Comments Add Comment

घामको भरमा दार्चुलाको सञ्चार, एनटिसीको विकल्पमा भारतीय सीमकार्ड प्रयोग

२९ साउन, दार्चुला । दार्चुलाको इन्टरनेट र फोनसेवा कतिवेला आउँछ, कतिवेला जान्छ केही ठेगान छैन । जिल्लाको मुख्य टावर बलशिखर रिपिटर टावरमा विद्युत् लाइन नहुदाँ इन्टरनेट तथा फोन सेवा अनिमित बनेको हो ।

जिल्लाको मुख्य टावर नै घामको भरमा सञ्चालन हुदाँ नेपाल टेलिकमका सेवाग्राहीहरु हैरानी खेपी रहेका छन् । मालिकार्जुन गाउँपालिकाको भगवतिस्थित बलशिखर रिपिटर टावरमा विद्युतीकरण नहुँदा दार्चुलाको इन्टरनेट र फोन सेवा घामको भरमा चलेको छ ।

वर्षातको समयमा घाम नलाग्ने हुदाँ नेपाल टेलिकमका सेवाग्राहीहरु मर्कामा परेका छन् । शनिबार राति १२ बजेदेखि दार्चुलाको इन्टरनेट र फोन सेवा अबरुद्ध भएका हो ।

बेलाबेला अबरुद्ध हुने दार्चुलाको इन्टरनेट फोन सोमबार दिउँसो करिब १२ बजेतिर संचालनमा आएको थियो । तर, साँझ करिब साढे ५ बजेटिर पुनः अबरुद्ध भएको थियो ।

सोमबार साँझबाट अबरुद्ध भएको इन्टरनेट तथा फोन सेवा मंगलबार बिहान करिब साढे १० बजे मात्रै सञ्चालन आएको छ । आकाश खुल्न थालेपछि इन्टरनेट र फोन सेवा संचालन भएको हो ।

बैतडीका टेलिकम टावरहरुले काम गर्ने भएकाले दार्चुलाका यी स्थानहरुमा फोन र इन्टरनेट सेवा सञ्चालनमा छ भने अन्य बस्तीहरु भने सञ्चार विहीन छन् ।

इन्टरनेट तथा फोन सेवा नियमित नहुदाँ बैकिंङ कारोबार तथा जिल्लामा क्रियाशील सञ्चार माध्यमहरुको दैनिक कामकाज प्रभावित भएको छ ।

रिपिटर टावरमा विद्युत् लाइन जोडिदै

घामको भरमा सञ्चालन हुँदै आएको बलशिखर रिपिटर टावरमा पछिल्लो समय विद्युत् लाइन जोडिने भएको छ ।

बेला बेला इन्टरनेट तथा फाने सेवा अबरुद्ध हुदाँ टेलिकमका सेवाग्राहीहरु मर्कामा परेको भन्दै नेपाल टेलिकम शाखा कार्यालय दार्चुलाले जिल्लाको मुख्य टावरको रुपमा रहेको बलशिखर रिपिटर टावरमा विद्युत् जडान गर्न लागेको हो ।

मुख्य रिपिटर टावर नै घामको भरमा सञ्चालन हुदाँ टेलिकमको सेवा प्रभावकारी नभएका भन्दै केही दिनभित्रै टावरमा विद्युत् लाइन जोड्न लागिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

केही दिनमै बलशिखर रिपिटर टावरमा टु फेजको विद्युत् लाइन जोड्ने तयारी भइरहेको टेलिकम प्रमुख गुरुङको भनाइ छ ।

यस्तै थ्री फेजको विद्युत् लाइनका लागि २/३ महिना लाग्ने भएकाले अल्पकालीन व्यवस्थाका लागि टु फेजको विद्युत् लाइन जोडिने र विस्तारै थ्री फेजको विद्युत् लाइन जोडिने नेपाल टेलिकम प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

नेपाल टेलिकमको विकल्पमा भारतीय सीमकार्ड प्रयोग

नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावकारी नहुदाँ नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गर्ने गरेका छन् ।

नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदाँ नेपाल टेलिकमको सेवाबाट हैरानी खेपिरहेका दार्चुला जिल्ला सदरमुकाम खलंगाका नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गर्ने गरेका हुन् ।

दार्चुला जिल्लामा नेपाल टेलिकमको फोन तथा इन्टरनेट फोन सेवा प्रभावकारी नहुदाँ सीमावर्ती क्षेत्र दार्चुलाका नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय नेपाल टेलिकमको सेवा अबरुद्ध भएपनि भारतीय सीमकार्डहरुमा इन्टरनेट सेवा दु्रत गतिमा चल्ने भएकाले पनि नेपाल टेलिकमका ग्राहकहरु भारतीय सीमकार्ड प्रयोगकर्ता बन्न थालेका हुन् ।

नेपाल टेलिकमका स्काई तथा नमस्ते सीमकार्डहरुमा भन्दा भारतीय सीमकार्डहरु एयरटेल, आइडीया, बीएसएनएल प्रयोगकर्ता दार्चुलामा बढ्न थालेका हुन् ।

नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदाँ र बेला बेला अबरुद्ध हुने भएकाले पनि सीमावर्ती क्षेत्रमा भारतीय सीम कार्ड प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment