बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

पश्चिमाले नेपालमा धर्ममाथि योजनाबद्ध आक्रमण गरिरहेका छन् : थापा

Suzuki
अनलाइनखबर

२५ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण भइरहेको बताएका छन् ।

राप्रपाले शुक्रबार पोखराबाट शुरु गरेको ‘हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमा राष्ट्रहरुले नेपालको पहिचान र एकताको सुत्र बनेको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको आरोप लगाएका हुन् ।

हिन्दु राष्ट्र भगवानको पूजा आराधना वा उपसना गर्नका लागि मात्र लागि नभएको बताउँदै उनले भने, ‘हिन्दु राष्ट्रको कुरा धार्मिक विषय मात्र हैन, पूजा आरधना वा उपासना गर्नका लागि मात्र पनि हैन । बरु यो त हिन्दु राष्ट्र नेपालीको पहिचान हो, एकताको सुत्र हो, समाज र राज्यको पहिचान गर्ने आधार हो र नेपालीको अस्तित्वको आधार पनि हो ।’

उनले विदेशीको दवाब र प्रभाव तथा दलको निहित स्वार्थका कारण नेपालबाट हिन्दु राष्ट्र हटाइएको दाबी गरे । अध्यक्ष थापाले हिन्दु धर्ममाथि एक पक्षले भौतिक र अर्को पक्षले बौद्धिक आतंक मच्चाएको आरोप लगाए ।

भौतिक आक्रामण भन्दा बौद्धिक आतंक खतरनाक भएको भन्दै उनले भने, ‘माओवादीले भौतिक आक्रमण गरेर मठमन्दिर भत्काए, बौद्धिक आतंककारीले हिन्दु धर्मले विभेद गरेको, अन्य धर्मलाई हेला गरेको, समानता नस्विकारेको लगायतका अफवाह फैलाए, जुन भौतिक आक्रमण भन्दा खतरनाक छ ।’

पछिल्लो १०/१२ वर्षमा दशौं लाख नेपालीको धर्म परिवर्तन गराइएको दाबी गर्दै उनले भने, ‘थिचोमिचो, गरिवी र शोषणको नाममा आदिवासी, जनजाति र दलितलाई सबैभन्दा बढी धर्म परिवर्तन गराइएको छ ।’

उनले हिमाल, पहाड र तराईदेखि, टोपी लाउनेदेखि धोती लाउनेसम्मलाई जोड्ने काम हिन्दु धर्मले गर्ने भएकाले हिन्दु धर्म एकताको सूत्र भएको दाबी गरे ।

अध्यक्ष थापाले राप्रपा परिवर्तन विरोधी नभएको जिकिर गरे । उनले भने, ‘हामी परिवर्तन विरोधी हैनौं, बरु निरन्तरतासहितको परिवर्तनको पक्षमा छौं, हामी सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन वैदिक र सनातन मूल्य मान्यताको आधारमा विकास र समृद्धि ल्याउनुपर्दछ भन्ने हो ।’

उनले धर्मको आडमा राजनीति गर्न नखोजेकोसमेत जिकिर गरे । उनले भने, ‘कतिपयलाई राप्रपाले धर्मको नाममा राजनीति गरेको लाग्ला, तर हामीले धर्मको नाममा राजनीति गर्न खोजेको हैन र यो बेमौसमको बाजा पनि हैन, हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राप्रपाले संकल्प नै गरेको छ, सोहि अनुसार हामी अभियानमा छौं ।’

राप्रपा उपाध्यक्ष दिलविकाश राजभण्डारीले धर्मबिना लोक रहनै नसक्ने बताउँदै नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दृढता व्यक्त गरे । धार्मिक गुरु बलभद्र नाथ योगीले धर्म सकियो भने नेपालीको अस्तित्व नै सकिने चेतावनी दिए ।

राप्रपाले पोखराबाट सुरु गरेको यो ‘हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ देशका सतहत्तरै जिल्लामा पुर्‍याउने जनाइएको छ । अभियानमा राप्रपा कार्यकर्तासँगै धार्मिक गुरु तथा भक्तजनहरुको पनि बाक्लो सहभागिता देखिएको छ ।

कार्यक्रममा महामन्त्री राजेन्द्र लिंदेनले जनताको साथ लिएर वैधानिक बाटोबाटै हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्ने दृढता व्यक्त गरे ।

२०७५ साउन २५ गते १८:४४ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Ramesh लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते २०:२५

    सबैभन्दा पहिला धर्म को नाम मा राजनीति बन्द गर। हिन्दु धर्म मा रहेको बर्णन ब्यब्स्था खरेज गर । पहिला आफू सुध्रनु अनि सामन्ती पारा छोडनु । अनि बल्ल ठुलो कुरा गर्नु ।

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this