+
+

एमसीसीको प्रसारणलाइन परियोजनाको अध्ययन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १०:५८

१० भदौ, काठमाडौं । तीन सय किलोमिटर लामो उच्च भोल्टेजको प्रसारणलाइन निर्माणका लागि अध्ययन सुरु भएको छ । सन् २०१९ को सेप्टेम्बरबाट निर्माण सुरु गर्ने लक्ष्यका साथ परियोजना प्रतिवेदन र पूर्वातयारीको लागि कम्पनी छनोट भएको छ ।

अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् ठूलो क्षमताको प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढेको हो । यसका लागि रसियन कम्पनी स्टानटेकले जिम्मा पाएको छ ।

काठमाडौंको लप्सीफेदीबाट सुनवल (भारतीय सीमा)सम्म चार सय केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदनको कामका लागि परामर्शदाता छानिएर फिल्डमा अध्ययन काम सुरु भएको हो ।

परामर्शदाता कम्पनीले नै निर्माणका लागि बिड डकुमेन्ट तयार पनि गर्ने अफिस अफ मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल (ओएमसीएन)का संयोजक तुलसी सिटौलाले अनलाइनखबरलाई जानकारी दिए ।

ओएमसीएनसमक्ष अमेरिकासहित क्यानडा, भारतलगायतका देशका विभिन्न कम्पनीले आशयपत्र हालेका छन् ।

एमसीसीको सहयोगमा लप्सीफेदी-गल्छी, गल्छी-दमौली, गल्छी-हेटौंडा, दमौली-सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माण गरिँदैछ । सँगै गल्छी र दमौली र सुनवलमा सब-स्टेसन पनि बन्नेछन् ।

यसका लागि प्रसारणलाइनका लागि दुईवटा र सबस्टेशनका लागि एउटा निर्माण कम्पनीलाई निर्माणको ठेक्का दिने योजना छ । करिब ३० अर्ब निर्माणमा खर्च गर्ने योजना छ । बाँकी रकम प्रसारणलाइन सञ्चालन, मर्मत र सुपरभिजनमा खर्च हुनेछ ।

यो प्रसारणलाइनले उत्पादित विद्युत् भारतमा निर्यात गर्न सहज मार्ग दिनेछ । आयातका लागि पनि बाटो खोल्नेछ ।

पछिल्लो समयमा नेपालले चीनसँग त्रिशुलीबाट रसुवागढी हुँदै सीमापार प्रसारणलाइन निर्माणको प्रस्ताव गरेको छ । त्यसको आधारमा त्रिशुली बेसिनमा निर्माण भइरहेका आयोजनाको बिजुली चीन निर्यात गर्ने सम्भावना पनि हुन्छ । अन्य बेसिनमा आयोजनालाई पनि यसमा जोड्दै लैजान सहज हुनेछ ।

यो प्रसारणलाइनलाई लक्षित गर्दै विद्युत प्राधिकरणले हेटौंडा र लप्सीफेदीमा सब-स्टेशन निर्माण गर्नेछ । एमसीसीको कार्यक्रम अन्तर्गत अमेरिकाले सडक र प्रसारणलाइन निर्माणमा लगानी गर्दैछ ।

नेपालले परियोजना सञ्चालनका लागि छुट्टैै बोर्ड ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ (एमसीए) स्थापना गरिसकेको छ । ८ महिनाभित्र परामर्शदाताबाट मस्यौदा रिपोर्ट लिएर जग्गा प्राप्ति र ठेक्का लगाउनेलगायत काम गर्नुपर्छ ।

एमसीएले नै एमसीसीका आयोजना सबै सञ्चालन र सहजीकरण गर्ने छ । आयोजनाहरुको तयारी सकिएपछि दुई अमेरिका र नेपालबीच अर्को सम्झौता हुनेछ । त्यसपछि निर्माणको काम सुरु हुनेछ ।

आयोजनाहरु निर्माण सुरु भएको पाँच वर्षसम्म काम सक्नैपर्छ । खर्च गर्न नसकेपछि अनुदान पनि अमेरिका नै फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?