Comments Add Comment

युएईमा नेपाली चेलीको दुविधाः आममाफी त पाइयो, जागिर कसरी जोगाउने ?

दैनिक ५० जना नेपाली कामदार दूताबासको सम्पर्कमा

३१ साउन, युएई । नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदारमाथि प्रतिबन्ध लगाएपछि भोजपुर साङपाङकी सरिता थापा (नाम परिवर्तन) खाईपाई आएको जागिर जाने डरले युएईबाट नेपाल फर्कन पाएकी थिइनन् ।

साउन १६ गतेदेखि युएई सरकारले सुरु गरेको आममाफी प्रकरणले भने उनको घर फर्कने बाटो सुनिश्चित गरेको छ ।

युएईमा हाल काम गरिरहेको ठाउँबाट बाहिर निस्कन पनि सरितालाई समस्या थियो । एक त घरेलु कामदार, दोस्रो, आफूसँग राहदानी र बसोबास गरिरहेको ठाउँको प्रमाण खुल्ने कागजात नभएका कारण उनी घरबाट बाहिर निस्कन सकेकी थिइनन् ।

दलालले झुक्याएर युएई ल्याए

दुई वर्षअघि काठमाण्डौँस्थित एक मेनपावरले सरितालाई नेपालकै विमानस्थलबाट भिजिट भिसामा युएई ल्याएको हो । मेनपावरको नाम भने उनलाई हेक्का छैन ।

होटलमा काम लगाइदिने आश्वासन दिएर यहाँ ल्याएको भएता पनि उनले त्यो अनुसारको काम पाइनन् । युएईको अजमानमा अनिता नाम गरेकी एक एजेन्टको रोहवरमा उनलाई राखियो ।

त्यहाँ उनी एक रात बसिन् । धेरै वातावरण बुझ्न त पाइनन् । तर, सरिता भन्छिन्–‘दलालको अखडा रहेछ त्यहाँ । काम लगाइदिने भनेर नेपालबाट ल्याएर नेपाली युवतीहरुलाई राख्ने ठाउँ नै त्यहीँ हो । एकजना दिदीले तीन महिनादेखि त्यहीँ रहेको गुनासो गरिन् ।’

युएई सरकारले घोषणा गरेको आममाफीको सुविधा कात्तिक १४ सम्म रहनेछ । अवैध बसेका नेपालीलाई दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ । एक सातादेखि सञ्चालन भइरहेको शिविरबाट दैनिक ४५/५० जना नेपालीले सेवा लिइरहेका छन्

युइए आएको भोलिपल्ट अनिताले केही मानिसहरुकहाँ लगेर सरितालाई अन्तरवार्ता दिन लगाइन् । सरिताको अरबी भाषामा राम्रो दख्खल भएकाले उनलाई एक घरमा काम मिल्यो ।

काम दिने साहुले एजेन्ट (अनिता) लाई १२ हजार दिराम ( करिब ३ लाख ५० हजार रुपैयाँ ) बुझाए ।

त्यस घरमा केही समय काम गरेपछि साहुबाट विभिन्न यातना दिएका कारण सरिताले त्यहाँको जागिर छाडिन् ।

काम लगाइदिने एजेन्टलाई बारबार खबर गरेता पनि वेवास्ता गरेपछि आफन्तले अर्को एक घरमा काम लगाइदिए । तर, उनको राहदानी पहिले काम गरिरहेको ठाउँमै रहेकाले नदिएकाले उनी अवैधानिक भएर काम गर्न बाध्य भइन् ।

राहदानी दिलाइदिन एजेन्टलाई पटक–पटक आग्रह गर्दा १२ हजार दिराम दिए मात्रै राहदानी फिर्ता आउने जवाफ पाएको सरिता बताउँछिन् ।

घर फर्किए परिवार पाल्न समस्या

युएईको सरकारले अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक फर्कन आग्रह गर्‍यो । यो जानकारी नजिकका साथीहरुबाट पाएपछि सरिता नेपाली दुतावासमा पुगिन् ।

अहिले उनको नेपाल फर्कन चाहिने कागजात बनिसकेको छ ।

युएईमा घरेलु कामदार भए तापनि सरिताको कमाइ राम्रो छ । यहीँको कमाइले नेपालमा रहेका श्रीमान र एक छोराको गुजारा चलिरहेको छ । तर, उनीसँग राहदानी छैन । यसकारण उनलाई फेरि युएईमा फर्केर काम गर्न सहजता छैन ।

