+
+

विद्यालयको सिकाई-पद्धतीमाथि अभिभावकले प्रश्न गर्ने कि ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते ८:४०

एउटा रोचक कथा छ । दुई मित्र एक नदी किनारमा हिँड्दै थिए । मध्यन्ह चर्को गर्मी थियो । आकाशमा घामको र जमिनमा बालुवाको रापले हपहपी थियो । तिर्खाले उनीहरुको घाँटी सुक्यो ।

‘यस्तो गर्मीमा चिसो दुध घटघट पिउन पाएँ कति तृप्त भइन्थ्यो’ एक साथीले भन्यो । अर्का साथी दृष्टिविहिन थिए । उनले दुध देखेका वा चाखेका थिएनन् । आँत हरहर भएको बेला तृप्त गर्ने दुध कस्तो हुँदो हो ? उनमा जिज्ञासा जाग्यो ।

दृष्टिविहिन मित्रले सोधे, ‘अँ त साथी, दुध चाहि कस्तो हुन्छ ?’

‘दुध सेतो हुन्छ’ पहिलो मित्रले जवाफ फर्काए ।

दृष्टिविहिनलाई ‘सेतो’ पनि थाहा थिएन । उसले सोध्यो, ‘सेतो चाहिँ कस्तो हुन्छ ?’

प्रश्न सुनेर पहिलो मित्र एकछिन त रनभूल्लमा परे । कहिल्यै सेतो नदेखेको साथीलाई ‘सेतो’ कसरी बुझाउने ?

उनले हत्तपत्त भने, ‘सेतो भनेको राजाहाँस हुन्छ नि, त्यस्तै हो ।’

‘राजाहाँस कस्तो हुन्छ ?’ दृष्टिविनिले राजाहाँस पनि त देखेकै थिएन ।

पहिलो मित्रले आफ्नो कुइनो बङ्गाएर पाखुरालाई राजाहाँसको टाउको जस्तै बनाए । र, दृष्टिविहिन साथीको हात त्यसमा थमाउँदै भने, ‘यी यस्तै हुन्छ ।’

दृष्टिविहिन साथी चकित भए । उनले विस्मय मान्दै सोधे, ‘अनि यति बाङ्गो खाँदा घाटीमा अड्कदैन ?’

हाम्रो शिक्षक र शिक्षा

कुनैपनि कुरालाई सही ढंगले बुझाउन नसक्दा त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुराको दृष्टान्त हो यो कथा । वर्तमान समयमा हाम्रो शिक्षण विधी पनि करिब यस्तै अवस्थाबाट गुजि्ररहेको छ ।

शिक्षकहरु पाठ्यपुस्तक हेर्छन् । त्यसमा लेखिएका कुरालाई आफ्नो तरिकाले पढाउँछन्, घोकाउँछन् । बालबालिकाले त्यो कुरालाई कसरी ग्रहण गर्छ ? त्यसबारे उनीहरुलाई चासो र सरोकार हुँदैन । बस् उनीहरुलाई च्याप्टर वा पाठ सकाउनु छ । र, बालबालिकाले हु-बहु त्यो पाठ कण्ठ गरे पुग्छ ।

परीक्षामा त्यही पाठबाट प्रश्न सोधिन्छ । सोधिएको प्रश्नको उत्तर ठ्याक्कै त्यस्तै हुनुपर्छ, जो पुस्तकमा लेखिएको छ । जस्तोको तस्तै उत्तर लेख्ने बालबालिका उत्कृष्ट कहलिन्छन् । यसबाट अभिभावक पनि खुसी यता विद्यालयको पर्फमेन्स पनि राम्रो ।

तर, पाठ्यपुस्तकमा कुनैपनि पाठ किन राखिएको छ ? त्यो कुन कक्षाका वा कुन उमेर समूहका विद्यार्थीका लागि आवश्यक र उपयोगी छ ? त्यसलाई कुन शैलीले बुझाउनु वा पढाउनु पर्छ ? यसबारे शिक्षकहरु घोत्लिदैनन् । किनभने उनीहरुलाई ड्युटी जो पुरा गर्नुछ ।

पाठ्यक्रमकै उदेश्य बुझिनसक्नु

हामी ठान्छौं, बालबालिकाले पाठ्यपुस्तक घोकेपछि उनीहरु जान्ने हुन्छन् । जान्ने हुनु भनेको शिक्षित हुनु । शिक्षित भएपछि उनीहरु टाठो-बाठो हुन्छन् । टाठो-बाठो भएपछि गरिखान्छन् ।

हामीलाई छोराछोरीले गरिखाने भएको देख्ने आकंक्षा । त्यही भएर विद्यालयमा पढ्न पठाएका छौं । तर, विद्यालयमा छोराछोरीले कस्तो कुरा पढिरहेको छ ? के पढिरहेको छ ? उनीहरुले पढेको कुरा कति जीवनोपयोगी छ ? यसबारे अभिभावकले सायदै सोचेका होलान् । उनीहरुलाई त के लाग्छ भने, आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गरिदिएपछि कुनै कारखानाले जस्तै एउटा कच्चा पदार्थलाई ‘तयारी माल’ बनाएर उत्पादन गरे झै ‘शिक्षित’ बनाइदिन्छ ।

एकदिन चार कक्षामा पढ्ने मेरी भान्जी नेपाली पुस्तकको निबन्ध घोक्दै थिइन् । निबन्धको शीर्षक थियो, गाई । त्यहाँ गाईबारे यसरी लेखिएको थियो, ‘गाई जनवार हो । यसको चार वटा खुट्टा हुन्छ । दुई वटा कान हुन्छ…।’

गाई कस्तो हुन्छ भन्ने कुरा त चार कक्षामा पढ्ने उमेरका बच्चाले विस्तारमै वयान गर्न सक्छन् । किताबमा ‘गाईको चार वटा खुट्टा हुन्छ’ घोकेर उनलाई कस्तो ज्ञान आर्जन हुन्छ ?

तपाईं आफ्नो बच्चाको पाठ्यपुस्तक पल्टाएर हेर्नुहोस् र त्यसबाट बच्चाले के सिक्छन् भन्ने कुरामा घोत्लिनुहोस् त, चक्कर लाग्न सक्छ । चक्कर यसकारण कि, त्यसमध्ये कतिपय पाठको उदेश्य अर्थहिन हुन्छ । त्यही अर्थहिन पाठ घोकेर हु-वहु परीक्षामा लेख्नुपर्ने दवावमा तपाई/हाम्रा छोराछोरी गुजि्ररहेका छन् ।

चार कक्षा पढ्ने मेरो छोरीका निम्ति ८ वटा मोटा-मोटा पुस्तकको सूची थमाइएको थियो । ति पुस्तकको भारी १० बर्षे छोरीको मेरुदण्डले थेग्न सक्ने थिएन । त्यती भारी पुस्तक उनले एक बर्षमा पढ्नुपर्ने थियो । पढ्नुमात्र होइन, हरेक पाठ, पृष्ठ, वाक्य कण्ठ गर्नुपर्ने थियो । एउटी कलिलो बच्चाको दिनमागमा त्यती धेरै पुस्तकको कुराहरु कसरी कोच्ने ? आधुनिक शिक्षकसँग यसको जवाफ होला कि ?

संभवत मैले ति पुस्तकहरु अगाडि राखेर त्यसभित्रका हरेक प्रश्नको हल गर्न लगाउने हो भने, त्यहाँका शिक्षक/प्रिन्सिपलले सायदै ‘उत्तिर्ण’ होलान् ।

बालबालिकाको उमेर अनुसार उनीहरुलाई कस्तो कुरा कसरी सिकाउने भन्ने बैज्ञानिक प्रणाली हाम्रो शिक्षामा छैन । त्यही कारण भएभरका पाठ घोकाइन्छ । यसरी घोकाएको कुरा बच्चाले कसरी ग्रहण गर्छ ? अर्थात कसरी बुझेको छ ? कसरी बुझ्नुपर्ने हो ? त्यो बुझेपछि उनलाई के लाभ मिल्छ ? बुझेको कुरा उनको जीवनमा कसरी प्रयोग हुन्छ भन्ने कुरा न शिक्षकलाई हेक्का छ, न अभिभावकलाई ।

शिक्षकले कक्षा कोठामा निर्धारित समय विताउँछन् । त्यस अवधीमा पाठ्यपुस्तकको कुरा पढाउँछन् । उनीहरुको ड्युटी पुरा हुन्छ ।

अहिले अधिकांशले दुखजिलो गरेर होस् वा देखासेखीमा आफ्ना बालबच्चालाई राम्रै -महंगो) विद्यालयमा भर्ना गरिदिएका छन् । कतिका बुबा छोराछोरीको शिक्षाका खातिर श्रम भिषा च्यापेर विदेश पुगेका छन् । तर, आफ्ना छोराछोरीले कस्तो शिक्षा लिदैछन् ? उनीहरुलाई कस्तो शिक्षा आवश्यक छ भन्ने कुरामा ध्यान दिएका छैनन् ।

अहिलेका बालबालिकालाई तपाई गाईकै बारेमा प्रश्न सोध्नुहोस् । उनीहरुले त्यसबारे फरर जवाफ दिन्छन् । वाक्य र शब्द नबिराई । अझ अंग्रेजीमा ।

तर, उनीहरुले दिएको त्यो जवाफ पुस्तकमा पढेको आधारमा हो । उनीहरुले गाई देखेका हुन्छन्, तर देखेको गाईको बयान गर्न सक्दैनन् । यसको अर्थ के हो भने, अहिलेका बच्चाहरु रोबोट जस्तै हुँदैछन् । उनीहरुको दिमागमा कुनै चिप्स इन्स्टल गरिन्छ र त्यही चिप्समा संग्रहित निर्देशन उनीहरुले पालना गर्छन् । अब प्रश्न आफैलाई सोध्नुहोस्, यस्तो किसिमको सिकाई पद्दतीले बालबच्चाको सीप विकास होला ? उनीहरुको क्षमतामा निखार आउँला ? उनीहरुको रचनात्मक खुबी बढ्ला ?

वर्तमान शिक्षाले बालबालिकालाई जुन कुरा जसरी सिकाइरहेको छ, त्यो उनीहरुको लागि कति उपयोगी छ भन्ने कुरामा हामीले विचार गर्नुपर्छ । कुनैपनि पाठको निश्चित उदेश्य हुन्छ । कुनैपनि कक्षाको पाठ त्यही हिसाबले समावेश गरिएको हुनुपर्छ, जो त्यस उमेर समुहका बालबालिकाले ग्रहण गर्न सक्छ । साथै उनीहरुका लागि आवश्यक पनि हुन्छ । अन्याथा ‘गाईको चार वटा खुट्टा हुन्छ’ घोकाएर बालमस्तिष्कलाई मरुभूमि बनाउने उपक्रम रोकिने छैन ।

कसरी सिक्दैछन् बालबच्चा ?

विद्यालय जानैपर्ने, पढ्नैपर्ने, प्रमाणपत्र हासिल गर्नैपर्ने परिपाटी हामीकहाँ विद्यमान छ । हुन त शिक्षा हरेकका लागि आवश्यक हुन्छ । शिक्षित हुनु पक्कै सकारात्मक र अपरिहार्य कुरा हो । अतः शिक्षाका लागि विद्यालय एउटा औपचारिक थलो हो ।

तर, विद्यालयमा गएर बालबच्चाले के सिक्दैछन् भन्ने कुरामा हामीलाई घोत्लिने फुर्सद छैन । विद्यालयमा हाम्रा बालबच्चालाई जे पढाईन्छ, त्यो उनीहरुले सही ढंगले बुझ्नुपर्छ । यसको मतलब सिकाउने व्यक्ति (शिक्षक)सँग त्यो कला वा क्षमता हुनुपर्छ, जसले कुनैपनि पाठ वा विषय बुझेर त्यो कुरा बालबच्चालाई बुझाउन सक्नुपर्छ ।

कक्षा कोठामा एकजना मात्र बच्चा हुँदैनन् । सबै बच्चालाई एकै किसिमले पढाएको कुरा समान रुपले बुझ्दैनन् । त्यसकारण शिक्षकले बच्चाको मनोविज्ञान, प्रवृत्ति र क्षमताबारे पनि मोटामोटी ज्ञान राख्नुपर्छ । शिक्षक बालमैत्री हुनुपर्छ, ताकि उनीहरुको सामुन्ने बालबालिकाले निर्धक्क कुनैपनि कुरा सिक्न, बुझ्न, सोध्न सकोस् । तर, शिक्षकमा यस्ता गुण भइदिएन भने दृष्टिविहिनलाई ‘दुधको व्याख्या’ गर्ने मित्र जस्तै हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?