पहिले ट्रेकिङ भन्ने कुरा विदेशीको ‘पेवा’ जस्तै लाग्थे । खुकुलो पहिरन, ट्रेकिङ सुज, ह्याटमा ठूल-ठूला झोला बोकेर उनीहरु पसिना चुहाउँदै उकाली ओराली गरेको देखिन्थ्यो । उनीहरुले जस्तै पैदल यात्राबाट डाँडापाखा छिचोल्ने ट्रेन्ड अहिले हाम्रा पुस्ताले पनि अनुसरण गर्न थालेका छन् ।
काठमाडौं आसपासमा शहरियाहरु अहिले सप्ताहन्त वा विदा मनाउनका लागि ट्रेकिङ जान थालेका छन् । छोटो अवधीको सही, ट्रेकिङले फरक अनुभूती दिलाउने मात्र होइन, शरीरमा ताजगी र स्फूर्ति पनि भर्छ ।
ट्रेकिङको आनन्द
प्राकृतिको अनुपम दृश्यावलोकन गर्दै पहाडी क्षेत्रमा ट्रेकिङ गर्नुको आनन्द नै बेग्लै हुन्छ । ट्रेकिङले तपाईलाई एक रोमाञ्चक अनुभव मात्रै दिँदैन यसले तपाईमा आत्मविश्वास पनि बढाउँछ ।
हिमाली क्षेत्रको ट्रेकिङको लागि नेपाल विश्वकै उत्कष्ट गन्तव्यमा पर्छ । नेपालमा रहेका अग्ला हिमालहरु, नदि, ताल र झरनाहरुको साथै नेपाली सँस्कृतिको कारणले पनि वर्षेनी लाखौंको संख्यामा विदेशी पर्यटकहरु ट्रेकिङको लागि आउने गर्छन् ।
विदेशी मात्रै होइन पछिल्ला वर्षहरुमा धेरै नेपाली युवाहरुलाई पनि ट्रेकिङको चस्का लागेको छ र उनीहरु पनि ट्रेकिङको सौखिन भएका छन् । वर्षको कम्तीमा पनि एकपटक ट्रेकिङ जाने तन्नेरीहरु बढेका छन् ।
कार्यालयबाट केही दिनको बिदा मिलाएर मिल्ने साथीहरुको समूहमा ट्रेकिङ गर्नाले हामीलाई नयाँ उर्जा र उत्साह प्रदान गर्छ । उकाली ओराली गर्दै हिँउले ढाकिएका हिमालहरु हेर्दै विस्तारै हाँसीमजाक गर्दै हिड्नु धेरै नै नौलो र रोचक अनुभव हुन्छ ।
यसरी गर्नुहोस् ट्रेकिङको तयारी
यदि तपाईं ढाकिएको हिमालको सुन्दरतालाई नजिकैबाट हेर्न चाहनुहुन्छ र हिमाली भेगको जनजीवनलाई महसुस गर्न चाहनुहुन्छ भने तपाईंले केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।
ट्रेकिङ जाने सोख प्राय सबैमा हुन्छ । तर, ट्रेकिङको बारेमा सुन्दा जति रोमाञ्चक लाग्छ वास्तवमा यो धेरै नै खतरनाक पनि हुन सक्छ । त्यसैले ट्रेकिङ जाने तयारी गर्दा तपाईंले धेरै कुरामा ख्याल राख्नुपर्छ ।
ट्रेकिङका सौखिनहरुलाई हिमाली क्षेत्रको बारेमा जानकारी हुनुपर्छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा जानुभन्दा पहिले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा जानकारी लिनुपर्छ । तपाईं कहिल्यै पनि नगएको ठाउँमा एक्लै वा पथप्रर्दशक बिना जान हुँदैन । त्यसैले अनुभवी ट्रेकिङ गाइडसँग मात्रै जानुहोस् ।
त्यसैगरी त्यहाँ आइपर्ने स्वास्थ्य समस्याको बारेमा पनि जानकारी लिनुपर्छ । धेरैलाई उच्च हिमाली क्षेत्रमा ट्रेकिङको लागि जाँदा ‘अल्टिच्युड सिकनेस’ हुन सक्छ त्यसैले त्यस्तो भएमा त्यसको लागि आवश्यक औषधिहरु लिएर जाँदा राम्रो हुन्छ ।
कैयौंपटक मानिसहरु घुम्ने खुसीयाली हतार हतार गरि झोला प्याक गर्छन जसले गर्दा उनीहरुले आवश्यक पर्ने सामानहरु छुटाउन सक्छन् भने अनावश्यक सामानहरु पनि झोलामा राख्न सक्छन् ।
यस्तो यसकारणले पनि हुन्छ किनभने धेरैलाई यात्राको क्रममा आफूलाई कुन कुने चीजको आवश्यकता पर्छ भन्ने बारेमा पर्याप्त जानकारी हुँदैन । ट्रेकिङमा जाँदा झोला बोकेर हिँड्नुपर्ने भएकाले तपाईले आवश्यक सामानहरु मात्रै बोक्नुहोस् ताकी झोला भारी नहोस् ।
ट्रेकिङमा जाने समयमा आफ्नो ब्यागमा के राख्ने र के नराख्ने थाहा पाउनुभयो भने तपाईलाई झोला बोकेरै पहाडमा हिँड्दा पनि कुनै किसिमको समस्या हुँदैन ।
यी हुन् ट्रेकिङको लागि आधारभुत कुराहरु
ट्रेकिङको लागि हृयाट वा क्याप, चश्मा, ट्रेकिङ सुज, लठ्ठी सबैभन्दा आवश्यक सामान हुन् । पहिरनको कुरा गर्दा जिन्स वा अरु भारी कपडाहरु भन्दा सजिलो हुने टिसर्ट र ट्राउजर लगाउन उपयुक्त हुन्छ ।
यसबाहेक रकस्याक, पानीको बोतल, सनब्लक कि्रम, चक्कु पनि तपाईको आवश्यक सामानको सूचीमा हुनुपर्छ । त्यस्तै हिमाली क्षेत्रमा गइरहनुभएको छ भने बाक्लो जाकेट, उनीका कपडा, टोपी र मोजा पनि राख्न नर्बिसनुहोस् ।
सबै आवश्यक सामानहरुको लागि एक चेकलिस्ट बनाउनुहोस् र झोला प्याकिङ गर्ने बेलामा लिस्ट हेर्दै एक एक सामान चेक गर्दै प्याक गर्नुहोस् । यसले कुनै पनि कुरा छुट्दैन ।
यसरी गर्नुहोस् प्याकिङ
सबै सामानहरुलाई व्यवस्थापन गर्न साँच्चै नै एक गा्रहो र झन्झटिलो काम हो र यस भन्दा पनि गाह्रो त्यसलाई एउटै झोलामा मिलायर राख्न हुन्छ ।
सबै सामानहरुलाई झोलाभित्र एकैठाउँमा कोच्नुको सट्टा मिलायर छुट्टाछुट्टै स्थानमा राखेमा तपाईलाई कुनै चीज खोज्न र निकाल्नको लागि र पुरा झोला खाली गर्न पर्दैन ।
तयारी स्न्याक्सहरु बोक्न नबिर्सनुहोस्
तपाईले ट्रेकिङमा जाँदा पकाउन नपर्ने तयारी खानेकुराहरु बोक्न नबिर्सनुहोस् । तपाईले भोक लागेको बेलामा त्यसलाई खान सक्नुहुन्छ ।
ट्रेकिङको समयमा भोक र प्यास लाग्ने सामान्य कुरा हो तर, त्यस समयमा केही बनाएर खानु हरेक स्थानमा सम्भव हुँदैन । ट्रेकिङ जाने ठाउँहरु धेरै दुर्गम क्षेत्र हुन्छन् त्यसैले त्यहाँ जतिखेर भन्यो त्यतिखेर खानेकुराहरु नपाइन पनि सक्छ ।
त्यसैले तपाईले आफ्नो झोलामा चाउचाउ, बिस्कुट, चिप्स, भुजिया, कुकिज, चकलेटहरु जस्ता खानेकुराहरु चीजहरु राख्नुहोस् ।
प्रतिक्रिया 4