नेपाल आएपछि राहदानी बनाउने र पुनः काम गर्न युएई फर्कने सरिताको इच्छा छ । हाल काम गरिहेको ठाउँमा नै उनलाई राख्ने भएका छन् । तर, भविश्यमा नेपाल आवत–जावत गर्न समस्या नआओस् भनेर उनी वैधरुपमा काम गर्न चाहान्छिन् ।

नेपाल फर्किएर राहदानी बनाएपछि पुनः उनलाई खाईपाई आएको जागिरमा लगाइदिने केही एजेन्टले आश्वासन पनि दिएका छन् । तर, सरकारको नीतिअनुसार उनी युएई फर्कन सक्ने अवस्था छैन ।

सरिता भन्छिन्, ‘एजेन्टहरुले फेरि भिजिट भिसामा ल्याएर काममा लगाइदिने भन्नुभएको छ । तर, अब आउन पाइनँ भने त नेपालमै बसेर परिवार पाल्न समस्या हुन्छ । म नेपालमा राहदानी बनाएर युएई नै आइहाल्ने हो ।’

भिजिट भिसामा आएर काम गर्नेहरु नेपाल फर्कन तयार छन् । तर, फेरि युएईमा आएर जागिरमा लाग्न दलालहरुकै भर पर्नुपर्ने डर छ उनीहरुलाई ।

भिजिट भिसामा आएका सबैको अवस्था उस्तै

युएईमा कार्यरत सरिता त एक प्रतिनिधिपात्र मात्रै हुन् । उनीजस्ता जस्तै धेरैै नेपाली चेलीहरु खाडीका मुलुकमा यस्तै प्रकृतिको समस्या झेलिरहेका छन् ।

नेपालमा बिदा सकेर परदेश फर्कने समयमा लिनुपर्ने श्रम स्वीकृति नेपाल सरकारले नदिने भएपछि कतिपय स्वदेश फर्कनै चाहँदैनन् । फर्केकाहरु पनि काममा फर्कनका लागि दलाललाई पैसा खुवाउन बाध्य छन् ।

युएई सरकारले दिएको आममाफी प्रकृयामा सहभागी हुने नेपालीहरुको संख्या बढिरहेको छ । दूतावासमै पुगेर सेवा दिन असहज हुनेहरुका लागि दुतावास अबुधाबीले युएईका विभिन्न स्थानमा घुम्ती शिविरमार्फत सेवा दिइरहेको छ ।

अबुधाबीको अलशामा एम्नेस्टी सेन्टर, दुबईको अलअबिर इमिग्रेसन र सारजहाको सारजहा इमिग्रेसनबाट विभिन्न विषयमा परामर्श दिनुका साथै दूताबासले ट्राभल डकुमेन्ट तत्काल उपलब्ध गराइरहेको छ ।

दुतावासको मुख्य कार्यालय र तीन स्थानमा एक सातादेखि नियमित सञ्चालन भइरहेको शिविरबाट दैनिक ४५/५० जना नेपालीहरुले सेवा लिइरहेको कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलले अनलाइनखबरलाई बताए ।

फुँयालका अनुसार भिजिट भिसामा युएई आएर ओभरस्टे भएकाहरुको समस्या धेरै आउने गरेको छ । अहिले भने घरेलु महिला कामदार र मेनपावरको माध्यमबाट आउनेको समस्या केही कम पाइएको छ ।

तर, सम्झौता अनुसारको काम र सेवा नपाएर वीचैमा अन्यत्र काम खोजेर अवैधानिक बस्नेहरुको समस्या छिटफुट भेटिने गरेको उनले बताए ।

आममाफी प्रक्रियामा सहभागी हुने धेरैले नेपाल फर्किन भन्दा पनि बैध भएर यहीँ काम गर्ने इच्छा जनाएको देखिएको छ । तर, गैरकानूनीरुपमा यहाँ बसोबास गरिरहेका नेपालीलाई तीन महिनाको आममाफीमार्फत स्वदेश फर्कन दिइएको समयभित्रै उनीहरुलाई स्वदेश फर्काउन दुतावासले सहजीकरण गरेको दूताबासका अधिकारीहरु बताउँछन् ।

सेवाग्राहीको उपस्थिति र आवश्यकता अनुसार यस्तो शिविर अन्य राज्यमा पनि सञ्चालन गर्ने दुतावासले जनाएको छ । आफ्नो देश फर्कन चाहने नागरिकले विनाजरिवाना फर्कन पाउने र भविश्यमा निश्चित समयावधि पार गरेर पुनः युएई आउन सक्नेछन् ।

युएई सरकारले घोषणा गरेको आम माफीको सुविधा कात्तिक १४ गतेसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment