

कार्यक्रममा बोल्दै महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले श्रम ऐन तथा नियमावली २०७५, श्रमिकमैत्री मात्रै बनेको टिप्पणी गरे । उद्योग, व्यवसाय राम्रो भए मात्रै श्रमिकलाई राम्रो सेवा सुविधा दिन सकिने भन्दै अध्यक्ष सिंहले ऐन तथा नियमावलीले श्रमिकका साथै उद्योगको समस्या समेत समाधान गर्नु पर्ने धारणा राखे ।

उद्योगीहरुको जिज्ञासाबारे बोल्दै श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले उद्योग, व्यवसाय फष्टाउने वातावरण बनाउन विभागले आवश्यक सहयोग गर्ने प्रष्ट पारे ।

रोजगारका अवसरको सदुपयोग नहुँदा लाखौ युवाहरु विदेशी भूमीमा जानु परेको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्योगीहरुलाई कानून अनुसार आवश्यक सहयोग गर्न आफू तयार रहेको महानिर्देशक भट्टराईले बताए ।

उद्योगहरुमा महिला र पुरुष श्रमिकहरुलाई दिने तलब तथा सेवा सुविधामा भेदभाव हुने गरेको स्मरण गराउँदै उनले एकै प्रकृतिको काममा एकै प्रकारको सेवा सुविधा दिनु पर्ने बताए । महानिर्देशक भट्टराईले विभागले उद्योगहरुको निरीक्षण गर्न श्रम निरीक्षक खटाउने समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment