+
+
Shares

तपाईंको बालबच्चाको भविष्य कति असुरक्षित !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते ९:००


तपाईं-हामीले आफ्नो बालबच्चा सुखद भविष्यका लागि शिक्षादिक्षा दिएका छौं, आर्थिक सुरक्षा दिएका छौं । तर, यी गल्तीले उनीहरुको भविष्य धरापमा पारिदिएका छौं ।

तपाईंलाई एउटा प्रश्न सोध्न मन लाग्यो, ‘के तपाईंको बालबच्चाको भविष्य सुरक्षित छ ?’ तपाईंसँग यसको सानदार जवाफ हुनसक्छ, ‘किन नहुनु, ढुक्कले छ ।’

तपाईंलाई किन पनि ढुक्क लागेको हुनुपर्छ भने, बच्चाका खातिर उनीहरुकै नाममा तपाईंले बीमा गराइदिनुभएको छ । मासिक वा बार्षिक रुपमा जम्मा गरेको पैसा छोराछोरी हुर्केपछि एकमुष्ठ निकाल्नुहुनेछ । र, त्यो रकमले पक्कै पनि छोराछोरीको उच्च शिक्षामा खर्च गर्न सकिनेछ । वा, थप बचत हुनेछ ।

त्यसबाहेक बच्चाका लागि दैनिक, साप्ताहिक, मासिकरुपमा तपाईंले सहकारी, बैंक वा कुनै वित्तीय संस्थामा पैसा बचत गराइरहनुभएको छ । तपाईंले मनमनै हिसाब-किताब निकाल्दा त्यो पैसाले तपाईको बच्चालाई भविष्यमा कुनै आर्थिक संकट पर्नेछैन । भनौं, उनीहरु आर्थिक रुपले सुरक्षित छ ।

अब पढाई-लेखाईको कुरा त सामान्य भयो । तपाईंले अढाई बर्षको उमेरमै आमाको दूध छुटाएर बच्चालाई प्ले ग्रुप वा डे केयर सेन्टरमा राखिदिनुभयो । अहिले बच्चा अंग्रेजी माध्यमको स्कुलमा पढिरहेको छ। फरर अंग्रेजी बोल्छ । होमवर्क गर्छ । आज्ञाकारी छ । परीक्षामा राम्रै अंक पनि हासिल गरिरहेकै छ । अर्थात, छोराछोरीको शैक्षिक भविष्य पनि सुरक्षित छ । भोलिका दिनमा उनीहरु आफ्नो प्रमाणपत्र भजाएर भएपनि बाँच्न सक्नेछन् ।

बस्, यति भएपछि अरु के चाहियो ?

अँ, अब कुरा स्वास्थ्यको । तपाईंको बालबच्चाको स्वास्थ्य स्थिति पनि असल नै होला । बेलाबखत स्वास्थ्य परीक्षण गराइरहनुभएकै होला । पोषिलो खानेकुरा ख्वाउनुभएकै होला । सफा-सुग्घर राख्नुभएकै होला । अब उमेर छँदासम्म सानोतिनो रोगको डर पनि भएन । अर्थात, शारीरिक स्वस्थ्य पनि सुरक्षित छ ।

एउटा मान्छेको जीवन कति नै लामो हुन्छ र ? स्वास्थ्य, शिक्षा र आर्थिक सुरक्षा भएपछि अरु के चाहियो ? किन चिन्ता गर्नुपर्‍यो ? संभवत तपाईंलाई यस्तै लाग्दो हो । र, आफ्नो बच्चाको भविष्य सम्पूर्ण रुपमा सुरक्षित छ भन्ने लागेर तपाई आरमले सास फेर्नु हुँदो हो ।

आज तपाईं दिनरात खटिनुभएको छ, आफ्नो बच्चाको भोलिका खातिर । तपाईंले तपाईंको ‘आज’, आफ्ना सन्ततीका ‘भोलि’का खातिर समर्पण गरिरहनुभएको छ । श्रीमान्-श्रीमति विहान उठेदेखि साँझ विश्राम लिने बेलासम्म यन्त्र झै खटिनुभएको छ । के गरेर हुन्छ, कसो गरेर हुन्छ पैसा कमाउने ध्याउन्नमा हुनुहुन्छ । पैसा बचत गर्न पाए, भोलिका दिन सुनौलो हुनेछ भन्ने मनोकांक्षाले तपाईं आफ्नो ‘आज’लाई घोटिरहनुभएको छ ।

अर्थात तपाई ढुक्क हुनुहुन्छ, आफ्नो छोराछोरीको भविष्यप्रति ।

अब तपाईंको छोराछोरीको भविष्यबारे लेखाजोखा गरौं । मानौं तपाईंका छोराछोरी राम्रा भए, ज्ञानी भए, पढे-लेखे । उनीहरुले उच्च शिक्षा हासिल गरे । अब राम्रै जागिर खान थाले । तपाईंलाई ढुक्क ।

