Comments Add Comment

विद्युत काटिएर भरतपुरका अस्पताल हैरान

३० साउन, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले प्रदान गरेको हटलाइन (डेडिकेटेड फिडर) मा समस्या आउँदा यहाँका अस्पतालहरुले हैरानी भोग्न थालेका छन् ।

पछिल्लो समयमा अस्पतालहरुलाई दिइएको हटलाइन सेवा अनियमित बनेको छ । भरतपुर अस्पतालमा हटलाइन नै अनियमित हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताए । अत्यावश्कीय सेवा अन्तर्गत रहेको अस्पतालमा बढी मूल्य तिर्ने गरी डेडिकेटेड विद्युत सप्लाई हुँदै आएको छ ।

अस्पतालका मेसु डा. खड्काका अनुसार अस्पतालमा भएको जेनेरेटरले सबैतिर लाइन धान्न नसक्ने हुँदा समस्या आएको बताए । ‘साधारणतय हटलाइन जाँदैन भन्ने मानसिकतामा काम गरिरहेका हुन्छौं तर त्यसमा पनि समस्या हुँदा सेवा नै प्रभावित बनेको छ’ मेसु खड्काले भने, ‘यसको भरपर्दो र दिगो व्यवस्थापन एवम् सेवाको सुनिश्चितता भए राम्रो हुने थियो ।’
अस्पतालमा २५० केभिए को जेनेरेटर भएपनि पछिल्लो समयमा उपकरण र सेवा थपिदा लोड धान्ने अवस्था छैन । अस्पतालले विद्युत प्राधिकरणलाई हटलाइनको प्रतियुनिट २२ रुपैयाँसमेत बुझाउँदै आएको छ । पछिल्लो समयमा मात्रै अस्पतालले २९ लाखभन्दा बढी रकम प्राधिकरणलाई भुक्तानी गरेको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निर्मल लामिछानेले पनि हटलाइनमा समस्या हुँदा समस्या पर्ने गरेको बताए । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले हटलाइन नै भएपनि कहिलेकाही समस्या आउँदा आपूर्ति बन्द हुने गरेको बताए । ‘हटलाइनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । तर कहिलेकाँही समस्या आउँछ’ महतोले भने, ‘प्राविधिक कुराको कसरी ग्यारेन्टी गर्ने ?’

भरतपुर अस्पतालका मेसु डा. खड्काले समस्या र त्यसको अवधिका विषयमा पूर्वजानकारी भए व्यवस्थापनमा सहजता आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment