Comments Add Comment

सप्तरीमा शीत भण्डार निर्माण हुँदै

प्रदेश सरकारले माछा भण्डारणमा सहयोग गर्ने

२८ साउन, सप्तरी ।सप्तरीमा शीत भण्डार (कोल्ड स्टोर) निर्माणका लागि विस्तृत परियोजना तयार भएको छ ।

सदरमुकाम राजविराज नगरपालिकामा निर्माण गरिने शीत भण्डारको परियोजनाबारे सोमबार राजविराजमा जानकारी गराइएको छ ।

जिल्ला सहकारी संघ, सप्तरीले तयार पारेको परियोजना सोमबार एक कार्यक्रमकाबीच सरोकारबालाहरुलाई जानकारी गराइएको छ ।

संघले आयोजना गरेको कार्यक्रममा तीन हजार मेट्रिक टन क्षमता भएको शीत भण्डार खोलिने जानकारी दिइएको छ ।

सहकारी संघले आफ्नो लगानीसहित संघीय, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा शित भण्डार खोल्न लागेको हो । २९ करोड ६५ लाखको लागतमा निर्माण हुने शीत भण्डारका लागि जिल्ला सहकारी संघलाई ६ करोड दिनुपर्ने संघका अध्यक्ष बिनोद दत्तले जानकारी दिए ।

आगामी दुई वर्षभित्र शीत भण्डार निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ । शीत भण्डारमा कृषकहरुले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने अध्यक्ष दत्तले बताए ।

उनले आफूहरुसमेत कृषकहरुले उब्जाएको तरकारी तथा फलफूलहरु नाफा दिई खरिद गरेर भण्डारण गरिने योजना बनाएको बताए ।

माछा भण्डारणका लागि लगानी गरिने

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले शीत भण्डार निर्माण भएपछि सप्तरीका कृषकहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यहाँका कृषकहरुले बाली उब्जाएपनि राम्रो बजार पाउन नसक्दा समस्या भोग्नुपरिरहेको बताउँदै शितभण्डारले सहयोग पुग्ने बताए ।

उनले शीत भण्डार नभएको समयमा राम्रो बजार पाउन नसक्दा कृषि उब्जनी सडेर खेर जाँदा कृषकहरु पीडित बनिरहेको उल्लेख गरे ।

उनले फलफूल र तरकारी मात्र नभइ सप्तरीसहित प्रदेश २ मा माछा उत्पादन पनि राम्रोसँग भइरहेकाले माछा भण्डारणका लागि प्रदेश सरकारले लगानी गर्ने बताए । उनले माछा भण्डारणका लागि प्रदेश सरकारले छुट्टै शीत भण्डारमा लगानी गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शीत भण्डार नभएकै कारण यस वर्ष आँप कृषकहरुलाई सस्तोमा बेच्नुपरेको बताए । उनले शीत भण्डार भएपछि लामो समयसम्म आँप राख्न र खानसमेत सकिने उनले बताए ।

राजविराज नगरपालिकाकी उपमेयर साधना झाले शीत भण्डार स्थापना र संचालनका लागि नगरपालिकाले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment