Comments Add Comment

राजा महेन्द्र जीप चढेर हेर्न पुगेको सडक, बल्ल हुने भयो पिच

६३ वर्षपछि पिच हुँदै सिसुवा -पोल्याङटार सडक'

२७ साउन, पोखरा । पृथ्वी राजमार्ग खुल्नुअघि कास्कीको सिसुवा, देउराली, पोल्याङटार लमजुङ, गोरखा, धादिङ हुँदै मान्छेहरु पोखरा-काठमाडौं आउजाउ गर्थे ।

त्यही आउजाउ गर्ने बाटोलाई नै राजमार्गका रुपमा विकास गर्ने लक्ष्यसहित २०१२ सालतिर सिसुवा -पोल्याङटार सडक खण्ड खन्न थालिएको थियो ।

महेन्द्र दल बटालियनको कास्की देउरालीमा पनि आर्मी क्याम्प थियो । उसैले सडकको ट्रयाक खोल्दै थियो । तत्कालीन राजा महेन्द्र शाह २२ सालतिर त्यहाँका जनतासँग भेट गर्न र बाटोको स्थिति बुझ्न जीप चढेर देउराली पुगेका थिए ।

धुले बाटो हुँदै जहाजबाट पोखरा ल्याइएको जीप चढेर महेन्द्र गाउँ पुग्दा फूलमालाले भव्य स्वागत गरेको स्थानीय नित्यलाल पौडेल सम्झन्छन् । त्यही सडकलाई राजमार्ग बनाउने योजनासहित काम थालिएको प्रतिनिधिसभा सांसद खगराज अधिकारीले सम्झिए । राजमार्ग कताबाट खोल्ने भन्ने विवाद र राजनीति भएपछि कास्की, लमजुङ, गोरखातिरबाट नभइ तनहुँतिरबाट पृथ्वी राजमार्ग खुलेको सांसद अधिकारीले बताए ।

अहिलेको पृथ्वी राजमार्गभन्दा त्यो बाटो काठमाडौं पुग्न झन्डै ४० किलोमिटर छोटो पर्ने उनीहरुको भनाइ छ । तर, पृथ्वीराजमार्ग तनहुँतिरबाट गएपछि कास्की देउराली, पोल्याङटार लमजुङ, गोरखा हुँदै आउजाउ गर्ने यो बाटोमात्रै सुनसान बनेन शिशुवादेखि पोल्याङटारसम्म खुलेको मोटर बाटोसमेत बन्द भयो । २०५४ सालमा जनप्रतिनिधि आएपछि फेरि यो बाटोको ट्रयाक खोलियो । ट्रयाक त खुल्यो तर कच्ची सडक भएकाले कहिले चल्ने कहिले नचल्ने क्रम भने चलिरहेको स्थानीय बताउँछन् ।

तत्कालीन राजा महेन्द्रले खोल्न चाहेको र सिसुवा -पोल्याङटारसम्म उहिल्यै ट्रयाक खुलेको त्यही सडक अब भने पक्की भन्ने भएको छ । सिसुवादेखि पोल्याङटारसम्म सडक खोल्ने योजना सुरु भएको ६३ वर्षपछि बल्ल पक्की बन्ने गरी योजना अगाडि बढेको हो । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि उनैको पहलमा संघीय सरकारको लगानीमा सिसुवादेखि लमजुङ जोड्ने पोल्याङटारसम्मको सडकखण्ड पिच गर्न आइतबार शिलान्यास भएको छ ।

लमजुङको पश्चिमी क्षेत्र पुग्न यो बाटो अत्यन्त नजिक पर्छ । पोखरादेखि लमजुङको पश्चिम क्षेत्र पुग्न ७२ किलोमिटर पार गर्नुपथ्र्यो भने अब यो सडक बनेपछि ३७ किलोमिटरमा सीमित हुने भएको छ ।

विकासमाथि राजनीति नगरौं

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सडक शिलान्यास गरे । अधिकारीले लामो प्रयासपछि बन्न लागेको सडकमा कुनै अबरोध नगरीदिन स्थानीयसँग आग्रह गरे । यसअघि पटकपटकको प्रयासले पनि राजनीतिको चेपटामा परेको ऐतिहासिक सडक पिच हुन लागेकोमा उनले खुसी व्यक्त गरे ।

विकासमाथि राजनीति गर्न छाडेर सहयोग गर्न उनले आहृवान गरे । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासले गति लिन थालेको अधिकारीले बताए । विकासमाथि अचाक्ली राजनीति किन हुन्छ भन्ने कुरा बुझ्न नसकेको सांसद अधिकारीको भनाइ थियो ।

एक मिटर पनि पिच सडक नभएको रुपा गाउँपालिकामा पाँच वर्षभित्र मुख्य सडक पिच र अन्य सडक बाह्रै महिना गाडी चल्न सक्ने खालको बन्नेमा आफू ढुक्क रहेको अधिकारीले बताए ।

प्रदेशसभा सांसद दीपक कोइरालाले अहिले लमजुङ जोड्ने गरी पोल्याङटारसम्म पिच हुन लागेको भए पनि यसलाई अझै बढाउन चाहेको बताए । रुपा गाउँपालिका देशकै गाउँपालिकामध्ये उत्कृष्ट बन्नेमा ढुक्क रहेको कोइरालाको भनाइ थियो । ‘रुपा गाउँपालिकाले जुन खालको विकासको नेतृत्व र सक्रियता देखाएको छ । यसले एक नम्बर गाउँपालिका हुने पक्काजस्तै देखिएको छ,’ कोइरालाले भने ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लामो प्रयासपछि पिच हुन लागेको सडकले खुसीको सञ्चार गरेको बताए । सडक पिच गर्ने काममा कुनै अवरोध नगरी सहयोग गर्न उनले गाउँवासीलाई आग्रह गरे । गाउँपालिकाका मुख्य सडक आˆनो कार्यकालमा पिच गर्ने ओझाले बताए ।

‘सडकको गुणस्तरमा कुनै सम्झौता हुँदैन’

२१ करोड रुपैयाँ लागतमा १८ महिनाभित्र पिच सम्पन्न गर्ने गरी सडकको ठेक्का दिइएको छ । २९ करोड रुपैयाँ लागत सरकारी स्टिमेट गरिएको जिल्लास्तरीय यो सडक पिच गर्न २७.७ प्रतिशत कम अर्थात २१ करोड ३२ लाख रुपैयाँमा असिस एन्ड फेवा जेभीले ठेक्का लिएको छ ।

सरकारी टेन्डर प्रक्रिया घटिघटाउमा मिलेको भए पनि सडकको गुणस्तरमा भने ठेकेदार कम्पनीले तलमाथि गर्न नपाउने जनप्रतिनिधिले बताए । ‘कम मूल्यमा ठेक्का लिएर भोलि कम गुणस्तरको सडक बनाउने छुट ठेकेदारलाई छैन,’ प्रदेशसभा सदस्य कोइरालाले भने, ‘आज ठेक्का लिने र भोलिदेखि बाहाना बनाएर ढिलाई तथा गुणस्तरहीन काम नगर्नुहोला ।’

गाउँपालिका अध्यक्ष ओझाले गाउँपालिका तथा स्थानीयले वातावरण बनाउने कुरामा ढुक्क हुन आग्रह गर्दै गुणस्तरीय सडक चाहिने बताए । ‘केके गर्नु पर्छ हामी तयार छौं, तपाईंहरुले यस्तो बाटो बनाउनुस् कि देशभरकाले बाटो सडक त रुपा गाउँपालिकाको जस्तो होस् भनुन्,’ अध्यक्ष ओझाले भने, ‘नत्र तपाईंहरुले ठेक्का लिएर तलमाथि गर्न पाउनुहुन्न ।’

प्रतिनिधिसभा सदस्य अधिकारीले आज बनाएर भोलि बिग्रने खालको सडक नचाहिएको बताए । ‘गुणस्तरीय मेटेरियल प्रयोग गर्नुस् र १८ महिना अगाडि नै हस्तान्तरण गर्नुस्, तपाईंलाई हामीले सम्मान र प्रोत्साहन गर्नेछौं,’ अधिकारीले भने ।

ठेकेदार राजेन्द्र पहारीले तोकिएकै समयमा सम्पन्न गरेर गुणस्तरीय सडक हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

भूकम्प परियोजनाको रकम सडकमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूकम्पीय आपतकालीन सहयता परियोजना अन्तर्गत सडक पिच हुन लागेको हो । भूकम्प पीडित घरबिहीन भइरहेको अवस्थामा सरकारले परियोजनाको रकम सडकमा लगाउन लागेको भन्दै आलोचना भएपछि थुप्रै सडकका छुट्याइएको रकम फिर्ता भएको थियो ।

कास्कीका २ वटा सडक भने परियोजनाको रकममार्फत पिच हुने पक्का भएको हो । हेमजादेखि मर्दी खानीपानी मुहानसम्मको सडकमा पिच गर्न अघिल्लो चरणमै सम्झौता भइरहेको छ भने दोस्रो चरणमा सिसुवा -पोल्याङटार सडकलाई पक्की बनाउन सम्झौता भएको हो । पछिल्लो चरणमा परियोजनामार्फत १०२ वटा सडक छानिएको भए पनि सिसु्वा -पोल्याङटार र अर्को खोटाङमा गरी जम्मा २ वटा सडकले मात्रै सम्झौता गरेको थियो ।

शिशुवा-पोल्याङटार भनिए पनि देउराली फेदीदेखि पोल्याङटारसम्म पिच गर्ने योजना अगाडि बढेको हो । सडक कार्यान्वयनमा जान लागेकाले सेन्टरबाट दुबैतर्फ १०/१० मिटरको राइट अफ वेमा कुनै पनि संरचना नबनाइदिन प्रविधिक कार्यालयका प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले आग्रह गरे । सडकको चौडाई ६.२५ मिटर हुने छ । सडकमा ३० वटा कल्भर्टहरु रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment