Comments Add Comment

मिडियासँग प्रधानमन्त्रीको गुनासो- केहीले आफ्नो दायित्व भुले

'सरकार र नेकपाबाट लोकतन्त्रलाई खतरा छैन'


२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलामा सभा जुलुस गर्न रोक लगाइको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी सिद्ध गर्न खोजेको गुनासो पोखेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको मिडिया सोसाइटीको नवनिर्वाचित नेतृत्वसँग उनले मिडियाको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्रीले भने- ‘एकछिन सरकारप्रति पूर्वाग्रही नभएर सोचौं, माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ? अनि यसलाई देखाएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोज्ने ? नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पना गर्न पनि सकिन्न ।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको भेटमा सहभागीले बताए । ‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उनले सहभागीले भने ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीका कैयौं नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले केही मिडिया जानाजान नेकपा र सरकारविरुद्ध उभिएको बताए ।

टेलिभिजन सञ्चालकहरुको संस्था मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, निवर्तमान अध्यक्ष कैलाश सिरोहिया लगायतका मिडिया सञ्चालक प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment