Comments Add Comment

महंगो पारिश्रमिकमा ‘बेला’ गर्दै प्रदिप, यी हुन् हिरोइन


नेपाली चलचित्रका चर्चित नायक प्रदिप खड्काले एक नयाँ चलचित्र साइन गरेका छन् । उनले महंगो पारिश्रमिक लिएर चलचित्र ‘बेला’ साइन गरेका हुन् । यो चलचित्रलाई डाक्टर सिंह गुरुङले निर्माण गर्दैछन् । सुर्खेतका हल व्यवसायी गुरुङले ‘बाटुली’ लगायतका चलचित्र निर्माण गरेका थिए ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदिप खड्काले महंगो पारिश्रमिक लिएका छन् । निर्माता गुरुङले अनलाइनखबरसँग भने-‘हो, प्रदिप र रामबाबु फाइनल भैसकेका छन् । अहिले रामबाबुले कथा लेख्न थालेका छन् । रामबाबुले कथा तयार गरे लगतै चलचित्रको छायांकन सुरु हुनेछ ।’

प्रदिपले यो चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको बिषयमा गुरुङले भने-‘प्रदिपको पारिश्रमिक ५० भन्दा बढी पनि हुनसक्छ, कम पनि हुनसक्छ । चलचित्रको नाफाको आधारमा उनले बढी या कम पारिश्रमिक पाउने छन् । तर, चलचित्र चलेन भने पनि ४० लाख भने उनले पक्का पाउनेछन् ।’ यता, लेखक तथा निर्देशक रामबाबु गुरुङको पारिश्रमिक पनि यो चलचित्रमा महंगो रहेको वुझिएको छ ।

यता नायक प्रदिप खड्काले भने अफर राम्रो आएको तर आफूले मौखिक सहमती मात्र गरेको बताए । उनले, चलचित्रका लागि निर्देशक र कथा फाइनल भएपछि आफूले काम गर्ने सुनाए । आफू काम गर्नका लागि इच्छुक रहेको उनको भनाई छ । प्रदिपले ३ चलचित्रबाट ५० लाख पारिश्रमिकमा अफर आएको कुरालाई स्विकार समेत गरे ।

चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । नायिकाको रुपमा चितवनकी आशु न्यौपानेलाई फाइनल गरिएको निर्माता गुरुङले जानकारी दिए । चितवनमा रहेर आशुले मोडलिङ गर्दै आएकी छिन् । यो चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुनेछ ।

प्रदिप अहिले चलचित्र ‘रोजी’को प्रचारमा व्यस्त छन् भने उनको पाइपलाइनमा ‘लभ स्टेशन, प्रेमगीत ३, भैरवी’ लगायतका चलचित्र पनि छन् । निर्माता गुरुङले अब आफूले बर्षमा २ वटा चलचित्र निर्माण गर्ने बताए । हरेक चलचित्रको नाम ‘ब’बाटै सुरु हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment