८ भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न सयममा अपराधिक गतिविधिमा संलग्न भई फरार तीन अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका– ११, मधुरीका पल्ट साह सोनार, जीतपुर सिमरा उपमहानगरपालिका– २१ का सोनु दास बानियाँ र निजगढ नगरपालिका– ८ बस्ने दुर्गा देवी घिमिरे छन् ।
बाराको साविक गा.वि.स.मुधरी–४ बस्ने पल्ट साह सोनार ३० वर्षदेखि फरार अभियुक्त हुन् । उनलाई ०४५ असोज १७ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैदको फैसला सुनाएको थियो ।
फैसला सुनाएलगत्तै देखि फरार सोनार भदौ ५ गते गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।
त्यसैगरी, पक्राउ परेका अर्का सोनु दास बानियाँ सरकारी छाप दस्तखत कीर्ते मुद्दाका दोषी हुन् । उनीविरुद्ध बारा जिल्ला अदालतले ०७३ असार ७ गते १ वर्ष कैदको फैसला गरेको थियो । उनलाई भदौ ६ गते इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको हो ।
दुर्गादेवी लागू औषध मुद्दामा जिल्ला अदालत कलैयाबाट ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
बारा जिल्ला अदालतको आदेशले उनीहरु तीनै जनालाई कैद भुक्तानको लागि वीरगञ्ज कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रतिक्रिया 4