छोराछोरीको स्वास्थ्यमा खास गडबड छैन । कुलतमा फसेका छैनन् । जाँडरक्सी, चुरोट केही सेवन गर्दैनन् । तपाईलाई ढुक्क ।

जागिर खाएर, उद्यम गरेर आफ्नो गर्जो टार्ने पैसा कमाइरहेकै छ । त्यसमाथि भैपरी आउने समस्याका लागि बैंकमा बचत पनि छँदैछ । अर्थात आर्थिक रुपले त्यति असुरक्षित ठान्नुपर्ने छैन । तपाईलाई ढुक्क ।

तर, तपाईंको टाउको दुखाउने अर्को विषय छ, जसले तपाईको छोराछोरीको भविष्य चिन्ताजनक छ भन्ने देखाउँछ ।

छोराछोरीका लागि गर्न बाँकी कुरा

तपाईं/हाम्रो छोराछोरीको भविष्यका खातिर हामीले धेरै कुरा गरेका छौं । तर, गर्नुपर्ने धेरै कुरा छुटाएका पनि छौं । अर्थात गर्नुपर्ने कुरामा हाम्रो सोच-चेतना पुगेको छैन । ढंग पुगेको छैन ।

सायद यतिबेलासम्म तपाईंलाई झर्को लागिसक्यो होला, भन्ने खोजेको कुरा ठ्याक्कै के हो भनेर । अब खोलौं गाँठी कुरा ।

हामीले बालबच्चाका लागि आर्थिक सुरक्षा दिएका छौं । शैक्षिक सुरक्षा दिएका छौं । लालनपालन गरेका छौं । हुर्काएका छौं । बढाएका छौं । तर, उनीहरु बाँच्ने पर्यावरण कस्तो बनाइदिएका छौं ?

तपाईंलाई थाहा छ, मान्छेलाई बाँच्नका लागि पैसाले मात्र पुग्दैन । पढाइले मात्र पुग्दैन । राम्रो जागिर वा तलबले मात्र पुग्दैन । मीठो-मसिनो खानेकुराले मात्र पुग्दैन । कतिसम्म भने, पोषणयुक्त खानेकुरा, पानीले मात्र पनि पुग्दैन ।

खासमा प्राकृतिक एवं पर्यावरणसँग एकाकार भएर मात्र हामी जीवित रहन सक्छौं । दुखलाग्दो चाहिँ के भने, हामीले आफ्ना बच्चाको भविष्यका लागि सबै बन्दोबस्ती गरिदिएका छौं । तर, प्राकृतिक कुराहरु, पर्यावरण नष्ट गरेका छौं, दुषित बनाएका छौं । अब भोलि हाम्रा छोराछोरीले यही विषाक्त वायुमा सास फेर्नेछन् । सुन्दा तीतो लाग्छ, तर त्यही विषाक्त वायुले हाम्रो छोराछोरी क्यान्सर जस्ता घातक रोगका शिकार हुनेछन् ।

सन्ततीका खातिर भयानक भोलि

यसको सोझो अर्थ भनेको के हो भने, हामीले छोराछोरीको भोलिका लागि वा भविष्यका लागि पर्यावरण यति दुषित र विषाक्त बनाइदिएका छौं कि उनीहरु नराम्ररी त्यसको चपेटामा पर्ने पक्का छ ।

तपाईंले एकपटक आँखा चिम्लेर मनन गर्नुहोस् त, पर्यावरणलाई शुद्ध बनाउनका लागि तपाईंले के गर्नुभयो ? प्लाष्टिकजन्य बस्तुको सही व्यवस्थापन गर्नुभयो ? तपाईंको गाडी/मोटरसाइकलले उडाएको धुँवाको समाधान खोज्नुभयो ? फाट्दै गएको ओजन तह रक्षाका लागि रुख-बिरुवा जोगाउनुभयो ? विद्युतीय उपकरणको प्रयोगबाट प्राकृतिक कुरामा हुने हानीलाई रोक्न सावधानी अपनाउनुभयो ? सागसब्जी, अन्नपातमा प्रयोग गरिने विषादी न्युनीकरणका लागि आफ्नोतर्फबाट केही पहल गर्नुभयो ? तपाईंको घरबाट निस्कने फोहोर र ढलको सही निकास खोज्नुभयो ?

तपाईंलाई लाग्न सक्छ, ‘म एक्लैले गरेर कहाँ हुन्छ ? त्यसमाथि फुर्सद पनि त छैन ।’ पक्कै पनि, तपाईंजस्तै हरेक व्यक्तिले यस्तै सोच्छन् । अर्थात, ‘म एक्लैले गरेर कहाँ पर्यावरण जोगाउन सकिएला ? कहाँ रुख-बिरुवाको संरक्षण गर्न सकिएला ? कहाँ खोलानाला दुषित हुनबाट जोगाइएला ?

हरेक मानिसले यस्तै धारणा राख्छन् । र, समस्याको मूल जरा त्यहीँ हो । म एक्लैले पैदा गरेको धँूवा-धुलो, प्लाष्टिक, फोहोर आदिले के नै असर गर्छ र भन्ने सोच पनि तपाईंको दिमागमा आइसक्यो । तर, एक-एक जना व्यक्तिले गर्ने गल्ती वा असावधानीले आज प्रकृति र पर्यावरण जोखिममा परेको छ ।

उदाहरण हेर्नुहोस् त !

अन्त जानुपर्दैन । काठमाडौंलाई नियाल्नुहोस् न । यो उपत्यकाको खोलानालामा पानी होइन, लेदो बग्छ । दिसा-पिसाब, प्लाष्टिक, सिनो आदिले खोलाको पानीलाई लेदो बनाएको छ । जब कि त्यही पानी हो, जसलाई शुद्ध र सफा राख्न सकिएको भए हामीले प्यास मेटाउन सक्थ्यौं ।

खोलानालामा घर-घरबाट आउने ढल मिसाइएको छ । दिसा-पिसाब, फोहोर सबै त्यही खोलामा मिसाइन्छ । विद्युतीय उपकरण, गाडी, कलकारखाना आदिबाट पैदा हुने धूँवाले काठमाडौंको वायुलाई यति प्रदूषित बनाएको छ कि, जहाँ सास फेर्नका लागि माक्स लगाउनुपर्छ । यहाँ हरेकको भान्सामा सागसब्जी मात्र पाक्दैन, त्यससँगै विष पनि । नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट दिनहुँ भित्रिने टनका टन सागसब्जी एवं खाद्यन्नमा विषाक्त तत्वको मात्रा अत्याधिक छ ।

यसको अर्थ के भने, हामीले आफ्नो वायु विषाक्त बनाएका छौं । आफ्नो खानेकुरा विषाक्त बनाएका छौं । समग्र प्रकृति र पर्यावरणमाथि अत्याचार गरेका छौं । तपाईं भन्नुहोस् त, जीवनमा तपाईंले कति रुख-बिरुवा रोप्नुभयो ? तपाईंसँग यसको जवाफ नहुन सक्छ ।

हाम्रा सन्ततीको भोलिः विषालु वायु र खानेकुरा

हो, हामीले आफ्ना सन्ततीका खातिर आर्थिक, शैक्षिक सबै खालका सुरक्षा दिएका छौं । तर, उनीहरु बाँच्ने संसार असाध्यै विषाक्त बनाइदिएका छौं । भोलि उनीहरु यही पर्यावरणमा बाँच्नेछन्, जहाँ शुद्ध वायुको अभाव छ । उनीहरु त्यही थलोमा बाँच्नेछन्, जहाँ शुद्ध पानी र खाद्यन्न पाइँदैन ।

भोलि हाम्रा बालबच्चा विषालु वायु, खानेकुरा आदिको चपेटामा पर्नेछन् । जलवायु परिवर्तनको तिब्र प्रभावले उत्पन्न संकटले उनीहरुलाई टीठलाग्दो अवस्थामा पुर्‍याउनेछ । उनीहरुले खानेकुराबाट पोषक तत्व प्राप्त गर्न सक्ने छैनन् । पर्यावरणबाट शुद्ध वायु पाउने छैनन् । नतिजा के हुन्छ भने, उनीहरु रोगै-रोगले ग्रस्त हुनेछन् । खानेकुरा भन्दा बढी औषधी सेवन गर्नुपर्नेछ ।

तपाईं-हामीले आफ्नो बालबच्चाको भविष्य सुरक्षित गरिदिएका छौ कि धरापमा पारिदिएका छौं ? आफै मूल्यांकन गर्नुहोस् ।

यसो गरे कसो होला ?

नभए, प्रकृति र पर्यावरण रक्षाका लागि प्राकृतिक जीवनशैली अपनाउने प्रयास गरौं । प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाऔं । खाद्यान्नमा किटनाशक औषधीको प्रयोग नगरौं । वाध्यत्मक अवस्था बाहेक गाडी, मोटरसाइकलको प्रयोग नगरौं ।

विद्युतीय उपकरणको प्रयोग कम गरौं । कम्तीमा आफ्नै घरको आसपासमा रुख-बोट बिरुवा लगाऔं । यदि रुख बिरुवा लगाउन संभव नभए भएकालाई संरक्षण गरौं । पानीको खपत कम गरौं । सन्तुलित र संयमित जीवनशैली अपनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?