+
+
Shares

काठमाडौं प्रहरी परिसरः एसएसपी पोखरेलको विदाइ, लामाको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते १९:१४
एसएसपी लामा मायाको चिनो प्रदान गर्दै ।

१ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलको विदाइ गरिएको छ । शुक्रबार जिल्ला सुरक्षा समितिले प्रशासन कार्यालय, काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच पोखरेलको विदाइ गरियो भने नयाँ प्रमुख एसएसपी वसन्त लामाको स्वागत गरिएको छ ।

शुक्रबारै परिसरमा समेत एक समारोहको आयोजना गरी पोखरेलको विदाइसँगै लामाको स्वागत गरिएको छ । योसँगै लामाले परिसर प्रमुखका रुपमा कार्यभार सम्हालेका छन् । पोखरेलको भारतस्थित नेपाली दूतावासमा सरुवा भएको छ ।

कार्यक्रममा बोल्दै पोखरेलले काठमाडौंमा रहुञ्जेल आफूले सबै क्षेत्रबाट बलियो साथ, सहयोग पाएको भन्दै धन्यवाद ज्ञापन गरे । साथै, नयाँ नेतृत्वलाई पनि आफूलाई झैं साथ दिन आग्रह गरे ।

‘हामीले संगठनको लागि काम गर्ने हो । जहाँ बसे पनि हामीले संगठनको लागि काम गरेर संगठन राम्रो बनाउन सक्यौं भने हामी सबैको मर्यादा र गरिमा बढ्छ’, पोखरेलले भने, ‘त्यसैले मलाई तपाईँहरुले जति सहयोग गर्नु भएको थियो । नयाँ आउने नेतृत्वलाई पनि त्यसरी नै सहयोग गरिदिनु होला ।’

एसएसपी पोखरेललाई मायाको चिनो प्रदान गर्दै काठमाडौंका प्रजिअ घिमिरे ।

‘हामीहरु जहिल्यै पनि संगठन प्रमुखबाट अपेक्षा मात्रै गर्छौं । तर, संगठनमा रहेर खटिएको ठाउँमा कति योगदान पुर्‍यायौं, त्यसले संगठनलाई कति उपचाइमा पुर्‍यायो भन्ने हेर्दैनौं’, उनले थपे, ‘आफू बसेको ठाउँमा के दिन सक्छौं भन्ने हिसाबले काम हेर्दैनौं ।’ संगठनमा जो जहाँ खटिए पनि उच्च व्यवसायिकता र इमान्दारितापूर्वक काम गरेर जनताको मन जित्नु पर्ने उनले उल्लेख गरे।

आफ्नो कार्यकालमा काठमाडौं प्रहरीले पाएको सफलता ‘टिम वर्क’ को परिणाम भएको भन्दै उनले मातहतका कर्मचारीहरुलाई पनि धन्यवाद दिए ।

नवनियुक्त काठमाडौं प्रहरी प्रमुख लामाले पनि पोखरेललाई धन्यवाद ज्ञापन गर्दै नयाँ ठाउँमा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । साथै, उनले मातहतका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

सुरक्षा समितिको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सशस्त्र प्रहरीका एसपी दमन थापा, राष्ट्रिय अनुसन्धान विभागका काठमाडौं प्रमुख, प्रसाशनका अन्य कर्मचारी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?