Comments Add Comment

रामेछाप प्रशासनले सुरु गर्‍यो भिडियो वडापत्र

३ भदौ, रामेछाप । राज्यका सेवा प्रदायक निकायले गर्ने कामकाजहरु अपारदर्शी भए भन्ने गुनासो आइरहेको बेलामा जिल्ला प्रशासन कार्यालयले भने कार्यालयले दिने सेवाहरुको भिडियो बडापत्र तयार गरेको छ ।

कार्यालयले तयार गरेको बडापत्र सूचना दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो ।

हुराडेक दोलखाको पारस्पारिक जवाफदेहीता परियोजनासँग सहकार्य गरी कार्यालयले बडापत्र तयार गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कार्यालय बाहिर नागरिक बडापत्र टाँसिएको भए पनि पढ्न नजान्ने सेवाग्राहीलाई सो उपयोगी भएको नपाइएको उनले बताए । ‘पढ्न नजान्नेले पढ्नै सक्दैन, जान्नेले पनि भित्तामा लेखेको कुरो हेरेर बस्ने अभ्यास देखिएन । त्यसैले श्रव्यदृश्य वडापत्र राखिएको हो’, प्रजिअ शर्माले भने ।

कार्यालयको प्रतिक्षालयमा राखिएको बडापत्र सेवा लिन आउनेले सेवाको लागि पर्खिएर बस्दा सुन्न र हेर्न सक्ने भएकोले उपयोगी भएको उनले बताए ।

रामेछाप जिल्लामा केही कार्यालयले यसअघि अडियो वडापत्रको अभ्यास सुरु गरेका भए पनि भिडियो बडापत्र राख्ने जिल्ला प्रशासन कार्यालय पहिलो कार्यालय हो ।

यसअघि भिडियो बडापत्र तयार गरेको भएपनि राज्य नयाँ संरचनामा गएपछि सो वडापत्रलाई परिमार्जन गर्नु पर्ने भएकोले तयार गरेको बडापत्र कार्यालयले प्रशारणमा ल्याएको थिएन ।

नयाँ परिमार्जित वडापत्र आइतबारबाट सार्वजनिक भएको र कार्यालयको प्रतिक्षालय परिसरमा चौविसै घण्टा प्रशारण हुने प्रजिअ शर्माले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले अहिले पनि सेवाप्रदायक निकायहरुले नागरिकलाई दिने सूचना लुकाई रहेको बताए ।

उनीहरुले सेवा प्रदायक निकायले हरेक ३ महिनामा सार्वजनिक गनर्ृपर्ने २० प्रकारका सूचना सार्वजनीक गर्ने अभ्यासनै नभएको बताए ।

प्रमुख जिल्ला अधिकारी शर्माले नागरिकका सूचनाको अधिकारलाई सहज र सरल रुपमा पाउने व्यवस्था गर्न गराउन प्रशासन लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment