Comments Add Comment

बालअधिकार सुनिश्चितताका लागि कानून कार्यान्वयनमा जोड

३ भदौ, वीरगञ्ज । बालअधिकार सुनिश्चत गर्न कूनन बनाएर मात्रै नहुनेमा सरोरकारवालाले जोड दिएका छन् । कानूनको पालना र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

व्यवहार र सोचमा परिवर्तन नआएसम्म बालबालिकाको अधिकार सुनिश्चित गर्न कठिन हुने उनीहरुको तर्क छ । वीरगञ्जमा आयोजित बाल अधिकार दिगो विकास लक्ष्य, बालमैत्री कानून तथा बालबालिकामा लगानी विषयक कार्यशालामा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले बालअधिकार सुनिश्चितका लागि स्थानीय र प्रदेश सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आफूहरु बालबालिकाको हितमा काम गर्न तयार रहेको र सबैको साथ आवश्यक रहेको बताएका छन् ।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले विभेदविरुद्धको लडाइ अझै जारी रहेको बताएका छन् ।

उनले बाल श्रम, बाल विवाह र दाइजो प्रथाको नाममा बालबालिका माथि अन्याय भइरहेको बताउँदै प्रदेश सरकार सबैखाले सामाजिक कुरिति, कुसंस्कारविरुद्ध लागि पर्ने आश्वासन दिए । ‘ भाषणमा बालश्रम गराउँदिन, बालविवाह गर्दिन, दाइजो लिन्न दिन्न भन्नेहरु धेरै हुन्छन्, जब आफ्नो घरमा त्यस्तो अवस्था आउँछ हात बाँधेर बस्ने चलन छ,’ उनले भने, ‘मौखिक प्रतिबद्धता गरेर मात्रै हुँदैन बालबालिको अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भिर हुनैपर्छ । प्रदेश सरकार यस्ता विषयमा गम्भीर छ ।’

बालअधिकार सुनिश्चित गर्नकै लागि र मधेसमा पछि परेका बालबालिकाको उत्थानका लागि नै प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

भाग्यले नभइ प्रदेश २ राज्यकै उपेक्षाका कारण सुगम र स्रोत साधन युक्त भएर पनि शिक्षा, स्वास्थ्य लगायतका कुरामा पछि परेको बताउँदै राज्यमन्त्री शर्माले अब त्यसो नहुने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य करिमा वेगमले महिला तथा बालबालिकाको क्षेत्रमा आवश्यक बजेट छुट्याएर प्रभावकारी काम हुनुपर्ने बताइन् । ‘कानूनमा अधिकारका कुराहरु लेखेर मात्रै हुँदैन, बालबालिकाको शिक्षामा गम्भीर हुनुपर्छ, छोरीलाई छोरा सरह व्यवहार गरिनुपर्छ,’ उनले भनिन्, ‘ महिला बालबालिकाको लागि प्रयाप्त बजेट छुट्याएर, प्रभावकारी रुपमा खर्च हुनुपर्छ ।’

अर्का प्रदेश सभा सदस्य रमेश पटेलले छोरी सुरक्षित हुने वातावरण निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै कानून कार्यान्वयनमा जोड दिइने बताए ।

सेभ द चिल्ड्रेनको सहयोगमा कन्र्सेटियम नेपाल र संरक्षण नेपालले वीरगञ्जमा आयोजना गरेको कार्यशाला दुईदिनसम्म चल्नेछ ।

प्रदेशस्तरीय कार्यशालामा स्थानीय तहका जनप्रतिनिधिहरु, बालबालिकाहरु र अन्य सरोकारवाला सहभागी रहेको संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment